मालपोतका हाकिम पहिल्यैदेखि ‘खप्पिस’

मालपोतका हाकिम पहिल्यैदेखि ‘खप्पिस’

भक्तपुरको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख कुमार आचार्य अस्ति (मंगलबार) २४ लाख ५० हजार घुससहित पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो । 

मालपाेत अधिकृत आचार्य आखिर कसरी अख्तियारको फन्दामा परे त ? पृष्ठभूमि केही रोचक छ । 

अधिकृत आचार्य भक्तपुरको मालपोत कार्यालयमा आउनुअघि रुपन्देहीको मालपोत कार्यालयमा थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बललाम अधिकारीको चाहनामा उनलाई सरुवा गरेर भक्तपुर ल्याइएको हो । 

रुपन्देहीमा हुँदा उनै अधिकृत आचार्यले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको करिब ६ विघा जग्गा व्यक्तिको नाममा दर्ता गराइदिएका थिए । त्यो थाहा पाएपछि रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (हाल पर्सा) गणेश अर्यालले १० बुँदे स्पष्टीकरण सोधे । तर आचार्यले चित्तबुझ्दो जवाफ दिएनन् । त्यसपछि प्रजिअ अर्यालले अधिकृत आचार्यमाथि कारवाही अघि बढाउन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयलाई पत्राचार गरेका थिए । 

‘त्यतिबेला उहाँले गलत नियतले नै ६ विघा जग्गा व्यक्तिको नाममा दर्ता गराइदिनुभएको थियो, मैले स्पष्टकीकरण पनि सोधेको हुँ, उहाँले चित्तबुझ्दो जवाफ दिनुभएन’, अर्यालले जनआस्थासँग भने, ‘मलाई त्यो घटनामा ठूलो आर्थिक लेनदेनको शंका लागेपछि अख्तियारलाई पत्र पठाएको थिएँ, अख्तियारले तत्काल एक्सन लिएन, अहिले लियाे।’ 

त्यो बाहेक पनि अधिकृत अचार्यले पदीय हैसियत दुरूपयाेग गरेर विचाैलियासँगकाे मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाम दर्ता गराइदिएको अर्यालको आशंका छ । उनी थप्छन्, ‘उहाँ (आचार्य) अहिले बल्ल पक्राउ पर्नुभयो, तर खासमा उहाँ पक्राउ पर्नुपर्ने रुपन्देहीबाटै हो, ढिलै भए पनि अख्तियारले एक्शन लियो ।’

उता, अख्तियार स्रोतले रुपन्देहीको घटनापछि नै अधिकृत आचार्य ‘नोटिस’मा परेको बताएको छ । स्रोत भन्छ, ‘उहाँ रुपन्देही हुँदा नै दुइ वटा उजुरी आइसकेको थियो, पछि भक्तपुर सरुवा भएपछि केही समय होल्ड गर्यौ, त्यसपछि स्टिङ्ग अपरेशन चलाएर नियन्त्रणमा लिएका हौँ।’ 

स्मरणीय छ, अधिकृत आचार्य साढे २४ लाख घुससहित पक्राउ परिरहँदा मन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ । ‘घुस काण्ड’ले यतिबेला मन्त्री अधिकारीको पद नै धरापमा छ भने, उनको रोजाइँका अधिकृत आचार्यको करिअर पनि जोखिममा देखिन्छ ।

 

टिप्पणीहरू