सर्वोच्चले टुंगो नलगाएसम्म निर्वाचन तालिका रोक्न कांग्रेसको निवेदन

सर्वोच्चले टुंगो नलगाएसम्म निर्वाचन तालिका रोक्न कांग्रेसको निवेदन

पुरानो नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन मिति स्थगन माग गर्दै निर्वाचन आयोगलाई निवेदन दिएको छ । 

मुख्यसचिव कृष्णप्रसाद पौडेल,पूर्वमहान्यायधिवक्ता खम्बबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएको बुझिएको छ । ‘निर्वाचन आयोगको गत शुक्रबारको निर्णयले लोकतान्त्रिक र पुरानो पार्टीलाई निर्वाचनबाट वञ्चित गर्न खोजेको देखिएकाले सर्वोच्चमा रिट दर्ता गरिएको हो’ अधिवक्ता जोशीले भने। 

‘नेपाली कांग्रेसको आधिकारिकतासम्वन्धी विवादको निरुपण नगरी पदाधिकारीको विवरण अध्यावधिक गरी पाउँ भन्ने निवेदनका आधारमा राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ आकर्षित नहुने कानुनी व्यवस्था प्रयोग गरी,नेपाली कांग्रेस पार्टीका दुवै पक्ष राखी छलफल नगराई,राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ४३,४४,४५ र ४६ अनुसार नगरी एक पक्षलाई सुनुवाईको मौकासमेत नदिई भएको निर्णयले नेपाली कांग्रेसजस्तो पुरानो  र लोकतान्त्रिक पार्टीलाई दलीय निर्वाचनमा जान बञ्चित गरेको देखिन आयो,’निवेदनमा भनिएको छ, ‘त्यसउपर आज आइतबार सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषण परमादेश समेतको रिट निवेदन दर्ता गरी माघ ६ गतेको पेशीसमेत तोकिएको हुँदा उक्त मुद्दाको सम्वन्धमा न्याय निरुपण नभएसम्म आगामी फागुन २१ मा हुने भनिएको निर्वाचनको मनोनयन लगायतका सम्पूर्ण कार्यतालिका स्थगन गरी पाउँ भनी निवेदनसहित उपस्थित भएको छु’निर्वाचन आयोगमा दर्ता भएको निवेदनमा भनिएको छ।

टिप्पणीहरू