हाम्रो आह्वान जनभावनाबमोजिम: काँग्रेस महामन्त्री
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी आइतबार र सोमबार बोलाइएको विशेष महाधिवेशन विधान र कानुनसम्मत भएको बताएका छन् । संयुक्त वक्तव्य जारी गर्दै आह्वान गरिएको पार्टीको विशेष महाधिवेशन जनभावनाअनुसार नीति निर्माण र निर्णायक निर्णय लिन अपरिहार्य भएको दाबी गरेका छन् ।
उनीहरूले पार्टी विधानको पालना गर्दै कांग्रेसलाई जीवन्त र सुदृढ बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्। संयुक्त वक्तव्यमा विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २ हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको उल्लेख गरिएको छ। बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई मजबुत खोजिएको उनीहरुको दाबी छ ।
महामन्त्रीद्वयका अनुसार विशेष महाधिवेशनको मागसहित निवेदन पेस भएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारी हो। केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुने भन्दै अधिकतम प्रयास गरिए पनि त्यो सम्भव हुन नसकेको उनीहरूले जनाएका छन्।
संयुक्त वक्तव्यमा संविधान र विधान बमोजिम निवेदन पेस भइसकेपछि विशेष महाधिवेशन नबोलाइने अवस्थाको नेपाली कांग्रेसको विधानले परिकल्पना नगरेको स्पष्ट उल्लेख छ।
‘विधान बमोजिम कारणसहित माग गरिएको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई दिएको छैन,’ वक्तव्यमा भनिएको छ, ‘विधानसम्मत माग बेवारिसे हुन सक्दैन। यस्तो अवस्थामा महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समयसीमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकहरूमा पटक–पटक उठाएका छौँ।’
महामन्त्रीद्वयले बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा उठाइएको विशेष महाधिवेशनको मागप्रति पूर्ण ऐक्यबद्धता पनि जनाएका छन्। ‘पौष २८ भित्र विशेष महाधिवेशन गर्न हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूले गरेको प्रयास उनीहरूको वैधानिक अधिकार हो,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘पौष २७ र २८ का लागि तय गरिएको विशेष महाधिवेशन कानुनी र राजनीतिक दुवै दृष्टिले अपरिहार्य र बाध्यकारी भइसकेको छ।’
पार्टी विधानको धारा ३(१२) र धारा २७(१) को व्यवस्था आत्मसात् गर्दै, विधानको धारा १७(२) अनुसार २०८२ साल पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वयले सबै महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
विधान बमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाइनु विधान उल्लङ्घन हुने भन्दै उनीहरूले यसप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
टिप्पणीहरू