ओलीकाे मात्रै स्थानहद बाँकी
नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरिएको छ । बयान सकिएकाले उनको आजदेखि स्थानहद फुकुवा गरिएको जनाइएकाे छ ।
जेनजी प्रदर्शन र विध्वंशबारे घटना गर्न गठित जाँचबुझ आयोगको सचिवालयले विज्ञप्ति जारी गर्दै उनको स्थानहद फुकुवा गरिएको जानकारी गराएको छ ।
भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । आन्दोलनका क्रममा प्रहरीद्धारा भएको बल प्रयोगबाट १९ जनाले ज्यान गुमाएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
घटनाबारे छानबिन गर्न गठित आयोगले गत असोज १२ गते लेखकलाई विदेश भ्रमण र उपत्यका छोड्न रोक लगाएको थियो ।
आयोगद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वमाननीय गृहमन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२–०६–१२ को बैठकबाट निर्णय गरिएकोमा पूर्वनिर्णयउपरको कार्य सम्पन्न भइसकेकोले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२–०९–१७ मा निर्णय भएकोले सोही व्यहोरा निर्णयानुसार अनुरोध छ ।’
यता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद भने कायम छ । अधिकांश उच्च राजनीतिक, प्रशासनिक र सुरक्षा अधिकारीहरुको बयान सकिएकाले अब आयोगले उनीसँग बयान लिने तयारी थालेको बुझिएको छ । स्रोतले पूर्व प्रधानमन्त्री ओलीलाई आयोगमा उपस्थित हुन एक साताको म्याद दिने सम्भावना छ ।
टिप्पणीहरू