दुई भाइ महामन्त्रीको लोभलाग्दो बिद्रोह
नेपाली राजनीतिमा लामो समयदेखि चल्दै आएको नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको बहसले जेनजी आन्दोलनपछि थप चर्चा र महत्व पायो । पार्टीका बैठक र औपचारिक फोरममा सीमित यो मुद्दा जनस्तरसम्मै पुग्यो । प्रमुख पार्टीका शीर्ष नेतामाथि नेतृत्व छोड्न चर्को दबाब पनि थियो । तर, परिणाम भने 'हात लाग्यो शून्य' छ ।
नेतृत्व पुस्तान्तरणको पक्षमा चर्का कुरा गर्ने तर निर्णायक घडीमा आँट गरेर अघि नसर्ने सबै पार्टीका दोस्रो-तेस्रो पुस्ताका नेता पनि यसका लागि उत्तिकै जिम्मेवार छन् । तर,यतिबेला नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा यो क्रम तोड्ने प्रयासमा देखिएका छन् ।
केपी ओली र प्रचण्डले छडी लगाउँछन् कि भन्ने डरले एमाले र नेकपाका दोस्रो पुस्ताका नेता बोल्नसमेत डराइरहेको बेला गगन-विश्वले भने विशेष महाधिवेशन आह्वान गरी शेरबहादुर देउवाविरुद्ध निर्णायक विद्रोहको उद्घोष गरेका हुन् ।
केन्द्रीय समितिमा करिब ६५ प्रतिशत हिस्सासहित बलियो अवस्थामा रहेका देउवालाई चुनौती दिनु 'पहाडमा टाउको ठोक्नु सरह' हुने जान्दाजान्दै पुस्तान्तरणको मुद्दा लिएर मैदानमा उत्रिएका यी दुई भाइको पक्षमा कांग्रेसभित्र देखिएको लहर लोभलाग्दो छ । संस्थापन पक्षले 'साम दाम र दण्डभेद' को नीति अख्तियार गरे पनि जिल्ला सभापतिहरू धमाधम विशेष महाधिवेशनको पक्षमा खुलिरहेका छन् । विगतमा संस्थापन तथा शेखर समूहको भनिएका तेह्रथुम,धनकुटालगायत थुप्रै जिल्लाका सभापतिहरू विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।
केपी ओली र प्रचण्डले छडी लगाउँछन् कि भन्ने डरले एमाले र नेकपाका दोस्रो पुस्ताका नेता बोल्नसमेत डराइरहेको बेला गगन-विश्वले भने विशेष महाधिवेशन आह्वान गरी शेरबहादुर देउवाविरुद्ध निर्णायक विद्रोहको उद्घोष गरेका हुन् ।
बूढो पुस्ताप्रति काँग्रेस कार्यकर्तामा कतिसम्म घृणा रहेछ भन्ने कुरा अस्ति पार्टी मुख्यालयमा विमलेन्द्र निधिमाथि भएको घटनाले नै छर्लङ्ग हुन्छ । उनीहरू भन्दै थिए- तपाईंहरूका कारण कांग्रेस कार्यकर्ता भएर गाउँमा मुख देखाउनै लाज भैसक्यो,नयाँलाई नेतृत्व जिम्मा लगाएर विश्राम लिनुस् ।
जेनजी आन्दोलनपछि काँग्रेसमा जस्तै मुखरित ढंगले प्रकट नभए पनि अर्को ठूलो दल एमालेमा पनि युवालाई नेतृत्वमा ल्याउनुपर्ने बहस थियो । तर, विधान संशोधन गरेर ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष निर्वाचित गरेको सो पार्टीमा अब नेतृत्व पुस्तान्तरणको च्याप्टर क्लोज भएको छ । एकीकृत समाजवादीसहित डेढ दर्जन वामपन्थी पार्टीलाई जोडजाड गरेर नेतृत्वमा आफ्नै सान्दर्भिकता दिन खोजेका प्रचण्ड पनि ओलीकै बाटोमा छन् । समकालीन पार्टीहरूले पुरानै नेतृत्वलाई ठप्पा लगाईरहँदा गगन-विश्वले देखाएको हिम्मत र उनीहरूको पक्षमा देखिएको माहोलले पुस्तान्तरणको बहसलाई बल पुर्याउने विश्वास विश्लेषकहरूले गरेका छन् ।
काँग्रेसमा सभापति पद निकै शक्तिशाली मानिन्छ । २० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्नेदेखि भात्री संस्थाहरूको गठन, पुनर्गठन र विघटनसम्मको अधिकार विधानले सभापतिलाई दिएको छ । आम चुनावमा कसलाई टिकट बाँड्ने तजविजी अधिकार प्रयोगमा पनि विधानले बन्देज लगाएको छैन । विशेष र नियमित महाधिवेशनका नाममा चलेको विवादको मुख्य जड यही हो भनिंदैछ ।
सातपल्ट प्रधानमन्त्री हुने ज्योतिषीको भविष्यवाणीमा पूर्णत: विश्वस्त रहेका देउवा आगामी निर्वाचनपछि पुन: सत्तामा फर्किने रणनीतिमा छन् । त्यसका लागि चुनावमा आफैँले टिकट बाँड्ने कुरा प्राथमिकतामा पर्ने नै भयो, तर फागुन २१ अघि महाधिवेशन गर्दा त्यो बाटो कठिन हुने उनलाई थाहा छ । एमालेसँग चुनावी गठवन्धन हुँदामात्र प्रधानमन्त्री बन्न सकिने बुझाइमा रहेका देउवालाई यो पनि थाहा छ कि गगन वा अरु कोही नेतृत्वमा आए यो सम्भव हुने छैन । किनभने काँग्रेसले महासमिति बैठकबाट कुनै पनि चुनावमा कसैसँग तालमेल नगर्ने निर्णय गर्दा त्यसको प्रस्तावक गगन नै थिए ।
देउवालाई चुनौती दिनु 'पहाडमा टाउको ठोक्नु सरह' हुने जान्दाजान्दै पुस्तान्तरणको मुद्दा लिएर मैदानमा उत्रिएका यी दुई भाइको पक्षमा कांग्रेसभित्र देखिएको लहर लोभलाग्दो छ ।
सभापति देउवाको यो चालबाजी बुझेका गगन-विश्व जसरी पनि चुनावअघि महाधिवेशन गराउन चाहन्थे । झन्डै ४९ दिन लामो केन्द्रीय समिति बैठकले पुस अन्तिम साता महाधिवेशन गर्नेगरी कार्य तालिका पनि ल्याएको थियो । तर, क्रियाशील सदस्यता विवादलाई देखाएर संस्थापनले पुसको महाधिवेशन सारेर बैशाख अन्तिम साता पुर्याइदियो । त्यसपछि गगनहरूले विशेष महाधिवेशन आह्वान गरेपछि काँग्रेसभित्र पुस्तान्तरणको बहसले निर्णायक मोड लिएको विश्लेषण भैरहेको छ । यसले अन्य राजनीतिक दलका युवा नेतामाथि पनि दबाब बढाउने अनुमान एक विश्लेषकले गरे ।
'एमालेमा केपी ओली महाधिवेशनबाट पुन:स्थापित भएका छन् । महाधिवेशनमा भोट गनेरै अध्यक्ष जितेकाले विधि, विधान र कानुनी कोणबाट प्रश्न उठाउन नमिल्ला तर, राजनीतिक रूपमा भने नेतृत्वमा उनको सान्दर्भिकता पुष्टि हुँदैन', उनै विश्लेषक भन्छन्, 'ओलीलाई चुनौती दिने आँट योगेश भट्टराईहरूले गर्न सकेनन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको आडमा जसोतसो खुट्टा टेकेका ईश्वर पोखरेल खेमालाई कत्लेआम गरिएको छ । यस्तो बेला गगनले जुन आँट देखाए, यो प्रशंसनीय छ ।'
शेरबहादुरको जिम्मामा नेतृत्व गयो भने चुनावमा फेरि कम्युनिष्टहरूसँग गठवन्धन गर्छन् र कार्यकर्ताले रूखमा भोट हाल्न पाउँदैनन् भन्ने मनोविज्ञानले गगनतिर सहानुभूति बढेको बुझ्न सकिन्छ । कांग्रेसको इतिहास नै कस्तो छ भने ०४८ सालमा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई जिताउने शर्तमा मदन भण्डारीलाई एक सिट छोड्न एमालेले गरेको प्रस्ताव काँग्रेसले अस्वीकार गरेको थियो । भट्टराई हार्न तयार भए तर, काँग्रेस तालमेलका लागि राजी भएन । एक्लै प्रतिष्पर्धामा उत्रिएको कांग्रेसले बहुमत ल्यायो ।
यस्तो विरासत बोकेको कांग्रेस नेतृत्वले पछिल्लो समय भने आफ्नै खुट्टामा उभिने आत्मविश्वास गुमाउँदै गएको देखिन्छ । ०७९ मा माओवादीसँग गठवन्धन गरेका देउवा अब हुने चुनावमा जन्मजातै प्रतिश्पर्धी एमालेसँग मिल्ने तयारीमा छन् । तर, काँग्रेसको ठूलोपंति यसको पक्षमा छैन । संस्थापन खेमाकै नेता-कार्यकर्ताले कांग्रेसलाई एमालेको भात्री संगठन बनाउने ओलीको रणनीतिमा देउवा फसेको भन्दै विरोधमा बोलेको सुनिन्छ । त्यसकारण 'मर्ता क्या नही कर्ता' को स्थितिमा पुगेका गगनहरूले मैदानबाट दिन खोजेको चुनौतीको गहिरो राजनीतिक अर्थ रहने विश्लेषकहरू बताउँछन् ।
टिप्पणीहरू