सशस्त्रको गोलीबाट चालक मारिएपछि छानबिन
सशस्त्र प्रहरीको गोली लागेर सुनसरीको सीमावर्ती क्षेत्र लौकहीमा सफारी चालक विजय साहको मृत्यु भएको घटनाउपर छानबिन गर्नका लागि समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरीको डिएसपी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि रहनेगरी समिति गठन गरेको हो ।
सो समितिलाई प्रतिवेदन पेश गर्नका लागि सात दिनको समयावधि दिएएको छ । समितिको प्रतिवेदनमा सुरक्षा अधिकारीको लापरवाहीले साहको मृत्यु भएको पाइएमा राहत एवं क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ ।
त्यसैगरी, साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने, मृतकको छोराले सशस्त्रमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमानुसार सहयोग गर्ने, साहको शव पोष्टमार्टमका लागि प्रहरीलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।
बैठकमा सशस्त्र प्रहरी बल, नम्बर १ बाहिनी, पकलीका डिआईजी कुमार न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार, जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी केशवकुमार थेबे, सशस्त्रका एसपी निर्मलकुमार थापा, किसान कर्माचार्य, डिएसपी बालकृष्ण महर्जनलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू