असोज ३ गते एमाले मुख्यालयमा औपचारिक कार्यक्रम
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ललितपुरको च्यासलमा जलेर ध्वस्त मुख्यालयको संरचना अवलोकनपछि पार्टीको दृष्टिकोण सार्वजनिक गरेका छन् । त्यहाँ आयोजित भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टीले युवाहरूको असन्तुष्टि र आकांक्षालाई सम्बोधन गर्न २१ बुँदे कार्ययोजना तयार पारेको तर ती योजनाहरू लागू गर्नुअघि नै घटना घटाइएकोमा दुःख व्यक्त गरेका छन् ।
पोखरेलले जोड दिएका छन्, ‘युवाहरूले आवेगमा सडकमा भीड जम्मा गर्न सक्छन्, तर दीर्घकालीन परिवर्तनको लागि विवेक, संगठन र वैकल्पिक संरचना आवश्यक छ । हामीले युवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने तयारी गरिसकेका थियौं ।’
उनले जेन–जी आन्दोलनमा राजनीतिक दलका नेता, निजी भवन र शताब्दीयौ पुराना सम्पदाहरू जस्तै सिंहदरबार र शीतल निवासमा क्षति पुगेको उल्लेख गरे । ‘नेपाल प्रहरीका अधिकांश संरचनाहरू ध्वस्त पारिएका छन्। स्थानीय तहका कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ । भाटभटेनी सुपरमार्केटलगायत आधुनिक व्यवसायमाथि भएको हमला अत्यन्त दुःखद छ,’ उनले भने ।
सरकारलाई दोषी पहिचान गरी दण्डित गर्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा पहल गर्न आग्रह गरेका छन् । पोखरेलले पार्टीले राज्य संरचनासँग संयोजन गरेर स्वयंसेवी रूपमा सहयोग गर्ने योजना बनाएको जानकारी दिए।
पोखरेलको निचोड छ, ‘नेकपा एमाले मुलुकको विकास, समृद्धि र सुशासन कायम राख्न सक्षम शक्ति हो। हामी फेरि उठ्नेछौं, अझ एकताबद्ध भएर जनताको भावना सम्बोधन गर्नेछौं । असोज ३ गते संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिनेछ र सम्पूर्ण कमरेडलाई उपस्थित हुन अनुरोध गर्दछौं ।’

टिप्पणीहरू