यो पाली खास कहाँ चुक्यो सेना ?

यो पाली खास कहाँ चुक्यो सेना ?

भदौ २४ गते राति १० बजेपछि परिस्थिति पूर्ण नियन्त्रणमा लिनसक्ने सेनाले केपीको राजीनामा नआउञ्जेल परमाधिपति निवास (शीतलनिवास) र सिंहदरबार जोगाउन माखो मार्न नहुने अवस्था किन सिर्जना भयो होला ? जबकि सिंहदरबार र शीतलनिवासमा सशस्त्र विद्रोह नै भए पनि छेक्नसक्ने फौज तैनाथ छ ।रुक्मांगत कटवाललाई पनि रामबहादुर थापा बादल (तत्कालीन रक्षामन्त्री) ले मन्त्रालयमै अल्मल्याएर कुलबहादुरलाई चिफको जिम्मेवारी सम्हाल्न पठाएका थिए । रुक्मांगत रिसाएर मन्त्रालय छाडी जंगी अड्डा जाँदा कुलबहादुर चिफको अफिसमा उक्लन भ्याइसकेका थिएनन् ।

हुबहु तुलना गर्न नमिले पनि केपीको अल्मल्याई र बाझाबाझ परिरहेको बेला संवेदनशील भौतिक संरचना जल्न नदिन सेनालाई कसले आदेश दिनुपर्दो रहेछ ? यो समय सेनापतिले अपरेशनलाई पूर्णरुपमा कारवाही सञ्चाल गर्ने निर्देशन दिनुपर्ने होइन र ? खाली हात भीडले शीतल निवास र सिंहदरबार जलाउन सक्दैन भन्ने कुराको आमजनमानस र सैनिक अधिकृतहरुले आंकलन गर्न सक्दैनन् र !

चेन अफ कमाण्डमा चल्ने पृतनापति र बाहिनीपतिले किन हातमा दही जमाएर बसे ? उनीहरुलाई पनि चिफकै आदेश चाहिएको थियो ? केटाहरु हो, ढुक्कसँग बानेश्वर जाओ । सेनाले कुनै हालतमा गोली चलाउँदैन भन्ने सन्देश बालेन साह र सुदन गुरुङहरुले कुन आधारमा आफ्नो सर्कलभित्र सर्कुलर गर्न सके ? ५ बजे सेनापतिको भिडियो सन्देश आउने भनेर ९ बजाउनुपर्ने बाध्यता के पर्‍यो होला ?

दिउँसै जलाएर छाडिएका विभिन्न संवेदनशील स्थानहरुमा सेना र नगरपालिकाका दमकलहरु मात्र परिचालन गरिएको भए क्षति ५० प्रतिशत कम हुने थियो । यतातिर किन ध्यान गएन ? राष्ट्रिय सम्पत्तिमा आगजनी र जनता तथा सुरक्षा फौजतर्फ भौतिक क्षति हुनसक्ने परिस्थितिमा सिद्धान्तअनुसार शक्ति प्रयोग गर्न स्थानीय सुरक्षा ऐन २०२८ ले सिडिओलाई नै अधिकार दिएको छ । यसमा किन समन्वय भएन ?

काठमाडौंमा रहेका सैनिक युनिटहरु

सैनिक मुख्यालयअन्तर्गत विभिन्न ३६ वटा कार्यालयमा (१० देखि ५ बजेसम्म काम गर्ने) ७२० जना, मुख्यालय कम्पाउण्डमा रहेका अन्य युनिटमा कार्यरत, गणेश दल गणतर्फ ५५५, नं. १५ बाहिनीतर्फ १२० जना, सिग्नल तालिम शिक्षालयतर्फ १८० जना, तोपखाना ब्यारेकतर्फ ५१० जना, एमइएसतर्फ १३६ जना, स्थपति निर्देशनालयतर्फ १८२ जना, इञ्जिनियरिङ विभागतर्फ २४० जना, सैनिक प्रहरी गणमा २६० जना, आपूर्ति तथा परिवहन गणमा ८५० जना, कारखानातिर २४४ जना, निवेशका २५० जना, त्रिभुवन आर्मी क्लबमा १९० जना, उपत्यका पृतना हेडक्वार्टरमा १८२ जना, नं. १ बाहिनी बालाजुमा १३२ जना, पृतना तालिम शिक्षालयमा १२० जना, फस्र्ट राइफल गणमा १०५० जना, नरसिंह दल गण सिंहदरबारमा १०५० जना, नेपाल क्याभ्लरीमा ११० जना, पुरानो गोरख गणमा १०५०, नं. १ हवाई सुरक्षामा ७२ जना, रणचण्डी गणमा ५५० जना, चन्दननाथ गणमा ८५० जना, भैरव गणमा ८५० जना, शार्दुलजंग गणमा २७० जना, १७ बाहिनीमा १२० जना, १६ बाहिनीमा १२० जना, युद्धकवच गणमा ५५० जना, नं. १ राजदल गणमा ८५०, जगदल गणमा ८५० जना, वीरेन्द्र सैनिक अस्पतालमा २१३ जना, कालीबक्स गणमा ८५० जना, नं.११ बाहिनीमा १२० जना, इञ्जिनियरिङ तालिम शिक्षालयमा १२० जना, जंगी असबाव खानामा १२० जना, चक्रेश्वर गणमा २२० जना, नं. १० बाहिनीमा १२० जना, युद्धभैरव गणमा ८२० जना, प्यारा तालिम शिक्षा गणमा ७४ जना, भैरवनाथ गणमा १०५० जना, सैनिक प्रतिष्ठानमा १२० जना र. वार कलेजमा १२० जना गरी कूल सोह्र हजार नौ सय साठी जना छन् । यीमध्ये ४ हजारलाई मात्रै २४ गते परिचालन गरिएको भए त्यति ठूलो क्षति हुने नै थिएन ।

गणेशराम घिमिरे

(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू