ओलीको अनुहार देखाउँदै चुनावमा जान नसकिने ठहर
गत साताको विध्वंशकारी प्रदर्शनपछि राजनीतिक दलहरुमाथि पुनर्गठनको दबाब बढेको छ । तत्कालीन सत्तागठबन्धनमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र यस्तो माग चर्को देखिन्छ ।
यतिबेला उपत्यकामै रहेका एमालेका दोस्रो तह र केन्द्रीय स्तरका नेताहरुले केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा नदिँदासम्म गृह जिल्ला नफर्किने अडान लिएका छन् । आगामी फागुन २१ गते चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब ओलीकै नाम र अनुहार देखाएर प्रचार गर्न नसकिने नेताहरुको धारणा छ ।
पार्टीका एक केन्द्रीय सदस्यले ओलीलाई नै अध्यक्ष मानेर जिल्ला फर्किने वातावरण नभएको जनआस्थालाई बताए । ओलीले निकास नदिँदासम्म जिल्ला नफर्किने उनको अडान छ । ‘यत्रो सबै भइसकेपछि ओली कमरेडले राजीनामा दिएर पार्टीलाई निकास दिनुपर्छ’, ती केन्द्रीय सदस्य भन्छन्, ‘नत्र हामी जिल्ला फर्किन्नौँ, ओली कमरेडकै अनुहार देखाएर चुनावको प्रचार गर्ने हो भने पार्टी झन् सखाप हुनेवाला छ।’
पार्टीलाई संकटबाट मुक्त गर्न पनि ओलीले अध्यक्षबाट राजीनामा दिनैपर्ने अवस्था बन्दै गएको हो । पार्टी अर्का केन्द्रीय सदस्यले भने ओलीसहित महासचिव शंकर पोखरेललगायत अन्य केही नेतालाई पार्टीले बोक्न नसक्ने धारणा राखेका छन् । ‘संयमता अपनाएर यो जटिल र विषम परिस्थितिलाई दलहरुले लयमा ल्याउनुपर्ने छ’, उनी भन्छन्, ‘तर महासचिव कमरेड र महेश कमरेडहरुले पछिल्लो घटनालाई हल्का रुपमा लिएर जुन अभिव्यक्ति दिइरहनुभएको छ, त्यसले पार्टीलाई नै थप हानी गरिरहेको छ।’
एमालेले भोलि पार्टी मुख्यालय च्यासलमा संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गर्दैछ । कतिपयले अध्यक्ष केपी शर्मा भोलि सोही कार्यक्रममा सार्वजनिक हुने बताएका छन् । अघिल्लो मंगलबारको आगजनी र विध्वंशपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको हेलिकोप्टरमा बेपत्ता भएपछि उहाँबारे केही जानकारी दिइएको छैन ।
सैनिक स्रोतले सुरक्षाको कारण ओली दम्पतिलाई सेनाको शिवपुरीस्थित स्टाफ कलेज परिसरमा राखिएको बताएको छ ।
टिप्पणीहरू