जब मन दुख्छ, आँधी बेस्कन चल्छ

जब मन दुख्छ, आँधी बेस्कन चल्छ

यता कुलो काट्दाखेरी उताको खेत सुक्यो अरे 
उताको मन राख्दाखेरी यताको मन दुख्यो अरे ।
खोइ किन हो यता बोल्दा उताको मन जल्यो अरे
उता मनको कुरा खोल्दा यता आँधी चल्यो अरे ।
यता मैले झ्याउरे नाच्दा उताको मन फाट्यो अरे
उता रोधी गाउँदाखेरी यता कुरा काटे अरे ।

गीतकार राजकुमार बगर र गायक राजेश पायल राईले मीठो शव्द र स्वर बैगुनी र शंकालु मायाँबारे चर्चा गरेजस्तै यतिबेला नेपालको वामपन्थी (कम्युनिष्ट) राजनीतिमा पनि यस्तै शंका, उपशंका, कुरा काटाकाट, मन दुःखादुःख र आँधी चलाचल भएको छ । अचानक गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले सिर्जना गरेको नयाँ राजनीतिक परिस्थितिका कारण कम्युनिष्ट भनिएका तर व्यवहारले पञ्चायती सामन्तजस्ता वामपन्थीहरूबीच एकैसाथ एकता, फुट, गालीगलौज र मुखमा हिलो छ्यापाछ्यापको नियति पुनः दोहोरिएको छ ।

एकातिर कुलो काट्दा अर्कातिरको खेत सुकेजस्तै चार वर्षअघि नेकपा (एमाले)बाट छुट्टिएर बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच ध्रुवीकरण हुँदा अर्कातिर घनश्याम, भुषाल, सुधन किराँती र राम कार्कीहरू छुट्टिएका छन् । माधव नेपालले प्रचण्डसँग मन राख्दा किसान श्रेष्ठ र रामकुमारी झाँक्रीहरूको मन फाटिएर केपी ओलीतिर टाँसिएको छ । करिव एक वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘शक्ति उन्माद’का कारण बाहिरिएका डा. भीम रावल र ०५४ सालमा एमाले फुटाएर नेकपा (माले) बनी २०५६ सालमा पाँच कुने तारा चिह्नमा ६ लाख मत तर शून्य सिट ल्याउँदै पुनः एमाले र ओली–प्रचण्ड गठजोडको नेकपा विभाजनपछि एकता अभियान चलाएर बसेका वामदेव गौतम पनि भर्खरै बनेको नेपाली कम्युनिष्ट पार्टीमा जोडिएका छन् । यसमा अर्का भेट्रान नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि छन् । यसरी हेर्दा नेपाली कम्युनिष्ट पार्टीमा अहिले तीन पूर्वप्रधानमन्त्रीहरूको चम्का ठडिएको छ । आगामी फागुन २१ गते गर्ने भनिएको चुनावरूपी खड्कुलोमा कुन परिकार कसरी पाक्ने हो त्यो भने हेर्न बाँकी छ । त्यसो त माधव–प्रचण्ड नेतृत्वको नेकपामा साना एघार वामपन्थी घटक पनि जोडिएका छन् । कार्यकर्ता (शरिर) बिनाका नेता (टाउका) हरू जति जोडिए पनि त्यसले आगामी निर्वाचनमा ठूलो मतपरिणामको भिन्नता ल्याउला भन्ने आमजनताको अपेक्षा छैन ।

हुँदाहुँदा अहिले त माओवादीले ‘माओवाद’ छोड्यो, नाम र चुनाव चिन्ह नै छोड्यो । तर १० वर्षअघि नै मर्क्सवाद र कम्युनिष्ट नै छोडेको शक्तिसँग एकताचाहिँ माओवादी सिद्धान्तमै हुने भएको हो र ?

किनभने यो गठजोड सिद्धान्त, नीति र विधिमा टेकेर गरिएको नभई जेनजी आन्दोलनपछि आफ्नो अस्तित्व नै सकिने स्थितिमा पुगेका पुराना, पटक–पटक परीक्षण भई जनताको क्रमशः विश्वास गुमाउँदै गएका बूढाहरूको क्लबजस्तै हो । यदि प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा अधिकाँश जेनजी र नयाँ युवाहरूलाई सांसदको टिकट दिएर विजयी गराउन सके भने मात्र उनीहरूले जेनजीले उठाएको मुद्दा बोकेको प्रमाणित हुनेछ । होइन भने उनीहरूले अहिले आफूहरू जेनजीका मागप्रति सकारात्मक रहेको भन्ने तर पुनः टिकटको भागबण्डा मिलाउँदै समानुपातिक सूचीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बालदेव गौतम र धु्र्रवीकरणमा आएका दश दलका नेताका परिवार र गुटका मानिस मात्र चयन गर्ने हो भने यो एकता वा ध्रुवीकरण फागुनको चुनाव सकिएपछि चैते आँधी र हुण्डरीले उडाएर पुनः पानी बाराबार, गालीगलौज, र कुरा काटाकटको स्थितिमा नल्याउला भन्न सकिन्न । जसै यसअघि केपी ओली नेतृत्वको नेकपा (एमाले) र प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच २०७२ साल फागुन २ गते एकता भएर यसले संविधानसँगै देशमा राजनीतिक स्थिरता थप्ने लक्ष्य राखेको थियो । एकताकै कारण दुवै पार्टीले साझा रूपमा कम्युनिष्ट आदर्श, विकास, समृद्धि, लोकतन्त्रको रक्षा र समाजवादी यात्रा तय गर्ने भनेका थिए । तर, यो एकता २०७५/२०७६ सम्म विवाद र विभाजनको क्रममा पुग्यो र सर्वोच्च अदालतले यसलाई २०७६ सालमा खारेज गरिदियो ।

जेनजी विद्रोहपछि ओली सरकार अपदस्थ भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम नागरिक सरकार बनेको छ । यो सरकारको मुख्य कार्यभार आगामी फागुनको निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गरी निर्वाचित जनप्रतिनिधिहरूलाई देश हस्तान्तरण गर्नु हो तर मन्त्रीहरूको क्रियालाप हेर्दा पालाको पैँचो फेर्ने दाउमा रहेको भान हुन्छ । मुखले चुनाव गर्ने भने पनि वातावरण अझै निर्माण हुन सकेको छैन । जेनजी विद्रोहमा प्रहरीबाट लुटिएका सबै हतियार फेला परेका छैनन् भने कारागारबाट भागेका पाँच हजार भन्दा धेरै कैदीबन्दी फरार छन् । केपी शर्मा ओलीमा अझै कुनै पश्चाताप देखिँदैन । उल्टै राज्य, प्रशासन र मन्त्रीहरूमाथि चुनौती दिइरहेका छन् । उनलाई एक त प्रधानमन्त्रीबाट अपदस्थ हुनुपरेकामा मानसिक चोट छ भने यही बेला चुनाव भएमा आफू र दलले पनि नराम्रो परिणाम भोग्नुपर्ने हेक्का पनि छ किनकि भदौ २३ र २४ गतेको हिंसात्मक घटना केपी ओलीकै दम्भका कारण भएको हो भन्ने जनताको दिमागमा आलो घाउ बनेर बसिरहेको छ ।

देशमा जे जस्ता घटना भएपनि, जे जस्ता राजनीतिक दल भएपनि, जो नेता र जुन पार्टी जतिसुकै बिग्रिएका भए पनि जनताले बिग्रिएकामध्ये अलि कम बिग्रिएकालाई छान्नुपर्दा वामपन्थीलाई नै छान्नुपर्छ किनकि वामपन्थीहरू धेरै भए पनि सुधारमुखी, परिवर्तनकामी, थोरै भए पनि क्रान्तिकारी, अलि जिउँदा र चलायमान हुन्छन् । तर वामपन्थी कम्युनिष्टहरूले महिनैपिच्छे पार्टी बदलेको बदल्यै गर्दा, छट्पटाहट र अस्थिर हुँदा त्यसको फाइदा अन्य प्रतिक्रियावादी, भ्रष्ट र दलालहरूले लिइरहेका छन् । वर्षौँदेखि नेपालमा यो नियति दोहोरिँदै आएको छ । २०७९ सालमा मोहन वैद्य (किरण) नेतृत्वको पार्टीमा रहेकाहरू केही समयपछि नेत्रविक्रम चन्द विप्लव लागे, यतिसम्म त ठीकै हो । तर तिनै दगुर्दै पुनः प्रचण्ड नेतृत्वको माओवादीमा पुगे । तिनैले एकाध महिनामा फेरि अन्तै लागेर ठुल्ठूला गफ दिइरहेको देखिन्छ । हुँदाहुँदा अहिले त माओवादीले ‘माओवाद’ छोड्यो, नाम र चुनाव चिन्ह नै छोड्यो । तर १० वर्षअघि नै मर्क्सवाद र कम्युनिष्ट नै छोडेको शक्तिसँग एकताचाहिँ माओवादी सिद्धान्तमै हुने भएको हो र ?

फेरि अर्को कुरा अहिले गठित प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेकपा (एमाले) दुबैको राजनीतिक सिद्धान्त माक्र्सवाद–लेनिनवाद छ । त्यसोभए सिद्धान्त एउटै, फरक पार्टीचाहिँ किन त ? उत्तर सजिलो छ, सबैलाई पद चाहिएको छ, सबैलाई संसदीय दलको नेता हुनु परेको छ र सबैलाई देशको प्रधानमन्त्री हुनुपरेको छ । संसारै स्वार्थी भएपछि नेताजति माथि परेको पर्‍यै, जनता तलबाट हेरेको हेर्‍यै । 

टिप्पणीहरू