यसरी खुलाइयाे विशेष महाधिवेशनको औचित्य
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दोस्रो विशेष महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले अवैधानिक ठहर गर्ने कुनै आधार नभएको बताएका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै उनले पार्टी विधानअनुसार नै विशेष महािधवेशन आयोजना गरिएको र ७० प्रतिशत प्रतिनिधिले नाम समेत दर्ता गराइसकेको दावी गर्दै वैधानिकतामाथि कुनै प्रश्न नरहेको स्पष्ट पारेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरुले बन्दसत्रमा सहभागी नहुने अडान लिएपछि विशेष महाधिवेशनको वैधानिकतामाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला थापाको यस्तो प्रतिक्रिया आएको हो । ‘निर्वाचन आयोगले राजीतिक दलसम्बन्धी जुन व्यवस्था गरेको छ, त्यसको आधारमा प्रमाणित भइसकेको हो हाम्रो विधान’, उनले भने, ‘प्रमाणित विधानअनुसार भएको विशेष महाधिवेशनमाथि कसैले कानुनी प्रश्न उठाइरहेको छ भने स्पष्ट पार्न चाहन्छु, निर्वाचन आयोगले एक, दुई, तीन यसलाई अवैधानिक भन्न सक्दैन ।’
निवर्तमान महामन्त्री समेत रहेका थापाले पार्टीभिको गुट र कृपावादको अन्य गर्नको लागि पनि विशेष महाधिवेशन आवश्यक परेको पनि बताए । ‘यो पार्टीभित्र रहेको गुट किल्ला भत्काउनको लागि पनि हामी आज यहाँ भेला भएका हौँ, अब यहाँ कसैको नातावाद र कृपावाद चल्नेवाला छैन’, उनले थपे ।
टिप्पणीहरू