एनसेलको फोरजी नेटवर्कमा देशव्यापी सुधार
एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित सन् २०२५ मा देशभर २ सय ५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।
साथै कम्पनीले २,२०० वटा विद्यमान साइटमा क्षमता अभिवृद्धि गरेको जनाएको छ ।
कम्पनीका अनुसार यस विस्तारसँगै ग्राहकहरूले अझ स्पष्ट भ्वाइस सेवा र उच्च गतिको मोबाइल डेटा प्रयोग गर्न सक्ने भएका छन् ।
विश्वसनीय कनेक्टिभिटी शिक्षा, स्वास्थ्य, व्यवसाय र पारिवारिक सम्पर्कका लागि अपरिहार्य बन्दै गएको सन्दर्भमा फोरजी नेटवर्क सुदृढीकरणलाई प्राथमिकता दिइएको एनसेलले जनाएको छ ।
नयाँ टावरहरू सातै प्रदेशका विभिन्न स्थानीय तहमा स्थापना गरिएका छन् । विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशलाई प्राथमिकतामा राखेर विस्तार गरिएको हो ।
कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौरलगायत स्थानमा फोरजी सेवा विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोलमा पनि नयाँ टावर सञ्चालनमा आएका छन् ।
मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भिमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानमा टावर सञ्चालनमा आएपछि स्थानीय बासिन्दा उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्यान्ड सेवाबाट लाभान्वित भएका छन् ।
जनकपुर उपमहानगरपालिका–१७ की अनिशा मण्डलका अनुसार नयाँ टावर सञ्चालनपछि घरभित्रै पनि इन्टरनेटको पहुँच सुधारिएको छ । “पहिला भन्दा अहिले धेरै राम्रो नेट चल्छ । पढाइ, अनलाइन नोटिस हेर्न, युट्युब र च्याटजीपीटीमार्फत सिक्न इन्टरनेट नभई हुन्न,” उनले भनिन् ।
कुल २५० नयाँ टावरमध्ये १९७ वटा पछिल्लो साढे दुई महिनाभित्र स्थापना गरिएका हुन् । बाँकी ५३ वटा टावर भने स्टक तथा स्पेयर उपकरणको अधिकतम प्रयोगमार्फत सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट लामो समयदेखि रोकिएको सहजीकरण प्रक्रिया सहज बनेपछि टावर विस्तारले तीव्रता पाएको हो ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले नयाँ टावर र क्षमता अभिवृद्धिले स्थानीय तहमा मोबाइल ब्रोडब्यान्ड तथा गुणस्तरीय भ्वाइस सेवाको पहुँच विस्तार भएको बताए । “उच्च गतिको डेटा केवल गति मात्र होइन, यो भरोसा, अवसर र डिजिटल पहुँचको विषय हो,” उनले भने ।
प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावर स्थापना गरिएका छन् । त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावर थपिएका छन् । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि क्रमशः नयाँ टावर सञ्चालनमा आएका छन् ।
एनसेलले जेठ २०७४ देखि फोरजी सेवा सुरु गरेको हो । हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीमा फोरजी पहुँच पुगेको कम्पनीको दाबी छ ।
टिप्पणीहरू