क्याबिनेटका दश निर्णयमा सात विदेश भ्रमण

क्याबिनेटका दश निर्णयमा सात विदेश भ्रमण

मन्त्रिपरिषद्को पछिल्लो बैठकमा पनि मन्त्री र सचिवहरुको विदेश भ्रमण स्वीकृतिले निरन्तरता पाएको छ । गत आइतबार बसेको बैठकले दश वटा निर्णय गरेकोमा सात वटा विदेश भ्रमण स्वीकृतसम्बन्धी छन् । 

साउन १३ गतेदेखि १५ गतेसम्म भुटानमा आयोजना हुन गइरहेको एक कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थी अनुमति दिइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माको चीन भ्रमण क्याविनेटले ओके गरेको छ  । 

कृषिमन्त्री रामनाथ अधिकारीको इथियोपिया भ्रमण र नयाँ दिल्लीमा नेपाल–भारत गृहसचिवस्तरीय बैठकमा सामेल हुन गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ ।

भारतीय सेनाको एक कार्यक्रममा सहभागी हुन उपरथी ध्रुवप्रकाश शाहलाई अनुमति प्रदान गरिएको छ भने वन तथा वातावरण राज्यमन्त्री रुपा विकको जिम्बावे भ्रमण पनि स्वीकृत भएको छ । 

नायब महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेले गत साउन २ गतेदेखि लागू हुनेगरी दिएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने क्याबिनेटको अर्को निर्णय छ । यस्तै, नेपाली सेनाका एक सहायक रथीलाई उपरथीमा बढुवा गरिएको छ । 

विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय पनि भएको छ । 

बैठकले चीन सरकारबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर अफ एक्सचेन्जमा हस्ताक्षरका निम्ति स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

टिप्पणीहरू