चिनियाँ युआन अमेरिकी डलरको विकल्प बन्दै

चिनियाँ युआन अमेरिकी डलरको विकल्प बन्दै

चिनियाँ मुद्रा युआन ब्रिक्सको रिजर्भ करेन्सी बन्ने प्रक्रियामा अघि बढिरहेको छ। यसले अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिने विगतका चर्चालाई मूर्त रूप दिन थालेको छ।

रूस र ब्राजिल तेल तथा अन्य वस्तु व्यापारमा युआन प्रयोग गर्ने प्रमुख राष्ट्र बनेका छन् । चीनले आधिकारिक रूपमा युआनलाई रिजर्भ करेन्सी बनाउन आग्रह नगरे पनि, सन् २०२३ र २०२४ का ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपतिले व्यापार,भुक्तानी र केन्द्रीय बैंकको रिजर्भमा युआनको प्रयोग बढाउन सुझाव दिएका थिए ।

रूसमाथि अमेरिकी प्रतिबन्ध लगाइएपछि ब्रिक्सभित्र व्यापार भुक्तानी युआनमै गर्न चीनले सुविधा दिएको थियो । भारतले केही समय युआन प्रयोग गरे पनि पछि बन्द गर्यो । त्यससँगै चीनले ब्रिक्सको विकास बैंकमार्फत युआनमा ऋण प्रवाह गर्न थालेको छ । हालसम्म पाकिस्तान,श्रीलंका र थुप्रै अफ्रिकी मुलुकहरूले युआनमै ऋण प्राप्त गरेका छन्।

विश्वका पाँच उदाउँदा अर्थतन्त्रहरू ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको समूहलाई ब्रिक्स भनिन्छ । सन् २००९ मा गठन भएको यस संगठनले आर्थिक सहकार्य, वैकल्पिक वित्तीय संरचना र अन्तर्राष्ट्रिय राजनीतिमा विकासशील राष्ट्रहरूको आवाजलाई सशक्त बनाउन भूमिका खेलेको छ ।

ब्रिक्सको लक्ष्य अमेरिकी डलर–निर्भर विश्व अर्थतन्त्रलाई चुनौती दिँदै सदस्य राष्ट्रहरूबीच व्यापार र लगानीमा स्थानीय मुद्राको प्रयोग बढाउनु हो ।

टिप्पणीहरू