मिर्गाैलाको मुख्य व्यापारी पक्राउ
नेपाली नागरिकलाई भारत पुर्याई विभिन्न प्रलोभनमा पारेर मिर्गौला खरिद–बिक्री गर्ने समूहको मुख्य नाइके पक्राउ परेका छन् । श्यामकृष्ण भण्डारी कञ्चनपुर नाका र उनका सहयोगी सुजन भारती वीरगञ्ज नाकाबाट समातिएका हुन् ।
उनीहरुले विभिन्न जिल्ला पुगेर कमजोर आर्थिक अवस्था भएका नागरिकलाई प्रलोभनमा पारेर भारत लग्ने र मिर्गौला निकालेर बेच्ने गरेको मानव बेचबिखन अनुसन्धा ब्युरोले जनाएको छ । ब्युरोका एसपी नरेन्द्र कुवँरका अनुसार उनीहरुले अहिलेसम्म सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङका एक दर्जन नागरिकलाई भारत लगेर मृगौला निकालिसकेका छन् ।
पीडितका परिवारले जाहेरी दिएपछि ब्युरोले अनुसन्धान अघि बढाएकोमा गत साउन २० गते सोही कार्यमा संलग्न राजकुमार परियार, समिर नेपाली र राकेश नेपाली पक्राउ परेका थिए । उनीहरुसँगको सोधपुछपछि समूहका नाइके भण्डारी पनि समातिएका हुन् ।
भण्डारीको समूहले विभिन्न प्रलोभनमा परेर मृगौला दिन तयार भएका नागरिकहरुलाई नयाँ दिल्लीको एक होटलमा राख्ने गरेको र चिकित्सकहरुलाई पनि रगत परिक्षणको लागि होटलमै बोलाउने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रगत परिक्षणपछि उनीहरुलाई अस्पताल पुर्याएर बेहोस बनाउने र मृगौला निकालेपछि नेपाल पठाउने गरेको पनि एसपी कुवँरले जानकारी दिए । भण्डारीको समूहले २५ वटा मिर्गौला निकाल्नको लागि एडभान्स पैसा समेत लिइसकेको पनि बताइएको छ ।
टिप्पणीहरू