उच्च अधिकारीसँग मात्रै कुरा गर्ने भनेका कैदीबन्दीद्वारा झ्यालखाना कब्जा
जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच भएको झडपपछि प्रहरी र स्थानीय प्रशासनलाई समस्या सुल्झाउन सकस परेको छ । कैदीहरू के कारण झडपमा उत्रिए भन्ने कुरोेको चुरो दुई दिनसम्म पत्ता लाग्न सकेको छैन ।
शुक्रबार राति कारागारभित्र दुई समूह कुटाकुटमा उत्रँदा हिजो बिहान एक जनाको ज्यान जानुका साथै ४९ जना घाइते भएका थिए । तीमध्ये दुई जनाको अवस्था अहिले पनि गम्भीर छ । तर, यत्रो घटना भएको दुई दिन बितिसक्दासमेत प्रहरीले यथार्थ तथ्य बाहिर ल्याउन सकेको छैन ।
घटनालगत्तै त्यहाँको यथार्थ विवरण बुझ्न र समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख एसपी बालनरसिंह राणा कारागार पुगेका थिए । तर, कैदीबन्दीहरूले कारागार प्रशासनविरुद्ध चर्को नाराबाजी गरेपछि उनीहरू त्यहाँबाट फर्किएका हुन् ।
अहिले पनि उच्च सरकारी अधिकारीसँग मात्रै कुरा गर्ने भन्दै कैदीबन्दीले प्रहरीलाई समेत थुनुवाकक्षमा रोक लगाएको बताइन्छ । एक प्रहरी अधिकृतका अनुसार विवाद समाधान गर्न दुई समूहको नाइकेसँग संवाद गर्न खोजे पनि कोही अघि सरेका छैनन् ।
‘यति ठूलो झडपपछि समस्या के हो, त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने हाम्रो कर्तव्य हो’, उनले भने, ‘तर दुई समूहका नाइके को हुन्, त्यही नै ठम्याउन सकिएको छैन, अनुसन्धान गरिरहेका छौँ ।’
ती अधिकृतका अनुसार झडपपछि कैदीबन्दीका आफन्तहरू आइरहेकाले भीडभाड झन बढेको छ । जसका कारण कारागारको सुरक्षामाथि चुनौती थपिएको छ ।
‘झगडा भएको खबर सार्वजनिक भएपछि आफन्तहरू आत्तिनु स्वाभाविक हो, आफ्ना मान्छे भेट्न आउनेको घुइँचो छ, हामीले भेटघाटको व्यवस्थापन तत्कालको लागि केही खुकुलो बनाएका छौँ’, उनै प्रहरी अधिकृत भन्छन्, ‘तर मुख्य कुरा कैदीबन्दीले हामीसँग आफ्नो माग सुनाउन चाहिरहेका छैनन, कारागार व्यवस्थापन विभाग वा गृह मन्त्रालयबाट कोही उच्चस्तरको अधिकारी आएपछि मात्रै बोल्ने अडान लिएका छन् ।’
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले भने कैदीबन्दीबीच सरुवाको विषयमा विवाद हुँदा झडपको अवस्था सिर्जना भएको बताइन् । उनीहरुका उक्त माग सम्बोधन गर्न गृह मन्त्रालयसँग छलफल र समन्वय भैरहेको उनको भनाइ छ ।
‘भित्रको ठोस कारणबारे पूरा जानकारी अझै बाहिर आएको छैन, तर कैदीबन्दीहरूको सरुवा तलमाथि भएपछि विवाद शुरु भएको देखिन्छ’, सहायक सिडिओ जोशीले जनआस्थासँग भनिन्, ‘एउटा समूहले कारागार प्रशासनलाई प्रभावमा पारेर आफ्नाको सरुवा गरिरहेका रहेछन्, सरुवा हुन नपाएको अर्को समूहले त्यही कुरामा प्रश्न उठाएपछि झडप भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।’
झडप शुक्रबार राति भए पनि विवाद भने लामो समयदेखि चल्दै आएको पनि उनले जानकारी दिइन् । ‘विवाद उत्कर्षमा पुगेपछि झपड भएको हो, तर दुई समूहबीच त्यही सरुवाको विषयमा पहिलेदेखि नै विवाद हुँदै आएको रहेछ’, जोशीले भनिन् ।
दुई सय क्षमता रहेको उक्त कारागारमा अहिले सात सय थुनुवा छन् । उनीहरू सबै दुई समूहमा विभाजन भएको र एकअर्काप्रति आक्रमक रुपमा प्रस्तुत हुँदै आएका कारण पनि अनुसन्धान कार्य जोखिमपूर्ण बनेको उनको भनाइ छ ।
टिप्पणीहरू