त्यत्रो घटना हुँदा कमाण्डरहरु मोबाइल चलाएर बस्ने ?

त्यत्रो घटना हुँदा कमाण्डरहरु मोबाइल चलाएर बस्ने ?

प्रहरी संगठनमा माधव थापाजस्ता सुरक्षाकर्मीको खडेरी पर्दै गएको उदाहरण हो– २३ र २४ गते भएको प्रदर्शनमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी, सुरक्षाकर्मी ३ जना गरी ७२ जनाले ज्यान गुमाउने परिस्थिति सिर्जना हुनु । यस्ता घटनालाई ठूला नियन्त्रण गर्न माधव थापा संगठनको ‘भर’ थिए । ३० वर्षे जागिर अवधिभर एकाध महिना धादिङ बस्दाबाहेक काठमाडौँ छाड्नु नपरेका सायद एक्ला सुरक्षाकर्मी उनी मात्र होलान् कारण एउटै थियो– उनी भीड नियन्त्रणमा ‘अब्बल’ अफिसर मानिनु । ०३५ सालमा प्रहरीमा भर्ना भएका थापा ०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन, ईराक हत्याकाण्डपछि काठमाडौँमा भएको प्रदर्शन, ऋतिक रोशन काण्डदेखि ०६२/६३ को दोस्रो जनआन्दोलनसम्म काठमाडौँमा मानव सागर उत्रँदा भीड तथा दंगा नियन्त्रणको अग्रमोर्चामा खटिए । लाठीचार्ज गरे, गोली चलाए तर संयम गुमाएनन् । थापाले २२ वर्ष ‘नगर प्रहरी’ र बाँकी ८ वर्ष सशस्त्र प्रहरीमा बिताए । ०६२/६३ को आन्दोलनताका गोंगबु क्षेत्रमा खटिए । धुम्बाराहीस्थित घरको भित्ताभरि उनले आन्दोलनमा गरेको अपरेशनको फोटो सजायँएको छ । ०४६ सालपछि प्रधानमन्त्री भएकामध्ये प्रचण्डबाहेक सबैलाई पक्राउ गरेका छन् उनले । पूर्वराष्ट्रपति विद्या भण्डारीदेखि पहिलो पटक विदेशी दूतलाई समेत समात्ने सुरक्षाकर्मी हुन् उनी । 

० ५९ प्रदर्शनकारी, १० कैदीबन्दी, ३ सुरक्षाकर्मीसहित ७२ जनाको मृत्यु, निजी र सरकारीतर्फ अर्बाैंको भौतिक क्षति हुने गरी भएको दुई दिनको प्रदर्शनलाई कसरी नियाल्नुभएको छ ? 

– प्रधानमन्त्री केपी शर्मा ओलीको अहंका कारण यो स्थिति उत्पन्न भएको हो । गृह मन्त्रालय, सुरक्षा फौज, सिडिओहरूले यो विषयमा राम्रोसँग इन्फरमेसन नलिएको कारण पनि समस्या आएको छ । हुलदंगा र लडाइँमा राज्यपक्षको सबैभन्दा सशक्त हतियार भनेको सूचना हो । अहिलेको घटनामा राज्य संयन्त्रसँग सूचना शून्यको स्थिति रहेको पाइयो । भोलिपल्ट प्रदर्शन हुँदै छ, आज अत्तोपत्तो छैन । भोलिपल्ट को–को र कत्तिको संख्यामा आउँदै छन् भन्ने खबर छैन । हाम्रो पालामा यस्ता हुल दंगा हुनुभन्दा तीन दिन अगाडिदेखि नै तयारी अवस्थामा बस्थ्यौं । पार्टीले गर्न लागेको प्रदर्शन हो भने उपल्ला नेतादेखि तल्ला कार्यकर्तासँग सिधा सम्पर्कमा बस्थ्यौं । राज्यका सुरक्षा संयन्त्रसँग आ–आफ्नै घुमुवा छन् ।

यसका अलावा जासुसहरू पनि छन् । खै, तिनीहरूको सूचनामा पहुँच ? यसअघि राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमातहत हुन्थ्यो । ओलीले अघिल्लो कार्यकालमा यो निकायलाई प्रधानमन्त्री कार्यालयमातहत लगेर राखे । परिणाम के आयो ? जेठ १५ गतेको दुर्गा प्रसाईको प्रदर्शन र जनधनको क्षति अनि अहिलेअवस्था हेर्दा छर्लंग हुन्छ । यसअघि गुप्तचर विभाग गृहमातहत हुँदा प्राप्त सूचनाहरू गृहमन्त्री, र सचिवहरूलाई ब्रिफ हुन्थ्यो । त्यहीअनुसार गृहले सुरक्षा निकायलाई अलर्ट राख्थ्यो । सुरक्षा निकायबीच को– अर्डिनेसन हुन्थ्यो । तर, यसपटक इन्फरमेसन नै नभएपछि कहाँबाट तयारी होस् ! ल्याकअफ इन्फरमेसन र आइजीहरू कमाण्डर सेलेक्सनमा चुके भन्ने लाग्छ । यदि उपत्यकामा खटाइएको कमाण्डर कमजोर छ भने हेडक्वार्टरबाट राम्रो कमाण्डरलाई फिल्डको जिम्मा दिनुपर्छ । यो घटना भएको दिन म नयाँबानेश्वर क्षेत्र घुम्न निस्किएको थिएँ । त्यहाँका कमाण्डरहरू मोबाइलमा अल्झिरहेका थिए ।

० नेपालका चार वटै सुरक्षा संयन्त्र फेल भए भनेर टिप्पणी गरियो भने गलत हुन्छ ? 

– ०३६, ०४६ देखि ०६२/६३ का ठुल्ठूला आन्दोलनमा पनि यति धेरै क्षति भएको थियो । यस्तो घटना नेपालमा कहिल्यै भएको थिएन । सम्भवतः साउथ एशियामै भएको छैन । हाम्रा पालामा कमाण्ड कन्ट्रोल थियो रत्नपार्कमा । तीनवटै सुरक्षा फौजको प्रतिनिधिबीच त्यहाँ बसेर इन्फरमेसन शेयर हुन्थ्यो । केपी ओलीले अघिल्लो दिन राजीनामा दिएको भए यस्तो हुन्नथ्यो । उहाँको अहंले पनि यो घटना भएको हो । न गृहसचिव, न सिडिओ कसैको भूमिका प्रभावकारी देखिएन । ०३६ सालमा नैनबहादुर स्वाँर गृहमन्त्री थिए ।

गस्तीमा आफैं निस्कथे । गृहसचिव वीरेन्द्र शाही र भक्तबहादुर कोइरालाहरू आफैँ लाठ्ठी लिएर फिल्डमा खट्थे । राजाको शासन कालका गृहमन्त्री कमल थापा आफैँ सडकमा थिए । मुख्य विषय त ट्रेनिङ हो । खै, हाम्रो सुरक्षा संयन्त्रलाई दंगासम्बन्धी तालिम ? काठमाडौं, विराटनगर, जनकपुरलगायत  ठुल्ठूला शहरमा तालिम दिनु पर्दैन ? अहिले मूर्खतापूर्ण ढङ्गबाट गोली चलाइएको छ । टियर ग्यास, पानीको फोहोरा, लाठी चार्ज, त्यसपछि बल्ल रबर बुलेट र छर्रा हान्ने हो । गोली जहिल्यै कमाण्डरले मात्र हान्नुपर्छ । हाम्रो पालामा मोबाइल प्रतिबन्ध हुन्थ्यो । तर, अहिले कोही सिपाही गोली चलाइरहेको छ, कोही मोबाइलमा रमाइहरेको छ । त्यो घटनाक्रम मैले तत्कालै आइजी राजु अर्याललाई खबर गरेका थिए । ऊ निकै सिन्सियर प्रहरी हो । यो घटनामा कसरी चुके, उनै जानुन् ।

० यस्ता क्षति दुई दिनमै के कारणले भयो भन्ने लाग्छ ? 

– हाम्रो समयमा अच्युतकृष्ण खरेल, रामकाजी बान्तवा, ध्रुवबहादुर प्रधान, राजेन्द्रबहादुर सिंह, भुवन भट्टहरू थिए । तिनैका बलमा कमाण्डरको बलमा म तीस वर्ष काठमाडौंमा टिकेको हुँ । त्यस्ता अफिसर अब न सशस्त्रमा न नेपाल प्रहरीमा जन्मिन्छन् । ०६२/६३ को आन्दोलनमा एआइजीकी श्रीमतीलाई जलाउने योजना थियो । म गोङ्गबुमा खटिएको थिएँ । ५०/५५ जना प्रदर्शनकारी घाइते हुँदा पनि जनतातर्फ एक जना पनि मरेका थिएनन् । अहिले त सिपाही सुतेर, उत्तानो परेर थ्रिनट थ्रि चलाइरहेको छ ।

गोंगबुमा बरु मेरा तीन जना सिपाहीको हात फ्याक्चर भयो, टाउको फुट्यो तर मैले गोली हान्न दिइन । अहिलेका आइजी राजु अर्याल र सर्वेन्द्र खनालहरू मेरा ट्वाइसी थिए । मोर्चामा नेपाल प्रहरी अगाडि र सशस्त्र पछाडि हुन्छ । अहिले उनीहरुबीच को–अर्डिनेसन भएनजस्तो लाग्छ । ०६२/६३ मा सशस्त्रबाट म थिएँ, नेपाल प्रहरीबाट यादव अधिकारी । हामीबीच राम्रो समन्वय थियो । मैले ३० वर्ष बिताएको प्रहरी संगठन आज यसरी चुक्छ भनेर कल्पना पनि गरेको थिइन । 

० सैनिक मुख्यालयबाट सय मीटर नजिकका सिंहदरबार र सर्वाेच्च अदालत जल्दा सेना किन किन मूकदर्शक भएको होला ? 

– हाम्रो पालामा आर्मी हेडक्वार्टरमा मिटिङ हुन्थ्यो । सिंहदरबारभित्रै नेपाली सेनाका सयौँ सुरक्षाकर्मी छन् । शीतल निवास उनीहरूकै अण्डरमा हुन्छन् तर ती सबै संरचना ध्वस्त भए । 

० भदौ २३/२४ को घटनामा सुरक्षा संयन्त्रको मात्र कमजोरी हो वा नियोजित ? 

– केही न केही ल्याप्स भएको छ । भिडियो क्लिप हेर्दा बानेश्वरस्थित संसद भवन र सिंहदरबार आगजनी गर्नेहरूको एउटा समूहले हिन्दीमा बोलिरहेको, सिंहदरबारभित्रै भारतीय आधारकार्ड भेटिएको, कवाडीको टोली बढी परिचालित भएको देखिँदा कहीँ न कहीँ शंका उठ्छ नै !

० सिंहदरबार खरानी भएपछि मात्र बालेनको दमकल खरानीमा पानी हाल्न सिंहदरबार छिरेको देखियो नि ? 

–कहीँ न कहीँ षड्यन्त्र छ । काठमाडौं महानगरपालिकाले चाहेको भए जलिरहेको सिंहदरबारको आगो केही हदसम्म नियन्त्रण गर्न सक्थ्यो । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्छ । हृदयदेखि नै अनुसन्धान गर्न चाहने हो भने सात दिनमै दूधको दूध पानीको पानी निकाल्न सकिन्छ । ०५२ सालको बमकाण्डमा हामीले १७ दिनमै भएजति अभियुक्त समाएर बुझाएका थियौं । 

० खरानी भएका संरचना अब कसरी उठ्लान् ? 

– कम्तीमा ४० वर्ष लाग्छ । अहिलेको सिंहदरबार त केही गरे पनि पाउनै सक्नुहुन्न । सुनिन्छ, सिंहदरबार कालो मासको दाल र माटो मिसाएर बनाइएको थियो । चीनले बनाइदिएको संसद भवन ध्वस्त बनाइयो । सेना, प्रहरी र सशस्त्रले यी संरचना जोगाउन सकेनन् । यी तीन वटै सुरक्षा निकायले ठूलो गल्ती गरेका छन् । तीन वटा चिफले छातीमा हात राखेर गल्ती त महसुस गर्नुपर्छ । मर्ने बेलामा समेत यी पछुताउने छन् ।

० ऊ बेलाको सुरक्षा संयन्त्र र अहिलेको सुरक्षा संयन्त्रबीच कसरी तुलना गर्नुहुन्छ ? 

– आकाश जमिनको अन्तर छ । हामी गृहमन्त्री, गृहसचिव चिन्दैनथ्यौँ । त्यतिबेला अहिलेको जस्तो बढुवामा चलखेल र अस्वस्थ प्रतिस्पर्धा हुँदैनथ्यो । बढुवा र सरुवा पारदर्शी हुन्थ्यो, आइजिपी सर्वेसर्वा हुन्थे । अहिले विचलन आयो । आठौँ नम्बरका भानु देउवाको ज्वाइँलाई जसरी पनि नतानी भएन । यस्ता विकृतिकै कारण यो घटना भएको हो । जो नेताको घर धायो । उसैले राम्रो र आकर्षक ठाउँ पाउने । अहिले त उम्रँदै तीन पात भनेझैं जागिर खान थालेको वर्ष दिन नपुग्दै मन्त्री, सचिवको चाकडीमा लाग्छन् । राजु अर्याल नेतृत्वमा आएपछि सशस्त्रमा धेरै सुधार भएको छ । सहवीर थापा, राजु र पुष्पराम केसी, किशोर लामाबाहेक सशस्त्रमा सबै पैसा ख्वाएर आइजी भएका हुन् । राजु केहीमा पनि चुकेको छैन । यो घटनामा कसरी चुक्यो ! उसले त सदैव राम्रा अफिसरलाई सम्पर्क गरिराख्छ । 

० तपाईं विवाहको दिनसमेत लाठीचार्ज गर्न निस्कनुभएको सुनिन्छ । के थियो घटनाक्रम ? 

– विवाहका लागि जम्मा दुई घण्टा समय पाएको हुँ मैले । अच्युतकृष्ण खरेल काठमाडौँका प्रमुख थिए । विवाहका लागि एक दिन छुट्टी बस्न प्रस्ताव गरे । तर, विवाहको दिन भने, ‘पर्ख न पर्ख ।’मेरो नेवार परिवारसँग विवाह हुँदै थियो । न्यूरोडमा दिनभर लाठीचार्ज भयो । साँझ चार–पाँच जना जन्ती लिएर ठमेलस्थित बेहुलीको घर गएँ । जेठो छोरो जन्मिँदा २०४२ मा बमकाण्डको अप्रेसनमा खटिएँ । पहिलो सन्तान जन्मिएको दुई दिनपछि बल्ल पाटन अस्पताल पुगेँ । कान्छो छोरा जन्मँदा २०४६ मा पनि महाराजगञ्जको अप्रेसनमा थिएँ । पंकज श्रेष्ठ इन्स्पेक्टर थिए । आन्दोलनकारीले श्रेष्ठलाई ढुंगाले हानेर बेहोस बनाए, वृत्त जलाउन खोजियो । जुनसुकै आन्दोलनमा निशानामा पर्ने ठाउँ हो महाराजगञ्ज । मेरो नेतृत्वको टिम पुगेर त्यहाँ लाठीचार्ज गरी प्रदर्शनकारीलाई भगाइयो । पंकज श्रेष्ठलाई अस्पताल लगियो, छोरो जन्मिएको सात दिनपछि डेरामा पुगेँ ।

० यहाँले आफ्नो जागिरे जीवनमा ४६ साल यताका सबै प्रधानमन्त्री (प्रचण्डबाहेक) लाई समात्दा सत्ता र शक्तिसँग डर लागेन ? 

– लाउडा प्रकरणमा गिरिजाप्रसाद कोइरालालाई छानबिन समितिले बयानका लागि बोलाएको थियो । गिरिजा जान मानेनन् । कांग्रेसले भद्रकालीमा प्रदर्शन थाल्यो । माथिबाट आदेश आयो, गिरिजालाई जसरी पनि आरएनएसीमा लैजानु । त्यतिखेर रत्नसमशेर आइजी थिए । मैले कोइरालालाई भद्रकालीबाट पक्राउ गरेर समितिमा बुझाइदिएँ । कोइराला, केपी शर्मा ओलीहरूलाई धेरै पटक समातेको छु । १८ केजी आरडिएक्स इण्डिया पठाउन लागेको बेला पाकिस्तानको दूतलाई समाइएको थियो । त्यो बम दिल्ली पुगेको भए कम्तीमा १० हजार मान्छे मर्ने थिए । झलनाथ खनाल, बाबुराम भट्टराईलाई आन्दोलनकै दौरान समाइएको हो । केपी ओली तीन चार पटक पक्राउ गरे । सबै पार्टीप्रति मसँग विश्वास थियो । दलका नेताहरूलाई के विश्वास थियो भने माधव थापाले अत्याचार गर्दैन । 

० तपार्ईं पत्रकारितामा पहिलो ब्याचको विद्यार्थी, सुरक्षा संयन्त्रतिरचाहिँ कसरी युटर्न हुनुभयो ? 

– मेरो जिजुबुवाहरूले प्रथम विश्वयुद्ध लड्नुभएको । हाम्रो पारिवारिक सर्कल नै सुरक्षा निकायमा छ । पत्रकारिता नयाँ विषय भएको हुँदा साथीहरूको लहैलहैमा लागियो । हाम्रो ब्याचका शारदा त्रिताल सचिव भएका थिए । ललिता निवास जग्गा प्रकरण उत्खनन गर्ने उनै हुन् । पुनम राई जर्मनतिर छिन् । गिरिवीर तण्डुकारले प्राध्यापन पेशाबाट अवकाश पाए । अजय राणा राइजिङ नेपालको चिफ नै भए । 

० तपार्ईं तालिम लिनका लागि विदेश उड्नै लाग्दा पनि तीन÷चार पटक एयरपोर्टबाट फिर्ता हुनुभयो रे ! 

– गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री एमालेको आन्दोलन शुरु हुँदै थियो । गिरिजाले आइजीलाई भनेछन्, माधव थापा विदेश जान लागेको छ रे ! त्यसलाई जसरी पनि रोक्नुपर्‍यो । एक पटक होइन चार पटक यसैगरी फिर्ता हुनुपर्‍यो । कम्बोडिया, जापान, लण्डन र अमेरिका तालिमका लागि निस्कन लाग्दा बीचबाटै फर्किनुपरेको हो । चीन जान नयाँ दौरा सुरुवाल सिलाएँ । त्यो भ्रमण पनि रद्द भयो । त्यो दौरा सुरुवाल आजसम्म लगाएको छैन ।

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू