हस्ताक्षरबारे एमाले सांसदको यस्तो कुरा

हस्ताक्षरबारे एमाले सांसदको यस्तो कुरा

सत्तारुढ नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसदीय व्यवस्थामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । 

एमाले र नेपाली कांग्रेसले एकैदिन सांसदहरूको हस्ताक्षर जुटाउनु संयोग मात्र हो  भन्ने उनको कुरा छ । तथापि खाली कागजमा सांसदहरूको सही गराएर राख्ने अभ्यास नेपाल र संसदीय प्रणाली भएका अन्य मुलुकमा पनि नयाँ प्रचलन नभएको भट्टराईको दाबी छ ।

सिंहदरबास्थित संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले कसैविरुद्ध महाअभियोग लगाउने योजना नरहेको बताए । उपसभामुख इन्दिरा रानालाई हटाउने योजनाका साथ दुवै पार्टीले हस्ताक्षर संकलन गरेको चर्चा भैरहँदा उनको यस्तो प्रतिक्रिया आएको हो ।  

‘एउटा पार्टीका माननीयहरुले हस्ताक्षर गर्नु, संकलन गरेर राख्नु सामान्य हो, अपरझट् कुनै प्रस्ताव दर्ता गर्नुपर्ने भयो भने कोही विदेश होला, कोही कहाँ होला, अहिले संकलन गरेर राख्न राम्रो हुन्छ भनेर हो’, भट्टराईले भने, ‘कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेको होइन, एकैदिन पर्यो, संयोग होला, हस्ताक्षर के मा प्रयोग हुन्छ सबैलाई थाहै छ, महाअभियोगमा होला, सरकार फेरबदलमा होला !’ 

एमालेकै अर्का सांसद गोकुलप्रसाद बाँस्कोटाले भने कुन प्रयोजनका लागि हस्ताक्षर संकलन गरेको भन्नेकुरा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । पार्टीको निर्देशन अनुसार सही गरेको तर प्रयोजन थाहा नभएको उनले बताए ।

निर्देशन अनुसार काम गरियो, अरु विषय केही थाहा भएन’, बाँस्कोटाले भने ।

टिप्पणीहरू