‘ज्वाईं’को माया अर्थमा छरपस्ट

‘ज्वाईं’को माया अर्थमा छरपस्ट

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले झण्डै एक दर्जन कार्यकारी निर्देशक (विभागीय प्रमुख) को सरुवा गरेका छन् । १० जना कार्यकारीको सरुवा र एक जनाको पदस्थापनको निर्णय भोलिदेखि लागु हुने खबर छ । 

राष्ट्र बैंकले आज मध्यान्ह १२ बजे होमपेजमा अपलोड गरेको मानव संसाधन व्यवस्थापन विभागको पत्रानुसार १८ जनामध्ये ७ जना कार्यकारी निर्देशकको विभाग र कार्यालयको जिम्मेवारी यथावत राखिएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । नेपालमाथि यसअघि उपनिर्देशक हुँदा नियमन विभागमा र कार्यकारी निर्देशक हुँदा लघुवित्त संस्था सुपरीवेक्षण विभागमा अनुचित फाइदामा संलग्न भएको गम्भीर आरोप लागेको थियो । विदेशी विभागमा छँदा पनि उनले सर्वसाधारण र बैंक तथा वित्तीय संस्थाको काममा देखिएको अवरोधलाई हटाउनुको सट्टा झन् गाँठो पारिदिएको आरोप भोगेका छन् ।

आजको सरुवामा मुद्रा व्यवस्थापन विभागका रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा,मानव संसाधनका विश्रुत थापालाई वित्तीय संस्था सुपरीवेक्षण विभागमा लगिएको छ । थापालाई विश्व पौडेलले जेठ ६ गते गभर्नरमा नियुक्त भएपछि पहिलो सरुवाको रुपमा मुद्राबाट उक्त विभागमा तानेका थिए ।

मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मा पगेनीलाई गभर्नरको कार्यालयमा लगिएको छ । बैंकको आधिकारिक सरुवा पत्रमा दयारामको पूरा नाम लेखिएको छैन । नियमन विभागका गुरुप्रसाद पौडेललाई मानव संसाधन विभागमा लगिएको छ । गुरु र नियमनमा लगिएका रामु दुबै स्याङ्जाका पौडेल हुन् भने दयाराम पनि स्याङ्जाली नै हुन् । 

भुक्तानी प्रणाली विभागका किरण पण्डित विदेशी विनिमय व्यवस्थापन विभाग पुगेका छन् । उनी पछिल्लो समय बैंकको प्रवक्ता तोकिएका छन् । डा. सत्येन्द्र तिमिल्सिनालाई वित्तीय संस्था सुपरीवेक्षण विभागबाट भुक्तानी प्रणाली विभागमा,सम्पत्ति तथा सेवाका रोशनकुमार सिग्देललाई बैंकिङ र उक्त विभागका डा. डिल्लीराम पोखरेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ । 

आजको सरुवामा अनुज दाहाललाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट मुद्रा व्यवस्थापनमा र गभर्नरको कार्यालयमा रहेका राजनविक्रम थापालाई संस्थागत योजना विभागको जिम्मेवारी दिएर पदस्थापन गरिएको छ । कायम मुकायम थापा अस्ति बेलुकीदेखि कार्यकारी निर्देशक बनेका हुन् । 

यसअघि गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकका कार्यकारी निर्देशकहरुमध्ये सीमित अर्थशास्त्रीको रुपमा चिनिएका पिताम्बर भण्डारीलाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारीबाट वञ्चित गराएका थिए । भण्डारीलाई उनको विज्ञताभन्दा फरक विभागको रुपमा मानव संसाधनमा राखिदिएका थिए । पछिल्लो छ महिना अहिलेका गभर्नर पौडेलले पनि चार्टर्ड एकाउण्टेण्ट विश्रुत थापालाई सुपरीवेक्षणको सट्टा सोही विभागमा राखिदिएका थिए । 

आजको सरुवामा बैंक र वित्तीय क्षेत्रमा नै ‘राष्ट्रिय ज्वाईं’को नामले चिनिने डा. रामशरण खरेललाई चलाइएको छैन । गत वैशाखमा कायममुकायम गभर्नरको हैसियतमा रहेकी डेपुटी निलम ढुंगाना तिम्सिनाले खरेललाई चैत मसान्तको दिन बढुवा गराएर मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी हतारहतारमा सुम्पेकी थिइन् । 

खरेल यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाका छोरीज्वाईं हुन् । ज्वाईंलाई आगामी फागुनमा रिक्त हुने डेपुटी गभर्नरमा उकाल्न खतिवडाले पापड पेल्दै आएका थिए । त्यसैका लागि निलमलाई गभर्नर बनाउने, ज्वाईंलाई डेपुटी र पर्दा पछाडिबाट आफूले केन्द्रीय बैंक हाँक्ने उनको रणनीतिमा गत भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशले ब्रेक लगाएको छ ।

गत महिना विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री रामेश्वर खनाल, अर्थसचिव र एकजना सहसचिवसँगै बैंकबाट गभर्नर पौडेल, उनै खरेल र एकजना निर्देशक अमेरिकाको राजधानी वाशिंगटन गएका थिए । उताबाट फर्केपछि खरेलले आगामी फागुन २४ गते रिक्त हुने दुई जना डेपुटीमध्ये मन्त्री र गभर्नरबाट एउटामा आफूलाई वचन प्राप्त भइसकेको ‘गफ’ दिनु र यता उनको विभाग सरुवा नहुनुलाई ‘आकस्मिक संयोग’ मात्रै मान्न नमिल्ने कतिपयको तर्क छ । खरेल निकट बैंक कर्मचारी संघका एकजना पदाधिकारीले भने, ‘विभाग सरुवा नभएका कार्यकारी निर्देशकहरुमध्ये उहाँ मात्रै ‘ज्वाईं’ हो र ? अर्का एकजना पनि खतिवडाझैँ भूतपूर्व कर्मचारीकै ‘ज्वाईं’ हो नि ।’

खरेल २०५४ सालमा अन्तर्वार्ता मात्रै दिएर केन्द्रीय बैंकको अधिकृत तृतीयमा प्रवेश गरेका थिए । त्यसपछि कहिल्यै आन्तरिक परीक्षा उतीर्ण गर्न नपरेका उनी झण्डै १५ वर्ष तत्कालीन गभर्नर, अर्थमन्त्री, अमेरिकाका लागि राजदूत तथा प्रधानमन्त्रीका सल्लाहकारको हैसियतमा रहेका युवराज खतिवडाको आडमा खुरुखुरु फाइल बढुवा भएका भाग्यमानी ज्वाईं हुन् । ससुराको तथास्तुबाट सँधै केन्द्रीय बैंक, अर्थ मन्त्रालय र आइएमएफमा अवसर पाएका उनले अहिलेका गभर्नरलाई गत साउनमा लगाएको गुनले विभाग परिवर्तन नगरिएको सहजै अनुमान लगाउन सकिन्छ ।

बैंक सञ्चालक समितिका एकजना सदस्य भन्छन्, ‘बैंक दर घटाउनै पर्ने अडानमा रहेका गभर्नरको प्रस्तावलाई फूलबुट्टा भरेर प्रस्ताव ल्याउने महानुभाव उनी (खरेल) नै हो । ३ प्रतिशतबाट घटाउन नहुने अरुको अडान विपरीत खरेलले गरेको २ दशमलब ७५ प्रतिशतको प्रस्तावलाई गभर्नरले समर्थन गरेपछि किन उनको विभाग सरुवा हुन्छ ?’ उक्त बोर्ड बैठकमा डेपुटी निलमलगायत सबैले समर्थन गरेपनि दुई जनाले आफ्ना कुरा राखेपछि अन्ततः माइन्युटमा दस्तखत गरेर उनीहरुले पनि अन्तमा बैठक भत्ता बुझेका थिए । 
 

टिप्पणीहरू