पुरुषको पीडाचाहिँ कसले देख्ने नि ?
नेपाली समाजमा दशकौंदेखि पुरुषलाई पीडक र महिलालाई पीडितको नजरबाट हेरिन्छ । पुरुषप्रधान मुलुक भएकाले त्यसरी हेर्नु स्वाभाविक पनि हो । जसरी सबै महिला पीडित मात्रै हुँदैनन्, त्यसैगरी सबै पुरुष पीडक हुँदैनन् । पुरुष पनि घरेलु हिंसाको पीडामा छन् । श्रीमतीको अत्याचार सहन नसकेर अदालतको चक्कर काटिरहेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ का युवराज खनालको व्यथा त्यस्तै छ । श्रीमतीले दिएको मानसिक पीडाका कारण सम्बन्धविच्छेद माग्दै अदालत धाइरहेका छन् । वि.सं. २०५२ सालमा अनिषा आचार्यसँग विवाह भयो । खेतीकिसानीबाट घर राम्रै चलिरहेको थियो । पाँच छोरीमध्ये तीन छोरीको विवाह गरे । हाल नातिनातिनासमेत भइसकेका छन् ।
दुई छोरी पढ्दै थिए । तर, जब अनिषा पार्टीमा लागिन्, त्यसपछि घरपरिवार तहसनहस बन्यो । २०७२ सालमा बाल सेवा समाजले नगरपालिकामा धुँवारहित चुल्हो वितरण कार्यक्रम आयोजना गर्यो । निवर्तमान पालिका मेयर दिपनारायण रिजालले आयोजना गरेको कार्यक्रममा उनी पनि सहभागी भएकी थिइन् । २०७३ सालको कम्युनिष्ट पार्टीभित्र निर्वाचनमा महिला सदस्यको रूपमा उठाइयो । त्यसपछि उनी पार्टीको काम भन्दै घर बाहिर–बाहिर बस्न थालिन् ।
कहिलेकाहीँ आइहाले पनि एकछिन बसेर हिँडिहाल्ने उनले घरपरिवार चटक्कै बिर्सिन् । २०७५ सालदेखि घरमा पाइला टेकेकी छैनन् । यसबीच श्रीमान्विरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् । पछि आफैंले फिर्ता लिइन् र स्थानीय जगन्नाथ आचार्यको घरमा डेरा बसिन् । त्यहाँबाट सरेर रिजाल थरका व्यक्तिको घरमा बस्न पुगिन् । उनको आचरणले ९० वर्षका वृद्ध बुवाआमालाई एकदमै तनाव भएको युवराज गुनासो पोख्छन् ।
‘बुवाले कान सुन्नुहुन्न, आमाले अलिअलि सुन्नुहुन्छ । महिलालाई प्रोत्साहन गर्नुपर्छ भनेर पार्टीमा लाग्न दिएँ । जहाँ गए पनि केही भनिन । उनी विस्तारै घर आउन छाडिन् । २०७५ सालदेखि घरमा बसेकी छैनन्’, उनले भने । दुइटी छोरी पढाउनका लागि मासिक दुई हजार रूपैयाँ भाडा तिरेर संगीता बस्नेतको घरमा डेरा राखेका थिए । अनिषाले ती छोरीलाई फकाईफुलाई आफूसँगै लगेको उनको भनाइ छ । श्रीमतीले अति नै गरेपछि अंशसहित सम्बन्धविच्छेदको मुद्दा दायर गरे । तर, सम्बन्धविच्छेद गर्न मानिनन् ।
अनिषाले बहुविवाहको मुद्दा दायर गरेपछि उनी केही समय जेल बसे । भन्छन्, ‘मैले दोस्रो विवाह गरेको छैन । घरमा नातेदार आयो भने पनि त्यसको श्रीमती आई भन्छिन् । उनले बहुविवाहको मुद्दा हालेपछि एकाध दिन जेलमा पनि बस्नुपर्यो । तर, त्यस्तो केही नभेटेपछि मलाई छोडियो ।’ आफ्नो बारेमा श्रीमतीले गाउँभर जथाभावी बोल्दै हिँडेको उनको भनाइ छ । छोरा नभएर घरमा बस्न नदिएकोलगायतको झुठ्ठो आरोप लगाएर चरित्रहत्या गरिरहेको युवराजले बताए । केही दिनअघि पुनः अंशसहितको सम्बन्धविच्छेद मुद्दा दायर गरेका छन् ।
बलात्कारको म्यासेज
उनले छोरीलाई दिएको नम्बरबाट केही दिनअघि जिल्लाका पत्रकारलाई एउटा म्यासेज गयो । जसमा लेखिएको छ, ‘कता हुनुहुन्छ ! तपाईंलाई खबर आयो कि ! पूर्वमेयर दिपनारायण रिजाल फटाहाले बलात्कार गरेछ । प्रमाण छ, मान्छे बिरामी छिन् । पत्रकार महोदय, यस फटाहालाई के गरौं, अब दिलिपजीलगायत सबैलाई जानकारी गराएका छौं ।’
सो म्यासेज पठाएको नम्बर युवराजको हो । जुन उनले दुई वर्षअघि छोरी करिश्मालाई दिएका थिए । स्थानीयले आफ्नो नम्बरबाट पत्रकारहरूलाई म्यासेज गएको बताएपछि उनी झसंग भए । आफ्नो नम्बर दुरूपयोग गर्नेमाथि हदैसम्म कारबाहीको माग गर्दै युवराजले भदौ ११ गते जिल्ला प्रहरी कार्यालय, खोटाङमा जाहेरी दिएका छन् । कोमाथि बलात्कार भएको हो ? खोजी गर्न आग्रह गरेका छन् । हाल उक्त नम्बर स्वीच अफ छ ।
वडा नम्बर–६ का रिजाल सामाजिक संस्थामा काम गर्थें । एमालेबाट २०७४ सालमा मेयर निर्वाचित उनीमाथि एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । तर, पछि त्यसलाई गुमसुम पारियो । उपमेयरसँगको चक्करका विषयमा पनि विभिन्न चर्चा चलेकै हो । दिपनारायणसँग उक्त म्यासेजको विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
मैले म्यासेज गरेको छैनः अनिषा
अनिषाले आफूले कसैलाई पनि म्यासेज नगरेको बताइन् । आफू बिरामी रहेको जानकारी दिँदै उनले उक्त नम्बर श्रीमान् युवराजसँगै रहेको दावी गरिन् । छोरा दिन नसकेकाले श्रीमान्ले घरबाट निकालेको उनको आरोप छ । ‘मैले छोरा दिन सकिन, त्यसैले उहाँले मलाई घरबाट निकाल्नुभयो । मलाई सधैँ अपहेलना गर्नुभयो । उहाँसँग बस्न नसकेपछि सम्बन्धविच्छेद मागेकी हुँ’, उनले भनिन् । श्रीमानले दोस्रो विवाह पनि गरिसकेको उनको ठोकुवा छ ।
टिप्पणीहरू