महिला च्याम्पियन्स लिगमा एपीएफ पराजित

महिला च्याम्पियन्स लिगमा एपीएफ पराजित

एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरण अन्तर्गत भएको खेलमा नेपालको विभागीय टोली नेपाल एपीएफ क्लब पराजित भएको छ । सोमबार राति भएको पहिलो खेलमा एपीएफ उज्वेकिस्तानको पीएफसी नासफसँग ३-० गोलले पराजित भएको हो । 

मर्काजाई स्टेडियममा भएको खेलमा नासफलाई जित दिलाउन डियोराखोन खाबिबुल्लेभाले दुई गोल गर्दा शोयिमोभाले एक गोल गरिन् । खेलको १३ औँ मिनेटमा खाबिबुल्लेभाले गोल गर्दै नासफलाई शुरूवाती अग्रता दिलाएकी थिइन् । लारिना एकाटेरिनाले डी-बक्स बाहिरबाट हानेको बल क्रसबारमा लाग्दै फर्किएपछि खाबिबुल्लेभाले रिबाउन्डमा गोल गरेकी हुन् । तीन मिनेटपछि खाबिबुल्लेभाले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाइन् । 

२१ औँ मिनेटमा खाबिबुल्लेभाले व्यक्तिगत तेस्रो गोल गरेपनि अफसाइड भएपछि गोलले मान्यता पाउन सकेन । ३४ औँ मिनेटमा शोयिमोभाले डी-बक्स बाहिरबाट गोल गर्दै नासफलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएकी थिइन् । 

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नासफ ३-० गोलले विजयी भएको हो । जितसँगै नासफले तीन अंक जोडेको छ । अब एपीएफले दोस्रो खेलमा बिहीबार कलेजको एसियन स्कोलर्सको सामना गर्नेछ । गएरातिनै भएको अर्को खेलमा कलेज अफ एसियन स्कोलर्सले साउदी अरेबियाको अल नासरलाई २-० गोलले हराएको थियो ।

टिप्पणीहरू