कांग्रेसको भ्रातृ संगठनमा पनि कित्ताकाट शुरु

कांग्रेसको भ्रातृ संगठनमा पनि कित्ताकाट शुरु

नेपाली कांग्रेसमा विगत केही समयदेखि चर्किएको आन्तरिक विवाद फुटमा परिणत भएसँगै भ्रातृसंगठनहरूमा पनि कित्ताकाट शुरु भएको छ । कांग्रेस निकट नेपाल प्रेस युनियनले आफूलाई पार्टी एकताको पक्षमा उभ्याएको हो । 

कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई निष्कासनको कारवाही गरेपछि आजदेखि सो पार्टी औपचारिकरूपमा विभाजन भएको छ । पार्टी विभाजित भएसँगै नेता-कार्यकर्तामा कित्ताकाटमा चलिरहेका बेला प्रेस युनियनले भने विभाजन नभई एकताको पक्षमा अभिमत प्रकट गर्न अपिल गरेको छ । 

अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला गम्भीर राजनीतिक संक्रमणबाट गुज्रिरहेको छ । जेनजी आन्दोलान्पछी उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत् मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूल कार्यभारबाट बिचलित भएर कांग्रेसको विभाजन हुनु लोकतन्त्रका लागि सुखद अनुभूति हुने छैन ।'

राजनीतिक दलहरू सुदृढ हुँदा मात्र लोकतान्त्रिक अभ्यास संमृद्ध हुने भन्दै युनियनले विभाजन नरोज्न पार्टीका नेता,कार्यकर्तालाई आग्रह गरेको छ । 'नेपाल प्रेस युनियन कांग्रेसका सबै जिम्मेवार नेताहरुले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू