सोचेजस्तै सजिलो कहाँ छ र ओलीलाई

सोचेजस्तै सजिलो कहाँ छ र ओलीलाई

बालुवाटारमा हुन्जेल उपमहासचिव विष्णु रिमाल केपी ओलीका भित्रिया थिए, गुन्डुमा भने ओलीको ढाल बनेर पोलिटब्युरो सदस्य महेश बस्नेत उभिएका छन् । उनी ओलीका पक्षमा माहोल बनाउन दैनिकजसो पालैपालो हरेक जिल्लाका युवालाई गुन्डुमा उतारेर गस्ती गराइरहेका छन् ।

ओलीले यसवीच कम्तीमा तीन पटक महाधिवेशनमा आफूले निर्देशनात्मक संबोधन गरेर नयाँ नेतृत्व छान्ने भनी दबाब सिर्जना गरिसके । ओलीले यसबीच न त जेन–जी आन्दोलनको जिम्मेवारी लिएर माफी मागे न एमाले नेतृत्व छाड्ने छाँट नै देखाए । उल्टो चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा भीम रावललाई पेलेजस्तै एघारौँमा पनि पेल्ने चेतावनी दिए । उनलाई बिदा हुन दबाब दिने नेताहरू उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र सचिव योगेश भट्टराईहरू निशानामा छन् ।

भदौ २४ गते धापासीस्थित घर जलेपछि कहिले ललितपुर त कहिले काठमाडौंमा बस्दै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनलक्ष्यित छलफललाई तीव्र बनाएका छन् । उनले यस पटक कुनै हालतमा लड्ने बचन दिइरहेका छन् । केही दिनअघि धापासीस्थित जलेको घर नजिकै भेट्न पुगेका कार्यकर्ताहरूले जिस्काउँदै यो पटक पनि खुट्टो लुलो हुने होला नि कमरेड भनेर कटाक्ष गर्दा पोखरेलले आफू प्रतिबद्ध भइसकेको जवाफ दिए । उनले साउन ५÷६ को बैठकबाट आगामी महाधिवेशनदेखि लागु हुने गरी खारेज गरेको वरिष्ठ उपाध्यक्ष पद दिए पनि नस्वीकार्ने भनेका छन् । 

एमालेको हरेक महाधिवेशनमा दुई प्यानल अनिवार्य जस्तै छ । चितवनको दशौँ महाधिवेशनमा पनि सर्वसम्मत हुन खोजेका ओलीलाई भीम रावलले चुनौती दिए । तर त्यसबेला प्यानल थिएन । अहिलेसम्म संस्थापनको रूपमा रहेका ओलीलाई अब विद्या भण्डारी संरक्षित वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानलले चुनौती दिन सक्छ ।

विरोधी कित्तामा भए पनि उनीहरूले ओलीले अध्यक्षका लागि पाएको १८३७ भन्दा बढी मत ल्याएर चुनौती दिएका थिए ।  

प्यानल बनेको खण्डमा भण्डारी पक्षले पोखरेलले खुट्टा कमाए उपाध्यक्ष उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई अघि सार्ने तयारी छ । पोखरेल पक्का उठेमा सुरेन्द्र पाण्डे उपाध्यक्षमा दोहोरिनेछन् । ओलीले शंकर पोखरेललाई उपाध्यक्षमा लगेर प्रदीप ज्ञवालीलाई महासचिवमा ल्याउने सम्भावना बलियो छ । ज्ञवाली अघि सरेमा गुल्मीकै गोकर्ण बिष्टको चुनौती सामना गर्नुपर्ने हुन सक्छ । पोखरेल प्यानलबाट योगेश भट्टराई महासचिवमा उठ्न सक्छन् । पोखरेल समूहले सचिवमा गोकुल बाँस्कोटा र कर्णबहादुर थापालाई अघि सार्दैछ । उनीहरू कुनै बेला ओलीकै प्रिय थिए । 

उता विधान महाधिवेशनअघिसम्म भण्डारीकै पक्षमा रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङबारे पनि इतर पक्षले हरहिसाब गरिरहेको छ । विष्णु पौडेल विधान महाधिवेशनसँगै ओलीतिर बढी मुखर भएको अवस्था छ । नवौँ महाधिवेशनमा झलनाथ खनाल र वामदेव गौतम निर्णायक भएजस्तै गुरुङ र पौडेलको पनि अवस्था त्यही छ ।

ओलीलाई अझै विद्या भण्डारीको डर छ । गुन्डुमा भएका बैठकमा भण्डारीसँग कुरा गर्छु त भने तर अहिलेसम्म सम्पर्क भएको थाहा छैन । बरू भण्डारीसँग पालैपालो सरकारका मान्छेले भेटिरहेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेलले भेटेर वार्ता गरिसकेका छन् । महाधिवेशन साँझबिहान हुन लाग्दा ओलीले सदस्यता कम्तीमा नवीकरण गरिदिन्छु भन्नेसमेत जाँगर देखाएका छैनन् । तर उनले ललितपुरमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा निवेदन आए पुनर्विचार गर्न सकिने बताएका थिए । 

ओलीको उदय 

ओलीको राजनीतिक यात्रा हेर्दा द्वन्द्वपूर्ण र तनावयुक्त देखिन्छ । पञ्चायतकालीन भूमिगत यात्रा र १४ वर्ष जेल जीवन हुँदै यहाँसम्म आउँदा उनी तीन पटक प्रधानमन्त्री भए । तर ००७ सालको प्रजातन्त्रयता पहिलो पटक बालुवाटारबाट भाग्ने प्रधानमन्त्री पनि उनै हुन् । उनको उदय र पार्टी अध्यक्षसम्मको यात्रामा छलछाम र तिगडम धेरै देखिन्छ । ओलीलाई पार्टीभित्र अलग पहिचान बनाउन तिखो र कडा बोलीले सघायो । कुनै बेला माओवादीको उग्रविरोधी भएर चर्चामा आए । माओवादीसँग भिडिरहँदा नेपाली कांग्रेसप्रति नरम भए । 

उनी ०६५ फागुन ५–१४ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट उचाइमा आए । त्यसबेला मनमोहन अधिकारीको निधनपछि त्यागिएको अध्यक्ष पद फर्काएर पार्टीलाई बहुपदीय प्रणालीमा लागु गरियो । उक्त महाधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १ र सचिव ३ जनाको निर्वाचन भयो । अध्यक्ष पदका लागि झलनाथ र केपी ओली भिडे । खनाल ९१३ मतसहित विजयी हुँदा ओली ७९६ मतमा सीमित भए । 

त्यसबेला ओली पराजित भए पनि उपाध्यक्षमा अशोक राई, वामदेव गौतम र विद्या भण्डारी विजयी भए । अहिले जनता समाजवादीको अध्यक्ष रहेका राई र अहिलेकी पूर्वराष्ट्रपति भण्डारी ओली प्यानलकै थिए । त्यसबेला उपाध्यक्षमा भिडेका भरतमोहन अधिकारी, साहना प्रधान र भीम रावल हारे । अधिकारीले दुवै प्यानलको समर्थन पाउँदा पनि जितेनन् । त्यसबेला महासचिवमा खनालनिकट ईश्वर पोखरेलले ओलीनिकट प्रदीप नेपाललाई हराए । अहिले उनै ईश्वर ओलीलाई चुनौती दिन खोज्दैछन् ।

उता नेपाल भने दिवंगत भइसकेका छन् । ओलीको कुनैबेलाका निकट नेता नेपाल जीवनको उत्तराद्र्धमा उनैबाट तिरस्कृत भए । त्यसबेला विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र युवराज ज्ञवालीले जिते । पौडेल र पोखरेल दुवै ओलीनिकट थिए । सचिवमा भिडेका रामचन्द्र झा, राजेन्द्र श्रेष्ठ र रघुवीर महासेठ पराजित भए । काठमाडौंको भृकुटीमण्डपमा नवौँ महाधिवेशन २०७१ असार १९ देखि साउन १ गतेसम्म चल्यो । त्यसबेला ओलीले माधवकुमार नेपाललाई हराए । यो महाधिवेशनमा ओलीलाई जिताउने दुई प्रमुख पात्र थिए वामदेव गौतम र झलनाथ खनाल । 

त्यसबेला ओली बिरामी थिए । मिर्गौलाका बिरामी उनको हात सुन्निएर ड्याम्म भएको थियो । उनी त्यही बिरामी शरीर र हात लिएर महाधिवेशनमा उत्रिए र १०४७ मतसहित माधव नेपाललाई हराए । नेपालले १००३ मत पाउँदा ४४ मतले पराजय भोगे । महाधिवेशन लाग्नु तीन महिना अघिबाटै नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले ओलीविरुद्ध देशव्यापी समीकरण खडा गरे । तर अध्यक्ष उठ्ने भनेर नेपालले अन्तिममा मात्रै निर्णय गरे । भुसाल र भट्टराईले अभियान छेडेको समयमै आँट गरेका भए ओलीले जित्ने थिएनन् ।

यी दुई नेताको त्यही प्रतिस्पर्धादेखि शुरू भएको कलह अब कहिल्यै नमिल्ने बिन्दुमा छ । नवौँ महाधिवेशनमा महासचिव पदका लागि ओली प्यानलबाट ईश्वर पोखरेल र नेपाल तीरबाट सुरेन्द्र पाण्डे भिडे । पोखरेलले १०३६ मतसहित जिते । पाण्डे १०३० मत ल्याएर हारे । तर अब यी दुवै मिलेर ओलीलाई टक्कर दिँदैछन् । ओलीले दशौँ महाधिवेशन पुग्दासम्म सबै विरोधी बढारेर दशौँ महाधिवेशनबाट उनी फेरि अध्यक्ष बने । 

त्यसबेला उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्यले १९७६ र सचिव गोकर्ण बिष्टले सबैभन्दा धेरै १९७४ मत ल्याए । दोस्रो बढी मत उपाध्यक्ष सुरेन्द्र पाण्डेले १९२५ पाए । सचिव योगेश भट्टराईले १९६० मत ल्याए । त्यसबेला पनि शाक्य, बिष्ट, पाण्डे र भट्टराई ओलीको विरोधी कित्ताका थिए । यी चारैजना नेकपापछि एमालेमा देखिएको विवादमा १० बुँदे थिए ।

तर विरोधी कित्तामा भए पनि उनीहरूले ओलीले अध्यक्षका लागि पाएको १८३७ भन्दा बढी मत ल्याएर चुनौती दिएका थिए । त्यो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि दोस्रो सर्वाधिक मत ठाकुर गैरेले ल्याए । उनी पनि ओलीका प्रशंसक थिएनन् । तर उनैलाई सर्वाधिक मत गयो । त्यसबेला ओलीको एकछत्र हुँदाको दृश्य अहिलेको अवस्थामा ठ्याक्कै उल्टो हुन सक्छ । अहिले ओली जेन–जीका कारण रक्षात्मक छन्, त्यहीकारण उनलाई हराउन सकिने आँकलन भण्डारी पक्षले गरिरहेको छ ।

(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू