लाइसेन्स कार्यालय तहसनहस ! मन्त्रीलाई हाइसञ्चो !

लाइसेन्स कार्यालय तहसनहस ! मन्त्रीलाई हाइसञ्चो !

सवारी चालक अनुमतिपत्र कार्यालय कास्की घुस काण्डको अखाडा बनेको तथ्य बाहिरिएसँगै कार्यालयका कर्मचारी तितरवितर हुन थालेपछि नियमित सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पर्न थालेको छ ।

८ बजेबाटै खोल्ने कार्यालय १० बजे मात्र करबलले जस्तै गरी खुल्छ । नियमित भइरहने सेवा स्थगन गर्दै सूचना प्रकाशन हुने गरेको छ । रिट्रायल तालिका अनिश्चित समयका लागि स्थगन भएपछि निश्चित समय बिदा लिएका र वैदेशिक रोजगारबाट आएकाहरू प्रत्यक्ष मारमा परेका छन् तर नागरिकको समस्याप्रति प्रदेश सरकार मौन छ ।

कार्यालय प्रमुख मिलनबहादुर केसी एक महिनाअगाडि नै बिदा लिएर अवकाशको मिति कुर्दै साउन ११ गतेबाट घर बसेका छन् । दोस्रा हाकिम सूचना अधिकारी विष्णुबहादुर थापा लामो बिदा बसेका छन् । त्यसपछिका निमित्त नवीन क्षेत्रीको मोबाइल अफ छ । कम्प्युटर अधिकृत सचिन्द्र न्यौपानेलाई मन्त्रालय तानिएको छ, उनलाई किन तानियो कसैलाई जानकारी छैन तर लेखनाथमा लहडमा खोलिएको यातायात कार्यालयमा खटाउने तयारी भइरहँदा स्रोतले बताएको छ ।

कार्यरत दरबन्दीका अस्थायी ३ जना कर्मचारीलाई मन्त्रीको मौखिक आदेशमा बर्खास्त गरिएको छ, खल्तीको सूचीका मान्छे कहिले आउने हो थाहा–पत्तो छैन । करारमा कार्यरत ७ जना कर्मचारी गत वैशाख १७ गते नै बर्खास्त भएका छन् ।

यातायात कार्यालयलाई भ्रष्टहरूको अखडाका रूपमा सरकारले घोषणा गर्नु र कार्यालयमा गतिविधि त्यस्तै देखिनुले आरोप पुष्टि गरेको छ । कर्मचारी र बिचौलियाको घाँटी जोडिएर घुसकाण्डको श्रृंखला बढाएको छ । लाइसेन्स कार्यालयलाई कमाउ धन्दाको रूपमा व्यापक प्रयोग गरिनु र आवश्यक नै नभएको एकान्त ठाउँ लेखनाथमा अर्को यातायात कार्यालय खोलेर स्वार्थ समूहको इशारा मान्नुलाई संयोग मात्र मान्न नसकिने प्रशासनका जानकारहरूले बताएका छन् । प्रदेशमा सबैभन्दा बढी राजस्व उठ्ने  कार्यालय भएर पनि यातायात कार्यालयतिर सरकारको ध्यान नजानु, खर्च बढाउन र खेलोमेलो गर्न अर्को कार्यालय खोल्नुले आफैँमा विवादित र गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको सहजै बुझिएको छ ।

– यदुनाथ बञ्जारा

(जनआस्था साप्ताहिकको साउन १४ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू