स्वास्थ्य बीमा कार्यक्रम संकटमा, सरकार मौन
स्वास्थ्य बीमा कार्यक्रम चरम संकटमा पर्दै गएको अवस्थामा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले काफ्लेको राजीनामाबारे छलफल भइरहेको बताए । ‘उहाँ मन्त्रिपरिषद् निर्णयबाट नियुक्त हुनुभएको थियो । यसले राजीनामा पनि क्याबिनेटले नै स्वीकृत गर्नुपर्ने छ, हामी यसबारे छलफलमा छौं,’ उनले भने ।
काफ्ले गत फागुनमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । नियुक्त भएको एक वर्ष नपुग्दै उनले पदबाट राजीनामा दिएका हुन् । पछिल्लो समय बीमा बोर्ड चरम आर्थिक संकटमा फसेको छ । स्वास्थ्य बीमामार्फत उपचार गराएका अस्पतालहरुको ११ अर्ब बढी रकम भुक्तानी बोर्डले दिन सकेको छैन ।
सरकारले अनुदान सहयोग नगरेपछि बोर्डले भुक्तानी दिन नसकेको हो । भुक्तानी नआएपछि सेवा प्रदायक अस्पतालहरुले धमाधम बीमा सेवा बन्द गर्न थालेका छन् । यसबीच बोर्डका कार्यकारी निर्देशक काफ्लेको राजीनामाले झन् अन्यौलता सिर्जना गरेको छ ।
टिप्पणीहरू