नयाँ गृहमन्त्रीको भनाइ-नयाँ पुस्ताको सोचअनुसार अगाडि बढ्ने हो

नयाँ गृहमन्त्रीको भनाइ-नयाँ पुस्ताको सोचअनुसार अगाडि बढ्ने हो

भर्खरै पदभार ग्रहण गर्नुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको सोचअनुसार अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सुरक्षा निकायका प्रमुखहरुलाई अगाडि राखेर उहाँले पुरानो पुस्ताको सोचले नभई नयाँ पुस्ताको सोच अवलम्बन गर्नुपर्ने जिकिर गर्नुभएको हो । 

त्यसैगरी, उहाँले सडक अनुशासन पालनामा जोड दिनुभएको छ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका क्रममा कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको गाडीले हरिसिद्धिस्थित ११ वर्षीया बालिकालाई ठक्कर दिएको घटनाप्रति इंगित गर्दै उहाँले सडक अनुशासन नमान्नेलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । 

‘मन्त्रीको गाडीले लेन अनुशासन नमान्ने, साइरनको दुरुपयोग गर्ने गरेका छन् । यो तत्काल नियन्त्रण हुन आवश्यक छ । सडक अनुशासन नमान्ने जो कोहीलाई कारबाही हुनुपर्छ’,उहाँले भन्नुभयो । उहाँले आन्दोलनको क्रममा बल प्रयोग गर्दा ध्यान दिन सुरक्षाकर्मीहरुलाई आग्रह गर्नुभएको छ । 

यता, गृहसचिव गोकर्णमणि दवाडीले हतियार लुटिएको विषयमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘हतियारको चुनौतीहरु छन् । यसलाई कसरी नियन्त्रण गर्ने होला ?’ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार निशानामा परेको थियो ।

सिंहदरबारभित्रै रहेको गृहमा पनि आगजनी भएकोमा योजना शाखा, विपद् व्यवस्थापन शाखा, राहत शाखा, गुनासो शाखा, शान्ति सुरक्षा शाखा जोगिएको छ । कर्मचारी प्रशासन शाखा, स्थानीय प्रशासन शाखा, नागरिकता शाखामा आंशिक क्षति पुगेको छ ।

टिप्पणीहरू