विद्याजीको पार्टी सदस्यताबारे कांग्रेसले निर्णय गर्ने हो र !
एमालेभित्र सादगी नेतामध्येमा गनिने युवराज ज्ञवाली हिजोआज पार्टी सञ्चालन प्रक्रियाप्रति उति खुस सुनिँदैनन् । विधान अधिवेशनमा फरक मत राख्ने तयारी गरिरहेका उनले संविधानसभा सदस्य, राष्ट्रियसभामा विपक्षी दलको नेता र मन्त्रीको अनुभव लिइसकेका छन् । भन्छन्, ‘सके राम्रो काम गर्ने, सकिएन भने नराम्रोचाहिँ नगर्ने । यसरी नै बिदा लिने ।’
– हरि गजुरेल
० हिजो १० भाइतिर खुल्नुभएको भनेर अहिले पार्टीबाट कत्तिको छोइछिटो भोगिरहनुभएको छ ?
– हिजो जबजको विकास भइनसकेको स्थितिमा समेत पार्टीभित्र व्यापक छलफल चलाउने र भिन्न मत राख्ने परिपाटी थियो । जबजको मान्यतामध्ये एक हो– भिन्न मतप्रतिको सहिष्णुता÷सम्मान । पार्टीभित्र कहिलेकाहीँ सही विचार अल्पमतमा पर्न सक्छन् । यसरी देखा पर्ने फरक मतलाई आफूखुशी सार्वजनिक रूपमा प्रसारण गर्नुलाई कम्युनिष्ट पार्टीमा उचित मानिँदैन । अन्य नेता–कार्यकर्तामाथि जुन प्रकारको व्यवहार भइरहेको छ, त्यही व्यवहार ममाथि पनि हुने हो । कसको भित्री मनमा के छ त्यो त कसरी जान्नु र ?
फरक मत हुनेबित्तिकै पार्टी फुटाउनुपर्छ भन्ने मान्यताको विरोधी हुँ । महाकाली सन्धि गर्नुहुन्न, यसमा नेपाल ठगिएको छ भनेकै हो । महाकाली सन्धिमा हतार नगरौँ भन्ने मेरो प्रष्ट मत थियो । उक्त सन्धिकै कारण पार्टी विभाजनमा गयो । म त्यसबेला पनि विभाजनको विपक्षमा थिएँ ।
संसद विघटन गर्नुहुन्न भन्ने माधव नेपालहरूसँग मेरो मत मिल्यो तर विभाजनतिर गइनँ । अहिले विधान महाधिवेशनका सन्दर्भमा नयाँ समस्या देखापरेको छ । दुई कार्यकाल र ७० वर्ष उमेर हदको विषय फेरि छलफलको एजेण्डा बनेको छ । यद्यपि, यो विषयलाई हामीले नवौँ महाधिवेशनमै टुंग्याएका थियौँ । नवौं महाधिवेशनमा उमेर हदको व्यवस्था राखिएको थिएन । त्यसरी राख्ने पक्षमा केपी शर्मा ओलीसमेत हुनुहुन्थ्यो ।
० पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश हुन नदिने निर्णयमा यहाँले नोट अफ डिसेन्ट नै लेख्नुभएको थियो तर अपानिमा सो विषय उल्लेख गरिएको पाइएन !
– सचिवालय बैठकमा प्रसंगवश पूर्वराष्ट्रपतिको सदस्यताबारे कुरा उठ्दा राष्ट्रपति भएको व्यक्ति राजनीतिमा फर्कन मिल्छ कि मिल्दैन, सदस्यता रिन्यु गर्न मिल्छ कि मिल्दैन ? भनेर छलफल गरिएको भए पनि यसलाई एजेण्डा बनाइएको थिएन । अध्यक्षले नै सक्रिय राजनीतिमा फर्कनका लागि संविधानले कतै नबोलेको, नियम कानुन र पार्टीको विधानले समेत नरोक्ने भएको हुँदा हामीले पनि रोक्न मिल्दैन भनेर बोल्नुभएको थियो ।
बैठकमा सहभागीमध्ये एक सदस्यले मात्र राष्ट्रपति तटस्थ रहनुपर्छ भन्नुभएको हो । अरुले पूर्वराष्ट्रपति पार्टीमा सक्रिय हुनुलाई उचितै मानेका थियौं । मदन भण्डारीको जन्म जयन्ती पारेर राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गराएको उल्लेख गर्दै घर फर्कने र पार्टीले दिएको जिम्मेवारी वहन गर्ने अभिव्यक्ति दिएसँगै सोही दिन कांग्रेसी नेताहरु बालुवाटार पुगेर विद्यालाई रोक्नुपर्छ भनेको समाचार आयो । त्यहीपछि स्थिति क्रमशः बदलिँदै गयो । विधान महाधिवेशनको तयारीका निम्ति बसेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति कमब्याक हुने विषय उठ्दा दुई कार्यकाल, उमेर हदसहितबारे कसैले बोलेर सुझाव दिएका थिए भने मैले लेखेरै दिएको हुँ । केन्द्रीय कमिटीको बैठकमा समेत यो विषय चर्काे रूपमा उठ्यो ।
एउटा समूह तटस्थ बस्यो, एउटा संख्या उहाँ कम ब्याक हुन चाहनुहुन्छ भने रोक्नुहुन्न भन्ने रह्यो । र, पूर्वराष्ट्रपतिले सम्मानित जीवन जिउनुपर्छ भन्ने निर्णय केन्द्रीय कमिटीले पास गर्यो । म, सुरेन्द्र पाण्डे र कर्ण थापाले बोलेर र लेखेर फरक मत दिएका हौँ तर अन्तरपार्टी निर्देशनमा कर्ण थापाको मात्र फरक मत समावेश भयो । अरूको फरक मत छैन भनेर आयो । यसबारे केन्द्रीय कार्यालयमा लिखित बुझाएका छौँ । अब बस्ने विधान महाधिवेशनमा यो छलफलको विषय बन्छ ।
० ६४१ नम्बरको सदस्यता खारेजीको विषयलाई उहाँको चीन भ्रमणसँग पनि जोडेर हेर्ने गरिन्छ नि, हैन ?
– पार्टीका नेतासँग कुराकानी गरेरै सदस्यता लिनुभएको हो । विधानको धारा ९ को ३ मा संवैधानिक पदमा गएको व्यक्तिले कार्यकाल सकिएपछि सदस्यता नवीकरण गर्न पाइने व्यवस्था छ । तर, हाम्रो पार्टी भन्दा बाहिरबाट भन्न लगाएर विद्यालाई राजनीतिमा आउन दिनुहुँदैन भनेको पाइयो । एमालेका कुन नेतालाई पार्टी सदस्यता दिन हुन्छ वा हुन्न भन्ने कुरा कांग्रेसले निर्णय गर्ने हो र ? कांग्रेस पार्टीले कसलाई सदस्यता दिनुहुन्छ वा दिनुहुँदैन भनेर एमालेले कहिल्यै प्रश्न उठाएको छ र ? संयोगचाहिँ उहाँ चीन भ्रमण सकेर आएपछि सदस्यता रिन्युको विषयमा सकारात्मक वा नकारात्मक दुवै कोणबाट अलि बढी नै चर्चा चलेका हुन् । अन्तर्राष्ट्रिय रूपमा क–कसले खेले भन्नका लागि ठ्याक्कै तथ्य र प्रमाण छैनन् । नेपालमा चीन, भारत र पश्चिमा शक्ति राष्ट्रका आ–आफ्ना इन्ट्रेस्ट छन् । आन्तरिक अन्तरविरोध ठीकसँग हल नहुँदा भित्र र बाहिरका शक्तिले खेल्ने मौका पाइहाल्छन् ।
० हल नै गर्न नसक्ने विषय हो र विद्याको सदस्यता नवीकरण ?
– यो अत्यन्त सानो विषय हो तर थाहा छैन किन उचालिँदै छ ? हल गर्ने तरिका नजान्दा टकरावको अवस्था सिर्जना हुन्छ । विद्या भण्डारी आएपछि वाम एकता हुन्छ भनेर रोक्नका लागि बन्देज गर्न खोजिएको हो भन्नेहरू पनि छन् । सदस्यता नवीकरण हुनेबित्तिकै वाम एकता हुन्छ र ? त्यति सजिलो विषय हो र वाम एकता ? यी र यस्ता कुरालाई जतिसक्दो छिटो आफैँंभित्र हल गर्ने नेतृत्वको क्षमता देखिनुपर्छ । सहज रूपमा समाधान गर्नेतिर हामी किन गइरहेका छैनौँ । बुझ्न सकिएको छैन ।
० विद्यालाई निषेध गरेर कसलाई लाभ हुने हो ?
– विद्या भण्डारी सक्रिय हुँदा कोही पनि आत्तिहाल्नुपर्ने अवस्था देखिँदैन । बरु पार्टीलाई फाइदै हुने हो । काठमाडौंबाट दुई–दुई पटक निर्वाचित सांसद, मदन भण्डारीको परिवार । उहाँले कुन पदमा के काम गर्ने भन्ने विषय पार्टीले निर्धारण गर्ने हो । विद्या आफैंले म यो पदमा बस्छु भनेर हुन्न ।
महाधिवेशनले नै सबै कुरा तय गर्छ । कोही मान्छे उम्मेदवार बन्न पनि सक्छ वा नबन्न पनि ।
० यहाँ सिंगो जीवन नै कम्युनिष्ट आन्दोलनमा होमेको व्यक्ति । एमाले पार्टी विधि, प्रक्रियामा चल्न छाडेको कति भयो ?
– कतिपय विषयमा हुनुपर्ने जति छलफल भएनन् होला त्यो अर्काे कुरा । आफूले मन पराएका व्यक्तिलाई नेतृत्वमा ल्याउने प्रयत्न हरेकले गरिरहेकै हुन्छन् । एउटा व्यक्तिको आदेशमा पार्टी चल्नै सक्दैन । पार्टीभित्र समस्या बग्रेल्ती छन्, नभएका होइनन् । जनस्तरमा असन्तुष्टि बढिरहेको छ । कार्यकर्ताको बानी व्यहोरा बिग्रदैँ गएको छ । आस्था–निष्ठा कमजोर हुँदै गएको देखिन्छ । कारण खोतलेर समीक्षा गरिनुपर्छ । पार्टी सिष्टममा चलेको छ वा छैन भन्ने परीक्षाको नतिजा ०८४ को निर्वाचनले देखाउला । पार्टी बिग्रिसकेपछि मात्र थाहा पायौँ भने क्षति हुन्छ । ०८४ अगाडि नै सम्हाल्दै, मिलाउँदै व्यवस्थित गर्दै जानुपर्छ ।
० एमाले पार्टीको नीति र विधि व्यक्ति हेरेर तय हुने हो ? होइन भने ७० वर्षे उमेर हद लागू भएयता सत्यनारायण मण्डल, अमृतकुमार बोहरा, केशव बडाल, मोदनाथ प्रश्रितहरूलाई किन छोडाइयो ?
– भरतमोहन अधिकारी र सिद्धिलाल नवौं महाधिवेशनदेखि, महेन्द्रबहादुर पाण्डेलगायत केही साथी दशौं महाधिवेशनदेखि उमेर हदकै कारण जिम्मेवारीबाट अलग हुनुभएको हो । यही कुरा विधानमा व्यवस्था गरिएको खण्डमा केपी कमरेडलाई पनि उमेर हद लाग्छ । विधानबाटै उमेर हद र दुई कार्यकाल चाहिँदैन भने कसैलाई पनि लाग्दैन । अब यो विषय विधान महाधिवेशनले तय गर्छ ।
० विधान महाधिवेशनमा फरक मत कसरी दर्ज गर्नुहुन्छ ?
– यसअघि नै फरक मत केन्द्रीय कमिटीलाई लेखेर दिएका छौँ । सचिवालयमा पनि बुझाएको छु । विधान महाधिवेशनमा आफ्नो विचार व्यक्त गर्न सबै स्वतन्त्र छन् । त्यसले जे निर्णय गर्छ, त्यही लागु हुन्छ ।
० कम्युनिष्ट पार्टीभित्र नेतालाई भगवानझैं पुज्ने र आलोचनात्मक चेत हराउने किन हुन्छ ?
– कमीकमजोरीमा आलोचना र राम्रो कुराको समर्थन, पक्षपोषण गर्ने हो । पार्टी जीवन भनेको निरन्तरको करेक्सन हो । सच्याउन नसक्नेहरू सकिन्छन् र सच्याउनेहरू अगाडि बढ्छन् ।
० माधव, झलनाथ, वामदेवका अलावा भीम रावलहरू पाखा लागेपछि विरोधी सकिए भनिएको होइन र ? फेरि अर्काे गुटको उदय किन भएको होला ?
– गत निर्वाचनमा १९ स्थानमा समाजवादीका कारण हारेका छौं । पार्टी विभाजन नभएको एमाले सबैभन्दा ठूलो पार्टी बन्ने रहेछ । नेतृत्वको विकल्पमा माथिबाटै गुट सृजना गर्ने स्थिति नहुनुलाई सकारात्मक रूपमा लिनुपर्छ । गुटबन्दीरहित पार्टी चलाउन सकिन्छ । मतहरू हुन्छन् र व्यक्तिका आधारमा कित्ताकाट गर्ने स्थिति रहन्न भन्ने ठान्दथें तर मेरो विश्लेषण पनि धेरै टिक्न सकेन । पार्टीभित्र पक्ष र विपक्ष देखिन थाल्यो । अन्तरविरोधविनाको पार्टी कहिल्यै हुँदैन । सबैभन्दा सानो सानो पार्टीमासमेत विवाद छ तर नेता विशेषको ब्लकका रूपमा नआउने वातावरण बनाउन सकिन्छ ।
के चिनियाँ कम्युनिष्ट पार्टीमा मत भिन्नता छैनन् ? सि जिनपिङले जे भन्यो त्यही लागू हुन्छ ? दश करोड पार्टी सदस्य भएको मुलुक, अमेरिकासँग प्रतिष्पर्धा रहेको देशमा राजाजस्तो भएर चलाइरहेका छन् भन्ने गरिन्छ । त्यहाँ पनि अन्तरविरोध छ तर इस्युगत रूपमा हल गरिन्छ । तलदेखि माथिसम्म घनीभूत छलफल हुन्छ । तलबाट आएका सुझावलाई गम्भीर रूपमा लिने, त्यस्ता अन्तरविरोध हल गर्ने, आलोचना/आत्मआलोचना गर्ने सिष्टम छ त्यहाँ । हामीकहाँजस्तो नेताहरूको बाहिर आलोचना गर्ने चलनचाहिँ छैन ।
० आगामी महाधिवेशनमा केपी ओलीलाई सर्वसम्मत बनाउने वा मैदानमा यहाँ, सुरेन्द्र पाण्डे, ईश्वर पोखरेलमध्ये कोही भिड्ने ?
– परिस्थिति कसरी विकास हुन्छ त्यसले निर्धारण गर्छ । म एकपटक सचिव, दुईपटक उपाध्यक्ष भइसकेको छु । हिजो हामीले गरेको निर्णयअनुसार, एक पदाधिकारी एउटै पदमा दोहोरिन पाउँदैन । म कि त नेतृत्वबाटै पन्छिनुपर्यो वा अहिलेको भन्दा माथिल्लो पदमा जानुपर्यो । अहिले दुवै कुरामा मन बनाएको छैन । परिस्थिति आइसकेपछि निर्णय गरिहाल्छु । मेरो इच्छा, चाहनाभन्दा परिस्थिति र समय बलवान हुन्छ ।
० एमालेले मार्गदर्शक सिद्धान्त मानिएको जबज छाडेको हो ?
– जबजको हिजोभन्दा आज धेरै आवश्यकता छ । जबजभित्र सैद्धान्तिक, वैचारिक, पार्टी निर्माण, रणनीतिक विषय आउँछन् । मूल्य–मान्यताका कुरा आउँछन् । व्यवहारमा कति कार्यान्वयन गर्न सक्यौं वा सकेनौँ त्यो एउटा कुरा हो । जबजमा थप नयाँ विकास गर्न सकिन्छ ।
० तपाईं सत्ताधारी दलको उपाध्यक्ष, यहाँले तीजको दिन सरकारी टेलिभिजन एनटिभीमा दिनुभएको अन्तर्वार्ता प्रशारण भएन । प्राविधिक कारण मात्र थियो वा अरू केही ?
– रेकर्डिङको समस्या हो भनेर उहाँहरूले विनम्रतापूर्वक भनेपछि मैले अन्यथा सोच्न मिलेन ।
० पछिल्लो निर्वाचन खर्चिलो भएकै कारण लड्न आँट नगर्नुभएको हो कि ? वा अरू कारण पनि छन् ?
– ०४८ सालमा पहिलो पटक लडेँ । पार्टी अत्यन्त कमजोर थियो । म राप्ती अञ्चलको एक मात्र केन्द्रीय सदस्य । खुमबहादुर खड्का कांग्रेसका मन्त्री, दाङ कांग्रेसका लागि सबैभन्दा बलियो ठाउँ । खुमबहादुरसँग उठ्छु भनेरै मैदानमा होमिएको हुँ । उनी बन्दुक र गाडी लिएर हिँड्थेँ, हामी पैदल लठ्ठी बोकेर निस्किएका थियौं । हाम्रा साथीलाई पिटे, प्रतिवाद गर्दा उल्टै ज्यान केश हाले । त्यो समयमा पनि सम्मानजनक मत ल्याएको हुँ । म डराउने, हच्किने स्वभावको मान्छे होइन । ०६४ मा माओवादीको बिगबिगी थियो ।
माओवादी सेनाको शिविर थियो । त्यस्तो अवस्थामा संविधान बनाउनुपर्ने भएका कारण उठें । माओवादीको हुरीबतासले धेरैलाई बगायो । तत्कालीन स्थायी कमिटी सदस्यमध्ये झलनाथ खनालबाहेक सबै पराजित भए । ०७४ मा निर्वाचन लडिन, करोडौँ खर्च गरेर लड्न सकिन्न । छोराले बनाएको घर बेचेर कसरी निर्वाचन लड्नु ? उद्योगी व्यापारीसँग परिचय नभएको होइन तर व्यक्तिगत आर्थिक लेनदेन कसैसँग भएन । पैसा माग्दै चुनाव लड्ने मेरो स्वभाव पनि होइन । दुई चार करोड खर्च गर्न नसक्ने स्थिति भएका कारण लडिएन । पैसा र कार्यक्षेत्रका कारण नलडेको हुँ । यद्यपि, केही एकाध छुस्केहरूले समानुपातिकमा जान, राष्ट्रिय सभामा जान प्रत्यक्ष चुनाव लडेन भन्थे । पहिल्यै मैले समानुपातिक र राष्ट्रियसभामा पठाउन पर्दैन भनेको थिएँ ।
टिप्पणीहरू