सैनिक ब्यारेकमा अकस्मात नेताहरुको मोबाइल किन स्विच अफ ?
आन्दोलनको बलमा प्रधानमन्त्री 'अपदस्थ' भएपछि यतिबेला मुलुकमा राजनीतिक तथा संवैधानिक संकट गहिरिएको छ । संविधानभन्दा बाहिरबाट नयाँ सरकार गठनको तयारी भैरहेको छ । यसले मुलुकलाई पार्ने दीर्घकालिन असर कस्तो होला आम चासो र चिन्ता व्याप्त छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको प्रयास एकातिर भैरहँदा सुरक्षा व्यवस्थाको नेतृत्व लिँदै नेपाली सेना सडकमा ओर्लिएको छ । संकटकालको झल्को दिनेगरी सडकमा सैनिक गस्ती व्यापक पारिएको छ । देशले यस्तो विषम परिस्थितिको सामना गरिरहेका बेला हिजो साँझ एकाएक सैनिक 'कू' मार्फत राजतन्त्र फर्काउन लागेको व्यापक हल्ला चल्यो ।
विश्वासिलो सूचनाबिनै सामाजिक सञ्जालमा चलेको यस्तो हल्लाले क्षणभरमा करोडौँ मानिसको मथिङ्गल हल्लाइदियो । स्वार्थ समूहहरू आ-आफ्नो रुचिअनुसार सञ्जाल रंग्याउन थाले । जसका कारण ठूलै प्रलय हुन लागेको हो कि भन्ने त्रासका कारण आममानिस रातभर सुत्न सकेनन् । साँझ ६ बजेदेखि राति १ बजेसम्म अन्यौलग्रस्त अवस्था रहिरह्यो ।
नेपाली कांग्रेस,एमाले,नेकपा माओवादी केन्द्र लगायत प्रमुख राजनीतिक दलका केही युवा नेताका फेसबुक स्टाटसले पनि थप आशंका बढाइदियो । सैनिक सुरक्षामा रहेका शीर्ष नेतालाई अघोषित नजरबन्दमा राखेर सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी छिराउन लागेको दाबी गर्दै कतिपयले लोकतन्त्रको अर्को लडाईका लागि तयार रहन कार्यकर्तालाई आह्वानसमेत गर्न भ्याइसकेका थिए ।
केपी ओलीले आफू शिवपुरीमा रहेको भन्दै लोकेशन खुलाएर सार्वजनिक गरेको वक्तव्यले शीर्ष नेतामाथि अझै चुनौती रहेको विश्लेषण सेनाको छ । त्यसकारण लोकेसन आउट नहोस् भन्ने हिसाबले आपसी सल्लाहमै मोबाइल अफ गरिएको जनआस्थाको सम्पर्कमा आएका एक शीर्ष नेताले बताए ।
यता,पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिका शाहले नै आफ्नो फेसबुक पेजबाट सनसनीपूर्ण सूचना सार्वजनिक गरेकी थिइन् । कतिपयले फेक भनेको उक्त पेजमा 'आज मध्यरातसम्म ठूलै निर्णय आउनसक्ला' लेखिएको थियो र त्यसलाई राजावादीहरूमार्फत सञ्जालमा भाइरल पारिएको थियो ।
गत चैत १५ गते दुर्गा प्रसाईंको हिंसात्मक प्रदर्शनमा बितण्डा मच्चाएका सन्तोष राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रबाट सुशीला कार्कीको शपथ गराउने तयारी भैरहेको हल्ला चलाएका थिए । नारायणहिटीमा सेनाको बुमर लगिएको र संग्रहालयको बोर्ड हटाइएको सूचना पनि छ्यापछ्याप्ती पारिएको थियो ।
यसरी सञ्जाल तातिरहँदा फिल्डको अवस्थाले पनि थप शंका जन्माइदियो । जस्तो,सेनाले हिजो दिउँसैदेखि काठमाडौँमा सुरक्षा तैनाथी बढाएको थियो । माओवादी युद्धकालमा जस्तै सडकमा फौजको संख्या बाक्लो थियो भने चेकजाँच कडा पारिएको थियो । बख्तरबन्द युएन मिसनका गाडी लस्कर लागेर रातारात काठमाडौँ झिकाइएको थियो ।
अर्कोतिर,अचानक र एकैचोटि सैनिक सुरक्षा घेरामा रहेका प्रधानमन्त्री र शीर्ष नेताको फोन अफ भएको थियो । तर, यो सबै अनुमानका भरमा गरिएको भ्रमपूर्ण प्रचार रहेछ भन्ने कुरा राति नै पुष्टि भयो । राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमै रहेको र माओवादी अध्यक्ष प्रचण्डसहित कानुनविदसँग परामर्श लिएको तथ्य बाहिर आयो ।
सेनाले ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन लागेको भनेर हल्ला कसले चलायो ? उच्च सुरक्षा स्रोतको दावीअनुसार राजावादीहरूले नै योजनावद्ध यस्तो प्रचार गराएका हुन् । पूर्वयुवराज पारसपुत्री पूर्णिकाको नामबाट सन्चालित फेसबुक स्टाटसले पनि धेरैलाई सोच्न बाध्य बनाइदियो ।
वास्तवमा सेनाले सडकमा गस्ती बढाउनु,बख्तरबन्द गाडी काठमाडौँ ल्याइनु र शीर्ष नेताको मोबाइल स्विचअफ गरिनुको कारण भने अर्कै थियो । उच्च सुरक्षा स्रोतका अनुसार अन्तरिम सरकार गठनमा भैरहेको ढिलाई र त्यसले उत्पन्न गर्नसक्ने सभावित परिस्थितिको पूर्वानुमान गर्दै सेनाले सडकमा तैनाथी बढाएको हो । संयुक्त राष्ट्रसंघीय मिशनमा गएको सेनाको पल्टन बदली हुँदा फर्काइएका बख्तरबन्द गाडी पहिले नै कलकतामा आएर रोकिएका थिए,संयोगवश हिजो पर्न गएको मात्र हो ।
बेलुका आठ बजेपछि शीर्ष नेताको मोबाइल स्विचअफ गर्नुको कारण चाहिँ उनीहरुमाथि रहेको सम्भावित सुरक्षा चुनौतीलाई हेरेर हो । एकातिर हिजोमात्रै जेनजी युवाहरूले फेरि आक्रमण गर्ने धम्की दिएको,अर्कोतिर केपी ओलीले आफू शिवपुरीमा रहेको भन्दै लोकेशन खुलाएर सार्वजनिक गरेको वक्तव्यले शीर्ष नेतामाथि अझै चुनौती रहेको विश्लेषण सेनाको छ । त्यसकारण लोकेसन आउट नहोस् भन्ने हिसाबले आपसी सल्लाहमै मोबाइल अफ गरिएको जनआस्थाको सम्पर्कमा आएका एक शीर्ष नेताले बताए । केही पदाधिकारी र नेताले हतारमा मोबाइलको चार्जर लैजान बिर्सेकाले पनि मोबाइल अफ भएको बताइएको छ ।
टिप्पणीहरू