एमालेभित्र विरोधी सोत्तर भए भनिएको होइन ?
एमालेको केन्द्रीय कमिटीमा अखिल पृष्ठभूमिबाट आएका नेताहरूको ठूलो पंक्ति छ । केपी ओलीसँग अध्यक्षमा प्रतिष्प्रर्धा गरेका भीम रावल पार्टीमा अटाएनन् । शंकर पोखरेल महासचिवको भूमिकामा छन् । घनश्याम भुसाल एकीकृत समाजवादीका महासचिव हुन् । योगेश भट्टराई पार्टी पदाधिकारी हुँदै मन्त्री बनिसकेका छन् तर टंक कार्कीले त्यस्तो अवसर कहिल्यै पाएनन् । नेतृत्वसँग फरक मत राखेकै कारण पटक–पटक दण्डित भइरहेका छन् । दशौं महाधिवेशनताका पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिष्टमा थिएनन् उनी । ३०१ भित्र पर्न नसकेका टंकले स्वतन्त्र उम्मेदवारी दिए सचिवमा तर जितेनन् । बरु केन्द्रीय सदस्यमा अत्यधिक मतसहित निर्वाचित भए । उनी साहना प्रधान परराष्ट्रमन्त्री हुँदा चीनमा राजदूत थिए । अहिले पनि अपमानको आँशु पिएर पार्टीभित्रै संघर्ष गरिरहेका छन् ।
– हरि गजुरेल
० अघिल्लो दिन विद्या भण्डारीको पार्टी सदस्यता रिन्यु भएको भनियो तर ६४१ नम्बरको सदस्यता भोलिपल्टै खारेज भयो । एमाले पार्टीमा विद्यालाई रोक्न गरिएका घटनाक्रमलाई कसरी हेरिरहनुभएको छ ?
– पूर्वराष्ट्रपतिले दुई वर्षअगाडि नै पार्टीमा फर्कन्छु भनेर सूचना दिएको, वैधानिक रुपमा सदस्यता नवीकरण गरिसकेको हो । दुई–दुई वर्षसम्म यसबारे नेतृत्व मौन बस्यो । अध्यक्ष उठ्छु भन्नासाथ साधारण सदस्यता नै चैट बनाइयो । यसलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको छ । बहालवाला र सेवानिवृत्त राष्ट्रपति दुवैले एउटै धर्म निर्वाह गर्नुपर्छ भन्ने माग राखिनु कत्तिको तार्किक र प्राज्ञिक होला ? सेवा निवृत्त भएर, राज्यले दिने सबै सेवा त्यागेर सामान्य नागरिकले पाउने अधिकार उपयोग गर्दै देश, लोकतन्त्रको सेवा गर्न आउँछु भन्दा रोक्नुपर्ने किन ? मदन भण्डारीले उही बेला राजालाई लल्कार्दै भनेका थिए, ‘निष्पक्ष भूमिका निर्वाह नगर्ने हो भने श्रीपेच फुकालेर राजनीतिक मैदानमा आऊ, तिमीसँग हामी प्रतिष्पर्धा गर्न तयार छौं ।’ त्यो व्यंग्य मात्र थिएन । सभामुखहरू पनि पार्टीमा जोडिएका घटना छन् । विद्या भण्डारीसँगै उपराष्ट्रपति भएका नन्दबहादुर पुन माओवादी उपाध्यक्ष बनेको धेरै समय भयो । उनको सवालमा संविधानको मर्म र भावनाविपरीत छ भनेर कहीँ प्रश्न उठाइएन तर अहिले विद्या भण्डारीलाई रोकिँदा तार्किक रुपमा चित्त बुझाउने ठाउँ छैन ।
० विद्या भण्डारी चीनबाट फर्किएलगत्तै पार्टी सदस्यता खोसियो । त्यही समय ओलीलाई दिल्लीबाट भ्रमणको निम्तो आयो । यो खेलमा अरु शक्तिको पनि हात त छैन ?
– नेपाली राजनीतिमा चासो राख्ने अरु पक्ष पनि छन् । नेपालीहरूले आफ्नै स्वविवेकले कदम चाल्दा त्यसको जरो चीनसँग लगेर जोडिहाल्ने चलन छ । चाहे नाकाबन्दी होस् वा अरु कुनै घटना । मानौं कि नेपालीहरूको विवेक शून्य छ । हामी लामो समय शीतयुद्धका मूल्यबाट प्रभावित भयौं । त्यो मूल्यलाई १९९० मै अस्वीकार गरिसकियो । विद्या भण्डारी चीनबाट फर्किएपछि अहिले ती स्वर उरालेका छन् ।
० यही समय विद्या भण्डारीको सदस्यता रोकिनु र वर्ष दिनदेखि थालिएको दिल्ली भ्रमण प्रयासले सार्थकता पाउनुबीच के साइनो त ?
– एकल धु्रवीय विश्व व्यवस्थाको ठाउँमा बहुध्रुवीयता बेरोकटोक अगाडि बढिरहेको छ । हामी चीन र भारतसँग जोडिएका छौं । यी दुईको सकारात्मक र नकारात्मक प्रभाव हामीमा पर्छन् । १९६२ पछि पहिलो पटक भारत र चीनबीच संवाद भइरहेको छ । भारत चीनलाई संशकित हुने गरी कुनै कदम चाल्दैन र चीनले भारत सशंकित हुने कुनै कदम नेपालमा चाल्दैन । हामीलाई दुईवटा छिमेकी नमिल्दा भन्दा मिलेकोमै फाइदा छ ।
० चीनबाट फर्किएको दुई सातामै मदन भण्डारीको दासढुंगामा हत्या हुनु । विद्या भण्डारी चीनबाट फर्किएलगत्तै सदस्यता खोसिनु । यी दुई घटनाक्रमलाई हेर्दा विद्यालाई रोक्नमा भूराजनीतिक प्रभाव छैन भन्न सकिन्छ र ?
– राज्यभित्र एकछत्र विचार, शक्ति मात्र हुँदैन । कहीँकतै प्रभाव परेको हुनसक्छ तर मूलधारबाट हेर्ने हो भने यहाँले प्रश्न गरेजस्तो स्थिति होला भन्ने मलाई लाग्दैन । बनको बाघले खानुभन्दा मनको बाघले खाएर तद्अनुरुप पाइला चाल्नेहरू पनि होलान् । बनको बाघ आएर झम्टिहाल्ने स्थिति अहिले छैन । हिजोको ह्याङ्गओभरचाहिँ हुनसक्छ, मनमा ।
० हिजो केपीकै कार्यकालमा अदालत प्रयोग गरेर नेकपा फुटाइएको थियो । विद्याले पार्टी नेतृत्व गर्दा ती कम्युनिष्टहरु एक हुने भए । विद्यालाई रोक्न त्यही शक्तिको चलखेल शुरु भयो पनि भन्छन् नि !
– कम्युनिष्ट पार्टीहरू एक ढिक्का हुँदा गैरकम्युनिष्ट शक्तिलाई प्रतिष्पर्धाकै लागि अप्ठ्यारो पर्छ । कम्युनिष्ट पार्टी विभाजित भए उनीहरूलाई खुदो पल्टन्छ । स्वाभाविक रुपमा त्यस्तोमा खेल त हुन्छ नै । वाह्य शक्ति पनि नेपालमा आफ्ना हित प्रवद्र्धनको लागि सबैभन्दा ठूलो तगारो कम्युनिष्ट हुन् भन्ठान्छन् । नेपाली राजनीतिमा ०७९ को निर्वाचनसम्म राजावादीको प्रधान प्रतिद्वन्द्वी नेपाली कांग्रेस थियो । त्यसपछि राजतन्त्र पुनःस्थापनाको नारा लिएर आए । उनीहरूको प्रमुख अन्तरविरोध अब कम्युनिष्टसँग हुन पुगेको छ । कम्युनिष्टहरू साँच्चै द्वन्द्वात्मक भौतिकवादी हुन् भने तिनमा विवाद मात्र होइन साझापन पनि त होला नि ! विवाद उछाल्ने कि साझापनलाई प्राथमिकता दिने ?
० अब विद्याको राजनीति कसरी अगाडि बढ्ला ?
– म खुट्टा कमाउँदिन, मेरो ब्याकअप छ भनिसक्नुभएको छ । विद्याजीले फेरि सेवा–सुविधा फिर्ता गरिहालें, पार्टीले ठाउँ दिएन, अब भङ्गालमै सीमित हुन्छु भन्छिन् जस्तो लाग्दैन । व्यक्तिलाई स्वयम्भू बनाउने होइन कम्युनिष्ट आन्दोलनको संगठनात्मक स्वरुपमा व्यापक परिवर्तनको खाँचो छ । कम्युनिष्ट पार्टी सामाजिक आधारलाई छोडेर धेरै अगाडि गइसकेका कारण त्यता फर्कनु जरुरी छ । कम्युनिष्ट पार्टी श्रमजीवी वर्गको पार्टी हो तर आज आममानिसलाई सोध्ने हो भने उसले स्वीकार्छ त ? कम्युनिष्ट पार्टी निर्माण भएको ७५ वर्ष भइसकेको छ । आजसम्म हामीले राष्ट्रवादी पार्टीको हैसियत बनाउन सक्यौं त !
० भन्नाले ?
– १२० जातजाति छन्, हिमाल, पहाड, तराईका भिन्नता छन् । हिजो पञ्चायत र राणाहरूको बन्द समाजमा रहँदा विश्वजगत कहाँ छ, त्यो देखिएको थिएन । आज यत्रतत्र डरलाग्दो माइग्रेसन भइरहेको छ । कम्तीमा ५० लाख नेपाली बाहिर पुगेका छन् । तिनबाट केही रेमिटेन्स आएको होला । कृषिलाई आधुनिकिकरण, सेवा क्षेत्रलाई आदर्शमा उभ्याउन नसक्दाका दुश्परिणाम हुन्, त्यसले सामाजिक निराशा, आक्रोश पैदा गरेको छ । हाम्रा प्राथमिकतामा भ्यू टावर र पशुपतिनाथमा सुनको गजुर परेको छ तर यी हाम्रा तत्कालीन आवश्यकता होइनन् र औकातभित्र छैनन् । पार्टी भनेको रोबोटअनुसार चल्ने झुण्ड होइन । सबैको सामुहिक संज्ञानलाई प्रशोधन गरी त्यसलाई कार्यान्वयन गर्न सामूहिक रुपमा लाग्ने संयन्त्र हो । नायकको सपनाभित्र रोबोटहरू दौडाउने नै होइन ।
० कम्युनिष्ट पार्टीमा सास भएका लासहरू किन थपिँदै गए ?
– आदर्श, गन्तव्य, घोषित रणनीतिक लक्ष्य, तत्कालीन अभिभारा र लक्ष्यबीच तादात्म्यता मिलेन । गन्तव्य गौण बन्यो । फाष्टफुड कल्चर हावी भयो । सुनको गजुर लगाउँदा होस् वा भ्यू टावर ठड्याउँदा ताली पिटियो । आत्मकेन्द्रित मध्यम वर्गीयको पार्टीजस्तो बन्यो । हाम्रा किचन क्याबिनेट र निर्णायक तहमा बसेका मानिसको पहुँच, उनीहरूले सुन्ने, बुझ्ने, निर्णयलाई प्रभावित गर्ने तत्व हावी भयो ।
० यी घटनाक्रमले कहाँ पुर्याउँछ त कम्युनिष्ट पार्टीलाई ?
– यो त सोझै नर्क जाने बाटो हो । यदि हामीले गन्तव्यलाई पुनर्विचार नगर्ने हो भने अधोगति अवश्य छ । धेरै पर जानुपरेन । कुनै समय सबैभन्दा ठूलो पार्टी थिएन, माओवादी ? त्यो चौथोमा झरेन ? आनीबानी, निष्ठा, तौरतरिका परिवर्तन नगर्ने हो भने पनि हुने त त्यही हो ।
० ओलीको विल्कप ओली नै हो त ?
– प्रतिष्पर्धाबाटै नेतृत्वको क्वालिटी चेञ्ज गर्नुपर्छ । चिनियाँले टु टर्म र ७० को लिमिटेसन ल्याएका थिए । पछि छोडे । मलाई लाग्दैन कि चाइनिजहरूले फेरि यसमा पुनर्विचार गर्दैनन् । हामीले अहिले स्वीकार्नुको अर्थ यो होइन कि पुनर्विचार गरेर उल्टाउँदैनौं । यो कालापत्थरमा लेखिएको अक्षरजस्तो हुन सक्दैन । पार्टीको विधान अधिवेशन र महाधिवेशनले यसलाई उल्टाइदिन सक्छ ।
० झापा आन्दोलनका सहयोद्धाहरू किनारा लाग्दै जाने, कुनै समय दुर्गा प्रसाई हुँदै अहिले कोमल ओली, अञ्जान शाक्यहरूको चकचकी चल्ने स्थिति किन आयो ?
– अपर क्लासबाट विष्णुबहादुर मानन्धर, मनमोहन अधिकारी, अम्विका साँवा, सोनाम साथी, भूपि शेचरनहरू कम्युनिष्ट आन्दोलनमा आएका हुन् । साँच्चै नै सुध्रिएर आउनेहरूलाई स्थान दिँदा अनुपयुक्त हुँदैन । चीनमा चु दले डकैतीको पृष्ठभूमिबाट आएर पनि रक्षामन्त्री र उपाध्यक्ष पाएका थिए । सम्राट पुयीलाई अपर हाउसको उपाध्यक्षसमेत बनाइएको छ तर अहिले हामीकहाँ त रुपान्तरण भएर हैन कि शेयर होल्डरका रुपमा आउन थाले । यस्तोचाहिँ नगरिदिए हुने !
० किनारामा पारिएका आरके मैनाली, नरेश खरेल, मोहनचन्द्र अधिकारी, घनेन्द्र बस्नेत, नारद वाग्लेहरूसँग कत्तिको सम्पर्क भेटघाट हुन्छ ?
– यी सबै साथी मेरो आदरणीय हुन् । उनीहरूको तुलनामा मेरो योगदान नगन्य छ । तिनले मूल्य प्रणालीको लक्ष्मण रेखा नाघेका छैनन् । केपी ओलीका पनि योगदान छन् । भिन्नतालाई प्राथमिकतामा राखेर दृष्टिकोण बनाउनुहुँदैन । वैचारिक कोणबाट पर रहेका मान्छेलाई गुण दोषको आधारमा हेर्नुपर्छ । मेरो को भतुवा भयो वा भएन, को अन्धभक्त छ÷छैन भन्ने कोणबाट हेरिनुहुन्न । फष्र्ट इन्टरनेशनलमा तीन थरी सँगै थिए । लेनिनको पार्टीमा मेन्सेविक र बोन्सेविकहरू सँगै रहे । अहिलेको जमानामा पनि अतिकेन्द्रित संरचना काम लाग्छ र ? विरोधी शून्य बनाउने भनेको पन्थ संरचनामा मात्र हुन्छ । एमालेभित्र विरोधी सकिए भनिएको होइन ? माधव, झलनाथ, वामदेव, भीम रावल गए तर भिन्नता फेरि रक्तविजजस्तो जागेर आए । भिन्नतालाई उत्पन्न गर्ने सामाजिक, भौतिक आधारहरू छन् । वैश्चिक राजनीतिको प्रभाव पनि कहीँ न कहीँ परेका होलान् । तिनले भिन्नता ल्याउँदैनन् र पार्टीभित्र ?
० यहाँको चार वर्षे राजदूत काललाई एमालेले कत्तिको सदुपयोग गरेको छ ?
– लाओसमा रेल जाने र नेपालमा रेल आउने कुरा एकै समयमा भएको हो । उसले लाभ लिइसक्यो । इरानबाट चीन जोड्ने राजमार्ग बनिसकेको छ । हामीकहाँ के समस्या छ ? तिम्रो घाउ कहाँ दुखेको छ आफैं निधो गरेर आऊ । दुखेको ठाउँमा मल्हम पट्टी लगाइदिन्छु भनेका न हुन् उनीहरूले । आफैंले तयार गरेका परियोजना कार्यान्वयन गर्नका निम्ति किन तिघ्रा कमाउने ? मेरो अनुभवको सदुपयोग र रेलको सपना उस्तै हो ।
० हिजो मदन भण्डारी फाउण्डेसनमार्फत विद्याहरुले केपी ओलीलाई यो ठाउँमा पु¥याउनुभएको हो । अब विद्याले उसैगरी गतिविधि अगाडि बढाउने स्थिति देख्नुहुन्छ ?
– त्यसले विद्याजीलाई सहयोगै गर्ला । त्यो प्लेटफर्मलाई उपयोगै गर्नुहोला । ओलीजीले हिजो उपयोग गर्नुभएकै हो । राजनीतिज्ञले आफ्ना हित, लक्ष्य पूरा गर्नका लागि सम्भव उपाय, ब्याकअप फोर्स सबै उपयोग गर्छन् । त्यसलाई अन्यथा ठान्दिन । हामीकहाँ आफू बुहारी हुञ्जेल सासूको विरोध गर्ने, आफू सासू भएपछि बुहारीलाई पेल्ने चलन छ ।
० सौराहा महाधिवेशनमा ओलीको लिष्टमा हुनुहुन्नथ्यो । तैपनि केन्द्रीय सदस्य जितेर आउनुभयो । पार्टीभित्र केही जिम्मेवारी पाउनुभएको छ ?
– नकारात्मक सूचीमा राखिएको मान्छे । शक्तिको त्यत्रो दवावका बाबजुद पनि आफ्नो विवेक नहराएको, मान्छेको गुण दोष मूल्यांकन गर्ने शक्ति एमालेमा हराएको रहेनछ । मलाई त्यही कारण यो पार्टीमा बसिरहनका लागि प्रेरणा मिलेको छ ।
टिप्पणीहरू