‘बयान’दिन ओलीलाई मुश्किल, प्रतिवेदनमै कस्ने तयारी
भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगमा बयानका लागि आनाकानी गरिरहेका एमाले अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यसवीच चुनाववारे दिएका अभिव्यक्ति ‘रक्षा कवच’ मात्रै भएको प्रष्ट हुन लागेको छ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भोलि आयोगमा बयान दिएपछि उक्त घटनासँग सम्बन्धित जिम्मेवार पदाधिकारीमध्ये बयान लिन बाँकी ओली मात्रै रहनेछन् ।
एकातिर सरकार जसरी पनि बयान लिएको देखाउन चाहन्छ भने आयोग अध्यक्ष गौरीबहादुर कार्की ओलीसँग बयान मात्रै नभएर प्रतिवेदनमा उनलाई किटानीसाथ दोषी ठहर गर्न उद्दत देखिन्छन् । ओली र निकटस्थहरुले ‘कुनै हालतमा बयानमा नजाने’ भन्दै गर्दा आपसी छलफलमा भने ‘बरबाद’ हुने आशय ब्यक्त गर्न थालेको बालुवाटार स्रोतको दावी छ ।
‘ऊर्जामन्त्री कुलमानले दुई महिनाअघि भारतसँग गरेको विद्युत खरिद सम्झौतामा भएको करोडौं अनियमिताबारे तपाइँ (प्रधानमन्त्री) ले जवाफ दिएर हुन्छ ?"
बालुवाटारमा हिजो दिउँसो भूतपूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा,ओली र पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री सुशीला कार्कीले गरेको संयुक्त छलफलमा पनि ओलीको आशय त्यस्तै रहेको बताइन्छ । प्रधानमन्त्रीलाई मनोवैज्ञानिक दबाब दिने उद्देश्यसहित ओलीले हालका ऊर्जामन्त्री कुलमान घिसिङको सन्दर्भ कोट्याएको श्रोतले बतायो ।
स्रोत भन्छ, ‘कुलमानको उदाहरण दिँदै उनले त्यस क्रममा गृहमन्त्रीले बयान दिए पुग्ने धारणा राखेका थिए ।’ ‘भदौ २३ को घटनामा गोली चलाउन प्रधानमन्त्रीले निर्देशन दिएको हो र ?’ ओलीको भनाइ उल्लेख गर्दै सोही स्रोतले बतायो, ‘ऊर्जामन्त्री कुलमानले दुई महिनाअघि भारतसँग गरेको विद्युत खरिद सम्झौतामा गरेको करोडौं अनियमिताबारे जवाफ तपाइँ (प्रधानमन्त्री) ले दिएर हुन्छ ? किनकि त्यो सम्बन्धित मन्त्रीको जिम्मेवारी र दायित्व भयो । त्यसैगरी अरु मन्त्रालयमा कुनै गलत कार्य भएको अवस्थामा त्यसको जिम्मा तपाइँले लिनुहुन्छ र भनिएको थियो ।’
प्रसङ्ग पेचिलो बन्दै गएपछि प्रचण्डले धरहराको उदाहरण दिन खोजेको बेला देउवाले कुरा अन्त मोडेको सहभागी एक जनाले बताए । यी सबै सन्दर्भलाई जोड्दै एमालेकै नेताहरु भन्छन् ‘हाम्रा अध्यक्ष यति आत्तिएको सम्भवतः यो पहिलो पटक देखियो । उहाँले आफूलाई दोषी नदेखाएको अवस्थामा फागुन २१ गते निर्वाचन गर्न र गराउन कुनै समस्या नै नरहेको सन्देशसमेत सरकारी प्रतिनिधिहरुलाई दिइसक्नुभएको छ ।’
प्रसङ्ग पेचिलो बन्दै गएपछि प्रचण्डले धरहराको उदाहरण दिन खोजेको बेला देउवाले कुरा अन्त मोडेको सहभागी एक जनाले बताए ।
गतसाता शीतल निवासमा र हिजो बालुवाटारमा भएको भेटवार्तामा ओलीको प्रस्तुतीलाई लिएर केही मन्त्रीले ओली आत्तिएको निश्कर्ष निकालेको बुझिएको छ । कार्की नेतृत्वको क्याबिनेटका एक जना सदस्य भन्छन् ‘गौरीबहादुर कार्कीको ओलीसँग धेरै पहिलेदेखिको एउटा इगो छ भन्ने सुनेका छौं । त्यसकारण उनी पनि ओलीको नाम प्रतिवेदनमा किटेरै लेख्नेमा दृढ देखिन्छन् । त्यसमा आगोमा घिउको भूमिका प्रधानसेनापति अशोक सिग्देलको बयानले गरेको छ ।’
टिप्पणीहरू