च्यासलमा ओलीको आरती उतार्ने काम भैरहेको छ : घनश्याम भुसाल
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीलाई नेतृत्वमा तेहेर्याउनेगरी नेकपा एमालेमा भैरहेको बहसप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा ‘स्कुल अफ माक्सिजम’ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले च्यासलमा जारी एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्स ओलीको भक्तिगान गाउन प्रर्तिस्पर्धा चलिरहेको बताए । कम्युनिष्ट पार्टीहरुमा नेतृत्व हस्तान्तरणको अभ्यासलाई सार्थक बनाउँदै लैजानुपर्नेमा त्यसो हुन नसकेको भुसालको विश्लेषण छ ।
‘हाम्रो आन्दोलनको नेतृत्वले अझै के भन्छ भने, अब २० वर्ष कसैले मेरो कुर्सी नहेर्नू, अर्को नेतृत्वले लजाएर २० वर्ष त होइन, १०–१५ वर्षमा चाहिँ मैले अरुलाई तयार गर्छु तर छोड्दिन्छु भन्छ’, उनले भने, ‘फेरि अर्को जमात पनि छ, जसले आज च्यासलतिर १०/२० वर्ष होइन, तिमी आजीवन मरणोपरान्त नेतृत्वमा भइराख्नुपर्छ भनेर आरती उतार्ने काम गरिरहेको छ, हाम्रो आन्दोलनको यो कस्तो विरोधाभास हो ?’
कम्युनिष्ट भनिएका पार्टीहरुलाई सत्ता किन यति प्यारो भएको होला ? भुसालको जिज्ञासा छ । ‘कम्युनिष्ट पार्टीहरुको ध्यान अहिले सत्ताभन्दा बाहिर जानै छोड्यो, किन होला ? यो गम्भीर प्रश्न हो । प्रश्न गरेपछि, बोलेपछि फेरि अनेक तर्क आउलान्, तर जस्तो पनि गठबन्धन बनाउने, राज्य दोहन गर्ने प्रवृतिले जनतामा चरम असन्तुष्टी पैदा गरेको छ, समाज झन् उग्र बन्दैछ’, उनले थपे ।
टिप्पणीहरू