पाँच हजार डलर ल्याउँदा भन्सार घोषणा गर्न नपर्ने
नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा नेपाल आउँदा भन्सार घोषणा गर्नु नपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले साथमा पाँच हजार अमेरिकी डलर लिएर आउनेले भन्सार घोषणाबिना नेपाल भित्र्याउन सक्ने स्पष्ट पारेको हो । सोभन्दा बढी रकम भएमा भने भन्सार घोषणा गरेर प्रमाणित गराउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
‘नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर पाँच हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर पाँच हजार बराबर हुन आउने भारतीय रुपैयाँसम्म र यस बैंकबाट विनियम दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर पाँच हजार बराबरसम्म) भन्सार घोषणाबिना नेपालमा भित्र्याउन सक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने,’ बैंकको सूचनामा भनिएको छ ।
राष्ट्र बैंकले चलनचल्तीमा रहेका भारतीय रुपैयाँको मात्र कारोबार गर्न तर नेपालीले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान र अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि स्मरण गराएको छ ।
टिप्पणीहरू