सय नाघ्याे प्रेस स्वतन्त्रता हननका घटना
पछिल्लो एक वर्षमा मुलुकमा एक सय बढी प्रेस स्वतन्त्रता हननको घटना भएको छ । सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १२१ वटा प्रेस स्वतन्त्रता हननको घटना घटेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
जसमा सबैभन्दा बढी धम्की र दुर्व्यवहारको घटना रहेको छ । धम्की र दुर्व्यवहारको ५० वटा घटना भएको छ । त्यसैगरी, कुटपिटको ३७, पेशागत असुरक्षाको १५, अवरोधको ९, पक्राउ प्रयासको पाँच, शंकास्पद मृत्युको दुई, नीतिगत बन्देजको दुई र लैङ्गिक हिंसाको एउटा घटना घटेको तथ्याङ्कमा उल्लेख छ ।
महासंघका अनुसार प्रेस स्वतन्त्रता हननको सबैभन्दा बढी घटना बागमती प्रदेशमा भएको छ । बागमतीमा ६२, मधेशमा २७, सुदूरपश्चिममा आठ, कोशीमा सात, लुम्बिनी र गण्डकीमा ६–६ र कर्णालीमा पाँच वटा घटना अभिलेख भएको छ ।
एक वर्षमा १९० जना पुरुष र १० महिला पत्रकारलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको महासंघले जानकारी दिएको छ । प्रेस स्वतन्त्रता दुरुपयोगको १० वटा घटना घटेकोमा बागमतीमा पाँच, मधेशमा चार र कर्णालीमा एक रहेको छ ।
टिप्पणीहरू