ज्येष्ठ नागरिक भवनमा भ्रष्टाचार

ज्येष्ठ नागरिक भवनमा भ्रष्टाचार

पर्वतको कुश्मा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ भ्रष्टाचारमा तानिएका छन् । ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीसहित चार जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो । 

मुद्दा चलाइएकामा तत्कालिन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाइटर लालबहादुर मल्ल छन् । आर्थिक वर्ष २०७८–०७९ मा कुश्मा–७, खरेहामा ज्येष्ठ नागरिक भवन बनाउन संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत एक करोड ६६ लाख रुपैयाँ विनियोजन भएको थियो । 

सोहीअनुरुप नगरपालिकाले भ्याट र कन्टिन्जेन्सीसहित एक करोड ४४ लाख १० हजार ७२ रुपैयँँ लागतमा भवन बनाउन मल्ल सप्लायर्ससँग ठेक्का सम्झौता गर्यो । जसअनुसार ०७९ असार २४ गतेभित्र भवन बनिसक्नुपर्नेमा निर्माण व्यवसायीले नबनाएको र नगरपालिकाले कारबाहीसमेत नगरेको पाइएको छ । 

अख्तियारका अनुसार भवन नबन्दै ठेकेदारलाई दुई पटक गरी २१ लाख ७६ हजार रुपैयाँ पेस्की भुक्तानी गरिएको, बैंक जमानत जफत नगरी म्याद गुज्रिन दिइएको तथा पहिलो बिल मूल्यांकनभन्दा १२ लाख ५६ हजार ६ रुपैयाँ बढी भुक्तानी गरिएको भेटिएको छ । 

ठेक्का सम्झौता अन्त्य गरी नयाँ प्रक्रियामा जानुपर्ने अवस्थामा त्यसो नगर्दा ९६ लाख ४१ हजार ८७४ रुपैयाँ ८८ पैसा बराबरको सरकारी सम्पत्तिमा हानि पुगेको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, ०५९ बमोजिम एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम गर्दै उनीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

टिप्पणीहरू