तिहार सकियाे, नक्कली फूलमाला उस्तै

तिहार सकियाे, नक्कली फूलमाला उस्तै

यसपालिको दशैं–तिहार पनि सकियो। मान्छेको बोलीवचन, हाँसो र आँसु समेत व्यवहार, चालचलन सबै बनावटी हुने भएपछि सम्बन्ध र संस्कारहरू पनि स्वतः बनावटी हुँदै जाँदा रहेछन्। तिहारलाई नै हेरौं न, जमानासँगै पर्वहरू पनि कसरी बनावटी हुँदै गए?

‘दियो बाली साँझको, फूल सजाई पूजाको...’, ‘तिहारै आयो लौ झिलीमिली...’, ‘झिलीमिली झिलिमिली, के को झिलिमिली? बत्तीको झिलिमिली, फूलको झिलिमिली।’ तिहारको स्वागतमा हाम्रो गीतसंगीत नै यसरी बनेको थियो। खेतबारी, पाखा, घरआँगन र बाटा छेउछाउ पनि लटरम्म सयपत्री र मखमली फूलेर परपरसम्म मगमगाइरहेका हुन्थे। दियोबत्तीसहित सयपत्री र मखमलीले सिँगारेर गाउँघर उज्यालो र झलमल पारिन्थ्यो। देउसी–भैली मादलको तालमा रातभर खेल्ने माहोल थियो। अहिले असुरक्षाले राति अबेर भैलो खेल्ने–खेलाउने अवस्था पनि छैन। बरु देउसी–भैलोको नाममा दिनमै डिस्को–डान्स हुन्छन् अचेल। दियो–बत्तीको ठाउँमा मैनबत्ती र इलेक्ट्रिक लाइटहरूको झिलिमिली मात्र भएन कि अब फूलमा समेत कृत्रिम प्रयोग बढ्दैछ।

भारतलगायतका देशहरूबाट चितवन भित्रिने प्लास्टिकका फूलमालालाई रोक्न मागसहित फ्लोरीकल्चर एसोसिएसन चितवनले तिहारका बेला प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएको थियो। चाडपर्वको अवसरमा प्लास्टिकका फूलमाला बिक्री–वितरण नगर्न भनी प्रजिअबाट असोज २९ गते सार्वजनिक सूचनासमेत जारी गरिएको भए पनि अहिलेको राज्यविहीन अवस्थामा झन् कसले टेर्नु, कसले हेर्नु? एक–दुई दिन नगरप्रहरीसमेत लागेर भरतपुरमा पसलहरूमा बेच्न राखिएका नक्कली फूलमाला खोसिएका भए पनि भोलिपल्टै फेरि बजारमा प्लास्टिक र कागजका फूलमालाहरू उसैगरी बेच्न राखिएका देखिए। घर र पसलहरू जताततै प्रायः कागज र प्लास्टिककै फूलमाला ज्यादा टाँगिएको भेटियो।

प्राकृतिक फूलमाला त नारायणगढ बजारमा अघिल्लो दिनसम्म बेच्न राखिएकै देखिएन। कताकती ठेलामा र उही तिहारको भाइटीकाकै दिन बिहान लायन्सचोक र शहीदचोकमा केही ठाउँमा बाटोछेउ राखेर सयपत्री र मखमली फूलमाला बिक्री गरिँदै थियो, त्यो पनि बाहिरबाट ल्याएर। विराटनगरबाट फूल ल्याएर लायन्सचोकमा बेच्दै गरेकी महिलाले चितवनमा अहिले फूल नपाइएको, ढिलो भएको बताइन्। फूलमाला बन्दीपुरबाट ल्याएर नारायणगढ लायन्सचोकमा व्यापार गरिरहेका बन्दीपुर–५ का तामप्रसाद भट्टले बजारभाउ नपाएर अचेल सयपत्री र मखमली फूल खेती घट्दै गएको समस्या बताए। “प्लास्टिकका फूलमाला बाहिरबाट नआउने हो भने नेपालमा यसको खेती पनि बढ्ने र मूल्य पनि घट्ने,” उनी बताउँछन्। “चितवनमा वर्षेनी ल्याएर बेच्छु,” उनले भने, “एक सिजनमा डेढ–दुई लाखको व्यापार गर्छु।”

यसपालि चितवनको बजारमा प्लास्टिकका फूलमाला दुई–तीन सय गोटाका हिसाबले बिक्री–वितरण भइरहँदा सयपत्री फूलमालाको भाउ ४००–५०० पुगेको पाइयो। मखमली फूलमाला हेरी–हेरी १५०–२०० मा बिक्री भइरहेको थियो। पहिल्यैदेखि कृषिप्रधान भनिँदै आएको देशमा अहिले एउटा सयपत्री मालाको मूल्य चार–पाँच सय तिनुपर्ने अवस्थाले पनि उपभोक्ताहरूलाई १००–२०० कै प्लास्टिकमालाले काम चलाउनु पर्ने बाध्यता बन्दै गएको हो। पाँच सय भनिएको एउटा मालामा सयपत्री फूलका जम्मा ३५–४० थुँगा मात्रै थिए। “चार–पाँच सय भन्दिने एउटा मालालाई अब उस्तै मान्छेले त कहाँ लगाउन सक्छ त नि?” लायन्सचोकमा त्यसदिन फूल किन्दा भेटिएकी महिलाले भनिन्।

पछिल्लो जेन–जी आन्दोलनपश्चात् मुलुकमा देखिएको राज्यविहीनता हेर्न अन्त जानैपर्दैन, सडकमै छताछुल्ल छ। जल्नुअघि भरतपुर महानगरपालिकामा सडक क्षेत्रको अतिक्रमित व्यापार हटाएर स्मार्ट सिटीमा राम्रो सिस्टम बनाउन लागिसकिएको थियो। तर उक्त विध्वंसपछि र पछिल्ला चाडबाडले गर्दा पनि हुन सक्छ, सडक व्यापारलाई खुला छोडिँदा बजारमा भद्रगोल बढेको छ। नारायणगढ र भरतपुरका सडकपेटी र बाटोबाटोमा अवैध ठेला र फुटपाथको व्यापार फेरि बाक्लिँदै गएको छ। व्यापारीहरूले सडकमै पसल थाप्दा सवारीजाम र पैदल यात्रीलाई समेत हिँड्न कठिनाइ थपिएको छ। सडकपेटीमा खुला २०–२५ रुपैयाँमा बेच्न राखिएका रंग र भाइमसलाकै गुणस्तर के थियो होला?

टिप्पणीहरू