गुण्डुका मन्दिरछेउमै भयानक गड्बडी

गुण्डुका मन्दिरछेउमै भयानक गड्बडी

नेकपा एमालेबाट तत्कालीन सांसद तथा पूर्वमन्त्री महेश बस्नेतको निर्वाचन क्षेत्रमा सार्वजनिक सम्पत्तिको चरम दुरूपयोग भइरहेको पाइएको छ । मन्दिरसँगै सार्वजनिक जग्गा भाडामा लगाएर केही व्यक्तिले दैनिक पचासौं हजार रूपैयाँ आम्दानी गरिरहेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा लिखानारायण मन्दिर छ । सो मन्दिर पुरानो र चर्चितमध्येको हो ।

काठमाडौं मोडेल स्कूलबाट केही मीटरको दूरीमा रहेको सो मन्दिर जंगलको बीचमा छ । परापूर्वकालदेखि त्यहीँ रहेको मन्दिर चार वर्षअघि पुनःर्निर्माण गरिएको हो । बस्नेतमार्फत सांसद कोषबाट आएको २० लाख, सूर्यविनायक नगरपालिकाको २० लाख र बागमती प्रदेश सभाका सदस्य शशीजंग थापाको १५ लाख रूपैयाँ गरी कूल ५५ लाख रूपैयाँ खर्च गरेर मन्दिरलाई नयाँ रूप दिइएको थियो ।

मेयर वासुदेव थापाले पुनःनिर्माण भएको मन्दिरको उद्घाटन गरेका थिए । मन्दिरको चारैतिर घेराबार लगाइएको छ भने छेउमा दुईवटा स्टल छ । ती स्टल हरहमेशा प्याक हुन्छ । दिनहुँजसो विभिन्न कार्यक्रम भइरहेको हुन्छ । स्टल बुकिङ्गबापत तिरेको रकम मन्दिर व्यवस्थापनको नाममा खडा गरिएको समितिका पदाधिकारीहरूले भागशान्ति गरेको स्रोत बताउँछ ।

हाल समितिको अध्यक्षमा रञ्जन कार्की छन् । उनी अध्यक्ष बनेको झण्डै आठ महिना हुन लाग्यो । त्यसअघि पुष्कर कार्की थिए । पुष्कर नेपाल प्रहरीको डिएसपीबाट अवकाशप्राप्त गोविन्दबहादुर कार्कीका भाइ हुन् । गोविन्द महेशसँग निकट छन् । पुष्करलाई महेशले नै संरक्षण गरेको स्रोतको जिकिर छ । ‘गोविन्द र महेश एकदमै नजिक छन् । उसकै भाइ भएपछि महेशले नसघाउने कुरा पनि भएन,’ स्रोतले भन्यो । 

असईबाट सेवामा प्रवेश गरेका गोविन्दको जीवनशैली देखेर अहिले जोपनि आश्चर्यमा पर्छन् । हाल उनको काठमाडौंको शान्तिनगरमा घर छ । लिखानारायण पर्यटकीय क्षेत्र हो । प्राकृतिक सुन्दरताको आनन्द लिन र पिकनिक मनाउन टोलीहरू आउँछन् । शनिबार अत्यधिक भीड हुने गरेको छ । सार्वजनिक जग्गामा पिकनिक मनाउन आएकाबाट एक हजार रूपैयाँको दरले उठाउने गरिएको छ ।

मन्दिर कि बिजनेस कम्प्लेक्स ?

पहिले खुला ठाउँमा रहेको मन्दिरलाई संरक्षणका नाममा चारैतिरबाट पर्खालले घेरिएको छ । मन्दिरसँगै स्टल छ । घुमघामका लागि आउनेहरूले त्यहीँ खाना पकाउने गरेका छन् । जसले मन्दिर दर्शन गर्न आउनेहरूलाई समस्या भएको छ । एक भक्तजनले भने, ‘यहीँ मन्दिर छ, यहीँ पकाउँछन्, खान्छन्, फोहोर पार्छन्, गीत बजाएर नाच्छन् । मन्दिर पार्टी गर्ने ठाउँ हो र ?’ स्थानीय भन्छन्, ‘मन्दिर पूजा गर्ने ठाउँ हो तर उहाँहरूले व्यापार गर्ने थलो बनाउनुभएको हो । पहिले मन्दिर खुला थियो । व्यापार गर्ने नियतले साँघुरो बनाउनुभयो ।’ मन्दिर वरपरको क्षेत्र दुर्गन्धित छ । पिकनिक आउनेले खाना पकाएर जथाभावी फोहोर फाल्ने गरेका छन् ।

स्रोतका अनुसार त्यहाँ गाँजाको कारोबार पनि हुने गरेको छ । पिकनिक मनाउन जोकोही पनि आउने भएकाले स्थानीयलाई सुरक्षाको त्रास भएको छ । पिकनिक मनाउने भन्दै अपराधमा जोडिएका व्यक्ति पनि आउन सक्छन् । पछिल्लो समय यहाँको माहौल एकदमै बिग्रिएको छ ।’सूर्यविनायक नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरू प्रायः एमालेकै छन् । मेयर वासुदेव र उपमेयर सरिता तिमल्सिना भट्टराई एमालेबाटै निर्वाचित भएका हुन् । ७ नम्बरका वडाध्यक्ष रवीन्द्र सापकोटासँगै सबै एमाले हुन् । गुण्डु बस्नेतको गृहनगर भइहाल्यो ।

वडा ७ का अध्यक्ष रवीन्द्र सापकोटाले त्यसरी उठाइएको रकम मन्दिरको स्तरोन्नतिमा खर्च हुने दावी गरे । उनका अनुसार सो रकम वडामा आउँदैन, समितिले उठाएर विकासमा खर्च गर्छ । जनआस्थासँग भने, ‘त्यो पैसा वडाले उठाउँदैन । त्यहाँ समिति छ, त्यसले नै उठाएर खर्च गर्छ ।’ वडाले विकासमा खर्च भएको भनिरहँदा मन्दिरबाहिर दुईटा पुरुष शौचालय र दुईटा महिला शौचालयबाहेक अरु केही छैन । यस विषयमा बुझ्नका लागि अध्यक्ष रञ्जन कार्कीलाई पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू