भूपू सशस्त्रहरुको पहिलो सम्मेलन सम्पन्न
भूपू सशस्त्र प्रहरीहरुको पहिलो सम्मेलन सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपालको नजिकिँदो २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा नेपाल पूर्व सशस्त्र प्रहरी संघद्धारा पहिलो पटक मधेशमा आयोजित सम्मेलन आज सम्पन्न भएको हो।
महोत्तरीको बर्दिबासस्थित सशस्त्रको २, छिन्नमस्ता बाहिनी कार्यालयमा भएको सम्मेलनमा संघका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यता रह्यो । उनको सम्मानमा पूर्व सशस्त्रको टोलीले सलामी तथा मार्चपास गरेको थियोे ।
सम्मेलनसँगै संघको १८ औं साधारणसभासमेत सम्पन्न भएको छ । जसले लामो समयदेखि मधेशमा गठन हुन नसकिरहेको प्रदेश संघसमेत गठन गरेको छ । सम्मेलन र सभामा सशस्त्र प्रहरी महिला संघकी अध्यक्ष अनिता अर्याल, पूर्व सशस्त्र महानिरीक्षकहरु सनतकुमार बस्नेत र सिंहबहादुर श्रेष्ठ पनि सहभागी भएका थिए ।
त्यस्तै, मधेस प्रदेशका आठ वटै जिल्लाबाट ठूलो संख्यामा भूपू सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो । संघका प्रदेश र जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरु पनि पुगेका थिए । सँगै कर्तव्य पालनका क्रममा वीरगति प्राप्त सपूतका पेन्सन हकदारसमेत सम्मेलनमा सहभागी भएका थिए ।
सम्मेलनमा सशस्त्रका महानिरिक्षक अर्यालले मधेशबाट शुरु भएको भूपू सम्मेलनलाई आगामी वर्षबाट प्रत्येक प्रदेशमा गर्दै जाने र भूपूलक्षित कार्यक्रमलाई अझ बढी ब्यवस्थित, प्रभावकारी र योजनामुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, अवकाशपछि समेत सशस्त्रलाई योगदान पुर्याइरहेका पूर्वकर्मचारीलाई प्रशंसा पत्र वितरणसँगै सहभागी सबैलाई ट्राकसुट, क्याप र जुत्ता बाँडेका थिए । त्यस्तै, सशस्त्र महिला संघकी अध्यक्ष अर्यालले वीरगति प्राप्त परिवारलाई दोसल्ला ओढाएर सम्मानसहित नगद पुरस्कार दिइन् ।
तस्बिरहरुः























टिप्पणीहरू