जबज भर्सेज उखान टुक्का

जबज भर्सेज उखान टुक्का

गएको साता सिंहराजले लेखेको थियो– यदि पूर्व राष्ट्रपति विद्या भण्डारीले मदन भण्डारी र जनताको बहुदलीय जनवाद फिर्ता लिनुभयो भने एमाले समाप्त हुन सक्छ । मदन भण्डारीकी धर्मपत्नी हुनुको नाताले मदन भण्डारी र उहाँले सिर्जना गर्नुभएको जनताको बहुदलीय जनवाद दुवैमाथि विद्यादेवी भण्डारीको हक लाग्छ ।

नेपालमा प्रचलित सम्पत्तिको हकसम्बन्धी ऐनले पनि यही भन्छ । त्यो पढिसकेर एमालेका कुनै विशिष्ट नेताले सिंहराजलाई फोन गरी भने– भाइ साहब, मदन भण्डारी र जनताको बहुदलीय जनवाद नहुँदैमा एमाले डुब्नेवाला छैन । अहिले एमालेलाई यसको आवश्यकता पनि छैन । ‘किन छैन ?’ सिंहराजले सोध्यो ।

‘हेर्नोस्, अहिले एमालेमा खड्ग ओली हुनुहुन्छ । खड्ग ओली भएपछि मदन भण्डारी किन चाहियो ? खड्ग ओलीसँग जबज त छैन, उखान टुक्का त प्रशस्तै छ नि । अहिलेको एमाले चलाउन ओलीको उखान टुक्कै काफी छ । जबजको आवश्यकतै छैन । बुझ्नुभयो नि कुरा ?’ यति भन्दै उनले राखिहाले । नाम पनि सोध्न बिर्सेछु । हुन त एमाले भनेपछि पुगिहाल्यो नि, नाम किन चाहियो र ! 

(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू