कसले दिने यस्ता प्रश्नको जवाफ, भन्नोस न कमरेड !
पछिल्लो पटक नेकपा (एमाले)मा एकपछि अर्को कारबाहीको श्रृंखला चलिरहेको छ । खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षमा खुलेका जनसंगठनका नेता निशानामा छन् । त्यही श्रृंखलामा परेका छन्, सुरज खरेल । उनलाई राष्ट्रिय युवा संघ नेपालको लुम्बिनी प्रदेश कमिटीका अध्यक्षको पदबाट हटाइएको छ । २०५९ सालदेखि अनेरास्ववियुको प्रा.क. अध्यक्ष हुँदै विभिन्न कमिटीमा काम गरेका खरेल लुम्बिनी प्रदेशमा लोकप्रिय मानिन्छन् । उनको पुरै परिवार नेकपा (एमाले)को राजनीतिमा सक्रिय छ । ध्रुवप्रसाद रूपन्देहीको देवदह नगरपालिकाका मेयर हुन् । राष्ट्रिय युवा संघ, नेपालले कारबाही गरेपछि खरेलले ‘जबज’ रक्षा अभियान शुरु गरेका छन् । उनीसँग जनआस्थाले गरेको कुराकानीको सम्पादित अंशः
० राष्ट्रिय युवा संघले कारबाहीका क्रममा तपाईंमाथि लगाएका आरोपबारे के भन्नुहुन्छ ?
– मलाई युवा संघको वर्तमान नेतृत्व अर्थात् एउटा गुटले कारबाहीको घोषणा गरेको छ । १०औं महाधिवेशनताका म सुमन पुरीको पक्षमा उभिएको थिएँ । पोखरामा अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकाल, सदस्य राजीव पहारीहरूकै आदेशमा वितरित नामावली चित्त बुझेन । फर्जी मतदाताविरुद्ध उभिँदा मलाई उहाँहरूले अराजक देख्नुभयो । चुनावको पक्षमा उभिँदा पार्टीविरोधी देख्नुभयो । गैरसरकारी भन्नुभयो । जननेता मदन भण्डारीको तस्वीरमुनि बसेर, उहाँकै विचारको छातीमा छुरा रोप्ने अक्षम्य अपराध गर्नुभयो ।
० पोखरा महाधिवेशनलाई फर्केर हेर्दा कस्तो लाग्छ ?
– नेकपा (एमाले)का कार्यकर्ताको हिसाबले हेर्दा कहाली लागेर आउछ । धेरै अप्ठ्याराहरूमा पार्टी, नेता र संगठनको पक्षमा दृढतापूर्वक उभियौं । तर पोखरामा कसैलाई सरकारी र हामीलाई गैरसरकारी भनियो । पार्टी पक्षधर र विरोधी भनियो । प्रतिस्पर्धा गर्छु भन्नेहरूलाई पार्टीविरोधी ठानियो । अध्यक्ष मण्डलका नेताबाटै धाक–धम्की दिने काम भयो । कब्जाको नीतिमा नेताहरू उभिए ।
० संगठनबाटै निकालिसकेपछि अब कसरी लड्नुहुन्छ ?
– विचारको लडाइँमा कहिलेकाहीँ एक्लो भइन्छ, तर सत्यको बाटो कहिल्यै छोड्नु हुँदैन । सांगठानिक अराजकता, आर्थिक अपारदर्शिता, अनियमितता, आपराधिक गतिविधि र अराजनीतिक कदमविरुद्ध उभिनु भनेको प्रकारान्तरले एमालेको पक्षमा उभिएको पनि हो । खासमा हामी पार्टी र आन्दोलनलाई बचाउने अभियानमा छौं । यो अभियान देशभरि लैजान्छौं ।
० कारबाहीका श्रृंखला सबैभन्दा जिम्मेवार को हुन् त ?
– जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले आफूलाई सर्वेसर्वा ठान्नुहुन्छ । नोटिसमा राखेको छु भनेर सार्वजनिक धाकधम्की दिनुहुन्छ ।
० ‘केपी ओली कप’मा आर्थिक अनियमितता भएकै हो र ?
– हाम्रो अध्यक्ष कमरेड केपी ओलीलाई युग पुरुषका हिसाबले सम्मान गर्दै ‘केपी ओली कप’ को अवधारणा अघि बढेको हो । यसको पहिलो संस्करण सफल पारदर्शी पनि रह्यो । दोस्रो संस्करणपछि यो कप पैसा उठाउने माध्यम बन्यो । निश्चित नेताले धन्दा चलाए । संगठनको नाममा उठाइएको पैसा संगठनको खातामा आएन । विभिन्न नेताको खातामा हाल्न लगाइयो । दोस्रो र तेश्रो संस्करणमा पुग्दा करिब २० करोड उठेको छ । आजसम्म त्यो कहाँ–कहाँबाट आयो ? कहाँ कहाँ खर्च भयो ? कुनै उत्तर दिइएको छैन । पटक पटक बैठकमा यस विषयमा कुरा उठाउँदा पदाधिकारीहरूले उत्तर दिएनन् ।
० कुन–कुन नेताको खातामा रकम जम्मा भयो त ?
– अध्यक्षसहितका खातामा पैसा गएको भन्ने कुरा छ । यसको अनुसन्धान हुनुपर्छ । देशभरिका साथीहरूले पैसा स्थानीय तहदेखि ठूला ठेकेदारसम्मबाट पैसा उठाउनुभएको छ ।
० पूर्वउपाध्यक्ष र राष्ट्रपतिको सदस्यता नवीकरण भएन भने उहाँलाई फर्काउने अभियान सफल होला र ?
– हामी एउटा यस्तो पार्टी बनाउन चाहन्छौं, जहाँ नेताको होइन, नीतिको शासन चलोस् । हामीलाई थाहा छ, यो बाटो सजिलो छैन । हामीमाथि अनेकौं हमला हुनेछन्, अनेकौं लाञ्छना लगाइनेछन् ।
० तपाईंंको बुझाइमा पार्टीभित्रका मुख्य समस्या के के हुन् ?
– पार्टी आज विचार र नीतिले होइन, गुट नामका महारोगले चलिरहेको छ । यहाँ योग्यता र क्षमताको कुनै मूल्य छैन, केवल सोधिन्छ तँ कुन गुटको? यदि तपाईंं कुनै गुटको दास बन्न सक्नुभएन, स्वतन्त्र विचार राख्ने दुस्साहस गर्नुभयो भने, किनारा लगाइन्छ, राजनीतिक हत्या गरिन्छ । एउटा यस्तो भजनमण्डली खडा भएको छ, जसको काम नेताको हरेक गलत निर्णयमा वाह, वाह गर्नु मात्र हो । यिनीहरूले केपी ओलीजस्तो अग्लो कदको नेतालाई आफ्नो घेराबन्दीमा पारेर, उहाँको आँखामा पट्टी बाँधेर, जनताबाट टाढा बनाउँदैछन् । जब मैले यही दुर्गन्धविरुद्ध आवाज उठाएँ, तब मलाई नेतृत्वको अपमान गरेको आरोप लगाइयो । के सत्य बोल्नु अपमान हो ? जुन नेतृत्वले मदन भण्डारीकी जीवन संगिनी र वैचारिक उत्तराधिकारीलाई एउटा सदस्यता दिन हिच्किचाउँछ, के उसले मदनको विरासत बोक्न सक्छ ?
० तपाईंहरूको पार्टीले निर्णायक राष्ट्रिय शक्ति बन्ने उद्देश्यसहित मिसन–२०८४ भनिरहेको छ, यस्तो गतिविधिले मिसनमा अवरोध हुन्न ?
– यस्ता गतिविधिले अस्तित्वको लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ । खासगरी अध्यक्षको वरिपरि बसेर गलत रिपोर्टिङ गर्ने, गलत सूचना दिने र फाइदा लिनेहरूले यो अवस्था सृजना गरिरहेका छन् ।
० नेताहरूको टिप्पणी छ, ‘यिनीहरू महाधिवेशनको प्रतिनिधि हुन सक्दैनन् । प्रतिनिधि नै नहुनेहरूले धेरै हल्ला गरेर केही हुन्न ।’
– आन्दोलनलाई सक्ने यस्तै प्रवृत्तिले हो । कहाँ–कहाँ छेक्छन् ? हामी पनि हेर्दै जान्छौं । जसले हामीलाई छेक्छौं भनेका छन्, उहाँको आफ्नै जिल्ला कमिटीले निर्णय गरेर विद्या भण्डारीमाथिको निर्णय पुनर्विचार गर्नुपर्छ भनेको छ ।
(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू