प्रचण्ड निवासमा अन्तर्राष्ट्रिय न्यायालयका कुरा
नेपालले जलवायु न्यायको पक्षमा अन्तर्राष्ट्रिय न्यायालयमा खेलेको भूमिकाबारे माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्ल्ड युथ फर क्लाइमेट जस्टिसका युवाबीच विशेष भेटघाट भएको छ ।
युवाहरूले प्रचण्ड प्रधानमन्त्री हुँदाको समयमा जलवायु संकट सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्यायालयमा लैजान दिनुभएको निर्देशन र नेतृत्वप्रति आभार प्रकट गर्दै प्रशंसा गरेका छन् । उनका निर्देशनअनुसार नेपालले २०२४ मा अन्तर्राष्ट्रिय अदालतमा प्रस्तुत गरेको विस्तृत लिखित रायलाई ऐतिहासिक मानिएको छ । सो रायमा नेपालले आफ्नो संवेदनशीलता, समाधानका प्रयास, अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी र वित्तीय सहयोग आवश्यकतामाथि जोड दिएको थियो ।
भेटमा प्रचण्डले स्मरण गराउनुभएको छ, ‘हामी त्यतिबेला एलडिसी राष्ट्रहरूको नेतृत्व गरिरहेका थियौँ । मैले थुप्रै फोरमहरूमा जलवायु न्यायको विषय जोड दिएर उठाएको तपाईंहरूलाई थाहा छ । जलवायु न्यायलाई अन्तर्राष्ट्रिय न्यायालयसम्म लैजानुपर्छ भन्ने निर्देशन मैले प्रधानमन्त्री हुँदा नै दिएको थिएँ ।’
उहाँले भानुआतुका युवाले सुरु गरेको अभियानमा नेपाली युवाहरू जोडिनु सकारात्मक संकेत भएको बताउनुभयो । प्रज्वल विक्रम राना, मनिषा चौधरी, स्वीकृति तिमिल्सिना, हेमान्सु काफ्ले, कुन्दनराज शर्मा, जोनी मैनाली, ऋचा श्रेष्ठ, रोजिना श्रेष्ठ र सृष्टि गौतमलगायत नेपाली युवाहरूको सक्रियता उल्लेख गर्दै गर्व व्यक्त गर्नुभयो । जलवायु सल्लाहकार डा. पपुलर जेन्टलसहित आफ्नो टिमलाई पनि धन्यवाद दिनुभएको छ ।

अन्तर्राष्ट्रिय अदालतबाट प्राप्त परामर्शात्मक रायलाई प्रचण्डले ऐतिहासिक उपलब्धि भन्दै सरकारले ढिलो नगरी त्यसलाई स्वागत गरेर नीतिगत तथा कानुनी सुधार अघि बढाउन आग्रह गर्नुभएको छ । ‘हामी दया वा भिख माग्न गएको होइनौँ । विकसित राष्ट्रहरूले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार अधिकार खोज्दै अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट धारणा राखेका थियौँ, जसलाई विश्वभर सराहना गरिएको छ,’ प्रचण्डले भन्नुभयो ।
उनले जलवायु संकटलाई दलगत चश्माबाट हेर्ने प्रवृत्ति गलत हुने भन्दै यसलाई राष्ट्रिय र वैश्विक अस्तित्वसँग जोडिएको प्रश्नका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।
वल्ड युथ फर क्लाइमेट जस्टिसले आगामी भदौ १३–१५ मा साउथ एसियन क्लाइमेट जस्टिस फेलोसिप आयोजनाको घोषणा गरेको छ । सो कार्यक्रमले अन्तर्राष्ट्रिय न्यायालयको निर्णयपछि नेपालजस्ता अल्पविकसित मुलुकले चाल्नुपर्ने कदमबारे बहस गर्ने बताइएको छ ।
भेटमा सहभागी युवाहरूको प्रचण्डको अग्रसरता निर्णायक रहेको मूल्याङकन गर्दै, अन्तर्राष्ट्रिय न्यायालयको सकारात्मक राय नेपालसहित जलवायु प्रभावित राष्ट्रहरूको साझा उपलब्धि भएको निश्कर्ष सुनाइएको थियो ।
टिप्पणीहरू