बालेनले छोडेपछि काठमाडौंको मेयर को ? के छ कानुनी व्यवस्था ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पदबाट राजीनामा दिएका छन् । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले आजदेखि लागु हुनेगरी पद छोडेका हुन् ।
उपमेयर सुनिता डंगोलले राजीनामा स्वीकृत गरिसकेकी छन् । उनको राजीनामा स्वीकृतसँगै महानगरमा उपनिर्वाचन हुन्छ कि बाँकी अवधि उपमेयरले नै कार्यवाहकको जिम्मेवारी सम्हाल्नेछिन् ? भन्ने जनचासो देखिएको छ । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३’ ले एक वर्षभन्दा बढी पदावधि रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था गरेको छ । ऐनको परिच्छेद–२ मा निर्वाचन कार्यक्रम तथा निर्वाचन प्रणालीको व्यवस्था छ ।
दफा ३,उपदफा २ मा भनिएको छ,‘जिल्ला समन्वय समितिको प्रमुख,उपप्रमुख,गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिका प्रमुख,उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै कुनै कारणले रिक्त भए बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई त्यस्तो पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।
ऐनको दफा ३ को उपदफा २ मा भनिएको छ,‘जिल्ला समन्वय समितिको प्रमुख,उपप्रमुख,गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख,उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ । तर,एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन ।’

बालेन २०७९ वैशाख ३० गतेको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । तर,झण्डै १५ महिना कार्यकाल बाँकी छँदै उनले राजीनामा दिएका हुन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेता रहेका बालेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
टिप्पणीहरू