भियतनामी उपराष्ट्रपति सिंहदरबारमा, साँझ रात्रिभोज
नेपाल भ्रमणमा रहनुभएकी भियतनामी उपराष्ट्रपति भो थिन आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भियतनामी उपराष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्वागत गर्नुभएको हो ।
उपराष्ट्रपति यादवको निम्तोमा हिजो काठमाडौं आउनुभएकी भियतनामी उपराष्ट्रपतिले आज बिहान उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग होटल याक एण्ड यतिमा भेटवार्ता गर्नुभएको थियो । सोही होटलमा उहाँको सम्मानमा आयोजित दिवाभोजपछि भियतनामी उपराष्ट्रपति १ बजे आफू बसेको होटल सोल्टी फर्कनुभएको हो ।
दिउँसो साढे २ बजे उहाँ सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको छ । करिब एक घण्टाको भेटवार्तापछि पुनः होटल सोल्टी जाने र ४ बजे काठमाडौंमा रहेको भियतनामी समुदायसँग अन्तरक्रियामा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
अपरान्ह ५ बजेपछि नेपाल र भियतनामबीच कूूटनीतिक सम्बन्ध कायम भएको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा होटल सोल्टीमा नै विशेष कार्यक्रम राखिएको छ । कार्यक्रमपछि सोही होटलमा आयोजना गरिने रात्रिभोज कार्यक्रममा सहभागी हुने बताइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट, काठमाडौं र ललितपुरका केही सांस्कृतिक र ऐतिहासिक सम्पदा क्षेत्रको भ्रमणपछि उहाँ भोलि बैंकक हुँदै स्वदेश फर्कने कार्यतालिका छ ।
टिप्पणीहरू