कुलमानलाई प्रश्न सोध्दा जसको माइक खोसियो..

कुलमानलाई प्रश्न सोध्दा जसको माइक खोसियो..

सुशीला कार्की नेतृत्वको सरकारमा तीन वटा विकासे मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङ्गलाई प्रश्न सोध्दा माइक खोसिएपछि एक इञ्जिनियरले चित्त दुखाएका छन् । आन्दोलनको जगबाट बनेको सरकारमा पनि प्रश्न सोध्दा खप्की खानुपर्ने भन्दै उनले आपत्ति जनाएका छन् । 

हिजो राजधानीमा ‘नेपाल इञ्जिनियर्स एशोसिएशन’ को कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि थिए- घिसिङ्ग । इञ्जिनियर र इञ्जिनियरिङ पढिरहेका विद्यार्थीहरु कार्यक्रममा उपस्थित थिए । सिभिल इञ्जिनियर अन्तिम प्रसिद्ध धिताल कार्यक्रममा अलि ढिलो पुगे । जसका कारण अन्तिमतिर प्रश्न राख्ने मौका पाए । 

आयोजकले उक्त कार्यक्रममा एउटा अनौठो नियम बनाएका थिए– प्रमुख अतिथिलाई राजनीतिक प्रश्न गर्न नपाइने । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका घिसिङ्गलाई राजनीतिक प्रश्न गर्न नपाउने नियमका कारण धेरै आश्चर्यचकित भएका थिए । 

‘तपाईं नागरिक जगमा बनेको सरकारको मन्त्री हो वा रास्वपाको मन्त्री हो ? प्रश्न एक यो छ’,धितालले बोल्दाबोल्दै उद्घोषकले माइक खोसेर भन्न थाले,‘यहाँ राजनीतिक प्रश्न गर्न नपाउने नियम छ,त्यस्तो प्रश्न नसोध्नु होला ।’ तैपनि उनी रोकिएनन् र पुनः प्रश्न गरे । त्यसपछि एक युवकले उनको हातबाट माइक खोसिदिए ।

देशमा प्रश्न उठाएर राजनीति गर्नेहरू, नैतिकताको पाठ पढाएर मन्त्री बन्नेहरू, आन्दोलनको जगमा बनेको सरकारका प्रतिनिधिहरू-उनीहरू स्वयं नैतिक हुन नपर्ने ? कुनै न कुनै पार्टीको झण्डामुनि उभिएर “नैतिकता” देखाउने यो कस्तो प्रदर्शन हो ?’ 

यता,घिसिङ्गले भने जवाफ दिने औपचारिकता मात्र पूरा गरे । उनले भने,‘म आजका दिनसम्म कुनै पनि पार्टीको सदस्य छैन,त्यति मात्रै भन्छु ।’ आफ्नो माइक खोसिएपछि धितालले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै असन्तुष्टि पोखेका छन् । प्रश्न गर्न नपाइने,सत्य सुन्न नचाहने र जवाफदेही हुन नपर्ने संस्कारबाट कसरी देश बन्छ ? भन्दै उनले प्रश्न गरेका छन् । 

उनले लेखेका छन्,‘मेरो प्रश्न कुनै व्यक्ति लक्षित थिएन । देश नै समस्याग्रस्त भएको अवस्थामा इन्जिनियरिङ पेशा कसरी अछुतो रहन सक्छ ? देशमा प्रश्न उठाएर राजनीति गर्नेहरू, नैतिकताको पाठ पढाएर मन्त्री बन्नेहरू, आन्दोलनको जगमा बनेको सरकारका प्रतिनिधिहरू—उनीहरू स्वयं नैतिक हुन नपर्ने ? कुनै न कुनै पार्टीको झण्डामूनि उभिएर “नैतिकता” देखाउने यो कस्तो प्रदर्शन हो ?’

 

टिप्पणीहरू