कलाकारलाई कसले सिकाउने कर्तव्य ?
०८० जेठ अन्तिम साता भारतीय चलचित्र ‘आदिपुरुष’ नेपालमा प्रदर्शन हुँदै थियो । तर ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवादसहितको ट्रेलर सार्वजनिक भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फेसबुकमार्फत उक्त अंश नहटाएसम्म उपत्यकाका हलमा चल्न नदिने चेतावनी दिए । उनको उद्घोषपछि निर्माण टिमले भारतबाटै माफी मागेको सन्देश पठायो र केही दिनपछि विवादित अंश हटाएर चलचित्र प्रदर्शनमा आयो । बालेनको एक स्टाटसकै कारण जानकीको माइती नेपालमै कायम भएको भाष्य सिर्जना गरियो र धेरैले उनलाई इतिहासको संरक्षकसमेत भने ।
तर, त्यतिबेला जसरी एउटा बहुप्रतिक्षित चलचित्रबाट विवादित अंश हटाइनुको मुख्य कारण बालेनको स्टाटसलाई ठहर गरियो, उसैगरी भदौ २४ गते सिंहदरबारमा आगो लाग्नुको कारण पनि उनैको स्टाटस हो भनेर ठहर गर्न कुनै संकोच नमान्नुपर्ने अवस्था छ । किनकि ०८० भदौ दोस्रो साता उनैले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार !’
शनिबार निजी काममा हिँडेकी आफ्नी श्रीमती सवार महानगरको गाडी सामान्य चेकजाँचको लागि कोटेश्वरमा ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाइदिने उद्घोष गरेका बालेन साँच्चिकै आगो लागेपछि प्रथम दृष्टिकोणमै दोषी देखिएका छन् । यस आरोपबाट मुक्त हुने बहानामा उनले थप कति अराजकता मच्चाउने हुन्, त्यो समयक्रमसँगै खुल्ने नै छ । तर, भदौ २४ गते दिनभर नगर प्रहरी नै फिल्डमा पानीको बोतल बाँड्दै हिँड्नु, नगर प्रहरी प्रमुख राजु पाण्डे सुटुक्क संसद भवन परिसर पुग्नु, सिंहदरबारमा आगो लागेको दुई दिनसम्म पनि महानगरको दमकल नपुग्नु, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छुट्टै (ललितपुर) महानगरका मेयर चिरिबाबु महर्जनसँग सहयोग मागेपछि यताबाट ७९ पटक फोमसहितको दमकल पुग्नु लगायतका प्रसंगले भने बालेन नै विध्वंशको एउटा कारक हुन् भन्ने आरोपलाई ठूलो बल पुर्याएको छ ।
भनिन्छ, समाजको यथार्थतालाई कलामार्फत् प्रस्तुत गर्नु कलाकारको धर्म हो भनि समाजलाई दिशा निर्देश गर्नु कर्तव्य । तर र्यापरसमेत रहेका बालेन मात्र होइनन्, आफूलाई सेलिब्रेटी मान्ने कलाकारको ‘मानसिक नग्नता’ जेनजी घटनाले छर्लङ्ग पारेको छ । फेसबुकमा तारन्तार भिडियो पोस्ट गरेर नेताहरूको घर जलाउन आह्वान गर्ने कमेडियन अपूर्व क्षितिज, ऐतिहासिक मूर्तिहरू चोरी हुँदै गर्दा मतियार बनेर टिकटक बनाउने मोडल सञ्चिता शाही, संसद भवन जल्दै गर्दा अश्लिल शब्द बोल्दै उत्सव मनाउने निर्देशक अमनप्रताप अधिकारी, प्रदर्शनकारीलाई ‘गो अहेड’ भन्दै आगो लगाउन उक्साउने निर्देशक निश्चल बस्नेत लगायतले मनोरञ्जन क्षेत्रकै बदनाम गरेको विश्लेषण हुन थालेको हो । उनीहरूले कलाकारको न्युनतम कर्तव्य मात्रै पनि पालना गरेको भए मुलुकले कम क्षति व्यहोरेको हुने कतिपयको विश्लेषण छ । अनुसार चलचित्रको आधारभूत संरचना नै जसरी हुन्छ खलनायकलाई परास्त गरेर नायकलाई विजयी देखाउनु हो । जेनजी प्रदर्शनमा सहभागी कलाकारहरूले पनि तत्कालीन सरकारको नेतृत्व गरेका र दलका पुराना नेताहरूलाई खलनायकको रुपमा लिएको पण्डितको आशय छ ।
छोटो कपडा लगाएर अश्लिलता फैलाएको आरोप खेप्दै आएकी लोकदोहोरी गायिका ज्योती मगर बरु यतिबेला बौद्धिक भनिएका कलाकारभन्दा सशक्त रुपमा अभिव्यक्त हुन थालेकी छन् । भदौ २३ र २४ गतेको घटना कुनै आन्दोलन नभई अराजकता र भाँडभैलो भएको उनको निश्कर्ष छ । यतिबेला मुलुकलाई देशकै झण्डा ओढेर देश जलाउनेहरूबाट संयमतापूर्वक जोगाउनुपर्ने अवस्था आएको ज्योतीको अनुभव छ । ‘आजसम्म भएका आन्दोलनहरू व्यवस्था परिवर्तन र नेपाली जनताको हकहितको लागि भएको क्रान्ति थियो, भलै नेतृत्वले हाम्रो अपेक्षा पुरा गरेनन्’, उनी भन्छिन् ।
ज्योतिको ठहर छ, कलाकारले राजनीति र बालेनले फिल्म देखाउन खोज्दा मुलुक खरानी हुने अवस्था आएको हो । ‘गरिबको चमेली बोल्दिने कोही छैन भन्दै गरिबहरूको ठेला उठाउनुभयो, म नेपाल हाँसेको हेर्न चाहन्छु भन्दै जेनजी उक्साएर सर्लक्कै देश जलाउनुभयो’, बालेनलाई कटाक्ष गर्दै उनले केही दिनअघि भनेकी थिइन्, ‘जुन जुन शक्तिको आडमा देशमा वितण्डा मच्चाउनुभयो, तिनैले चिथोर्न थालेपछि राति १२ बजे बेचैनी बढेको होला ।’
टिप्पणीहरू