गगनहरुले बोलाउने,अरुले बाटैमा छेक्ने

गगनहरुले बोलाउने,अरुले बाटैमा छेक्ने

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरुले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्दै विभिन्न उपसमिति समेत बनाएर तयारी थालेकाे अवस्थामा संस्थापन पक्षले उनीहरुलाई रोक्न प्रयास गरेको छ । विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै हिजो तल्लो तहका कमिटीहरुलाई परिपत्र गरेका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज कुनै व्यक्तिले बोलाएको भरमा काठमाडौँ नआउन नेताहरुलाई सर्कुलर गरेका छन् । 

‘पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ’, पत्रमा भनिएको छ,  ‘तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’

"हामीलाई बन्नु छैन बाबा सभापति ! को बन्नु छ बन्नुस्"

उता, महामन्त्री थापा भने जसरी पनि तोकिएकै मितिमा विशेष महाधिवेशन गर्ने पक्षमा देखिएका छन् । कसैलाई हटाएर आफू सभापति बन्नको लागि मात्र विशेष महाधिवेशन आह्वान नगरिएको उनले बताए । ‘म र विश्वप्रकाश शर्मालाई हतार हतार कसैलाई हटाएर सभापति बन्न खोजेको भन्ने ढंगले बुझियो,हामीलाई बन्नु छैन बाबा सभापति !,को बन्नु छ बन्नुस्’, थापाले भने, ‘तपाईंहरूमध्ये को नेतालाई बन्नु छ,बन्नुस्,डाक्टर शेखर कोइरालालाई बन्नु छ भने बन्नुस्, अर्को को नेता बन्नु छ बन्नुस्,तर विशेष महाधिवेशनबाटै सभापति बन्नुस् भनेको हो नि !’

पूर्वमन्त्री थापाले बिहान जीवनमा पहिलोपल्ट पार्टी नेतृत्वले महामन्त्री र कार्यसम्पादन समितिको मानमर्दन गरेर राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वार चयन गरिएको पनि बताएका थिए ।


 

टिप्पणीहरू