सिके राउतको राजीनामा मागेका नेताहरु आफैँ पार्टी छाड्न बाध्य

सिके राउतको राजीनामा मागेका नेताहरु आफैँ पार्टी छाड्न बाध्य

नेतृत्वको राजीनामा माग्दै आएका जनमत पार्टीका नेताहरु स्वयंले पदसमेत छाड्दै पार्टी परित्याग गरेका छन्। आज वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवसहित आधा दर्जन नेताले संयुक्त रूपमा राजीनामा दिएका हुन् ।

उनीहरूले अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए। तर, नेतृत्वले उक्त मागलाई अस्वीकार गर्दै आफ्नो आधिकारिक फेसबुकमार्फत अंहकारपूर्ण प्रतिक्रिया सार्वजनिक गरेपछि नेताहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

राजीनामा पत्रमा भनिएको छ, “नेपालको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले माग गरेको राजीनामा पत्रलाई तपाईँले अपहेलना गर्नुभयो। जेन्जी पुस्ताले बगाएको रगतको अपमान गर्दै उल्टै अंहकारको भाषामा धारणा सार्वजनिक गर्नुभयो। त्यसैले आजैदेखि हामी साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा गर्दछौं।”

यसबाहेक, उनीहरूले कुनै प्रकारको स्वार्थमा आधारित राजनीतिमा नजाने स्पष्ट पारेका छन्। सिके र जयकान्त दाजुभाइ हुन्, जसलाई लक्षित गर्दै खान, यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले संयुक्त पत्र बुझाएका थिए।
 

टिप्पणीहरू