रविलाई चोख्याउने निर्णयविरुद्ध नारा लगाउन पुगेका एक दर्जन जेनजी पक्राउ

रविलाई चोख्याउने निर्णयविरुद्ध नारा लगाउन पुगेका एक दर्जन जेनजी पक्राउ

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका जेनजीहरू पक्राउ परेका छन् । 

जेनजी अगुवा मिराज ढुंगाना समूहका युवाहरूलाई प्रहरीले महान्यायाधिवक्ता कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हाे । पक्राउ पर्नेमा सुनिल सिंह, सुशील बुढाथोकी, विरजंग विकलगायत छन् । 

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन अध्यक्ष जिवी राई, उपाध्यक्ष छविलाल जोशी, प्रवन्धक निर्देशक रवि लामिछाने लगायतविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा फिर्ता लिने महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध प्रदर्शन गर्न जेनजी समूह त्यहाँ पुगेको थियो । 

‘डिम्ब तस्करीको आरोपितविरुद्धको मुद्दा, केही हाइप्रोफाइलविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा फिर्ता लिने निर्णयको विरोध जनाउन साथीहरु गेटभित्र छिर्नुभएको थियो’, एक जेनजी अभियन्ताले घटनाबारे जानकारी गराउँदै भने, ‘तर एकछिनमै पुलिस आएर साथीहरूलाई लिएर गयो, अहिले गेट वरिपरि जान पनि रोक लगाइएको छ ।’

ढुंगानाकै अर्को समूह भने माइतीघरमा प्रदर्शनरत छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन थालेका उनीहरूले संविधान संशोधन र प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दालाई बटमलाइन बनाएका छन् ।

टिप्पणीहरू