भूमि आयोगमा १२ लाख बढी सुकुम्बासीको निवेदन
भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन परेको छ । १२ लाख १९ हजार ५०० भूमिहीन परिवारले जमिन प्राप्तिका लागि निवेदन हालेका हुन् ।
निवेदन दिनेमा ८९ हजार १४४ भूमिहीन दलित, १ लाख ६८ हजार ८८८ भूमिहीन सुकुम्बासी तथा ८ लाख ७५ हजार १६४ अव्यवस्थित बसोबासी परिवार रहेका छन् । आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट उक्त संख्यामा निवेदन प्रविष्ट भएको पुष्टि गरे ।
विभिन्न समयमा बनेका आयोगहरूका बाँकी ८६ हजार ४ सय परिवारको व्यवस्थापन गर्ने जिम्मेवारी पनि यही आयोगमा आएको उनले बताए । योसहित सबै भूमिहीनको समस्या समाधानका लागि आयोगले काम गरिरहेको रिजाल बताउँछन् ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा भूमिसम्बन्धी विधेयकमाथि छलफल भएको थियो । त्यसक्रममा उनले विधेयक पास भए पनि भूमिहीनलाई जग्गा उपलब्ध गराउन समस्या आउनसक्ने बताए ।
कुनै दल विशेषको आधारमा नभई सर्वसम्मत रूपमा पारित हुने गरी विधेयकलाई समृद्ध बनाउन रिजालले आग्रह गरेका छन् । भने, ‘अब यसका लागि वन ऐनमा पनि परिभाषा गर्नुपर्ने आवश्यकता देखियो । कागजमा वन भनिएको छ, तर लामो समयदेखि नागरिक त्यहाँ बस्नुभएको छ, जहाँ अहिले सहर भइसकेको छ ।’
टिप्पणीहरू