एकीकृत समाजवादीका दुई तिहाई एकताको पक्षमा !

एकीकृत समाजवादीका दुई तिहाई एकताको पक्षमा !

नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी) भित्र चर्को मतभेद उत्पन्न भएको छ । जारी केन्द्रीय समितिको बैठकमा नेताहरुबीच एकताको विषयमा फरक दृष्टिकोण आएपछि कार्यकर्ताहरु भिन्दाभिन्दै कित्तामा उभिएका हुन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार हिजोको बैठकमा २५ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । आज यो समाचार तयार पार्दासम्म १६ जनाले आफ्नो राय राखिसकेका छन् । बैठकमा बोल्ने ७० प्रतिशत नेताहरुले विचार, सिद्धान्त, नीति र कार्यदिशा मिल्ने पार्टीसँग एकता गर्नुपर्ने राय राखेका छन् । त्यस्तै ३० प्रतिशत नेताहरु तत्कालको परिस्थितिमा कुनै पनि दलसँग एकता गर्न नहुने पक्षमा उभिएका छन् । 

पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता वेदुराम भुसाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, उपमहासचिव मेटमणि चौधरीलगायतका नेताहरुले माओवादीसँग पार्टी एकता गरेर नयाँ संरचनामा जानुपर्ने धारणा राखेको ती केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलगायतका नेताहरु भने तत्काल एकता गर्ने परिस्थिति नरहेको भन्दै उपयुक्त समय पर्खिनुपर्ने पक्षमा छन् । 

पार्टी एकताको विषयमा नेताहरुबीच मतभेद देखिए पनि साँझसम्म औपचारिक निर्णय सर्वसम्मत रुपले पारित हुने ती केन्द्रीय सदस्यको विश्वास छ । ‘अहिले पोलिटब्युरो सदस्यहरुले आफ्नो कुरा राखिरहनुभएको छ, साँझसम्म एकताको विषयमा एउटा आधिकारिक निर्णय पारित हुन्छ’, उनले जनआस्थासँग भने, ‘केही कमरेडहरु एकता गर्न नहुने पक्षमा देखिनुभएको छ, तर उहाँहरुले एकता नै नगर्ने भन्नुभएको होइन, अहिले एकता गर्नको लागि समय उपयुक्त नरहेको मात्र भन्नुभएको हो, थप गृहकार्य गरेर मात्र एकतामा जाऔँ भन्नुभएको हो, उहाँहरुलाई कन्भेन्स गर्ने काम भइरहेको छ ।’

पार्टीका कतिपय नेताहरुले एकता गर्ने भए बरु मातृ पार्टी (एमाले)सँग गनुपर्ने हल्ला चलाएकोमा त्यो कुनै पनि हालतमा सम्भव नरहेको अर्का केन्द्रीय सदस्य बताउँछन् । ‘दक्षिणपन्थी अवसरवादको पार्टीबाट विद्रोह गरे हामीले नयाँ पार्टी बनाएका हौँ, त्यो पार्टी अहिले नरसंहारवादको बाटोमा छ, अब फेरि त्यही पार्टीमा जाने भन्ने कुरा कठिन मात्रै होइन, असम्भव छ’, उनले भने । 

नेतृत्व पंक्तिका नेताहरुबीच एकताको विषयमा मतान्तर देखिएपछि यतिबेला पार्टी नै फुटको संघारमा पुगेको समेत चर्चा हुन थालेको छ ।

टिप्पणीहरू