कांग्रेस कार्यकर्ताद्वारा स्थानीय कुटिए, कारबाही गर्न आलटाल
नेपाली काँग्रेस गोरखाका एक कार्यकर्तामाथि स्थानीयलाई कुटपिट गरेको आरोप लागेको छ । गोरखा नगरपालिका–६ का कांग्रेस कार्यकर्ता सुरेन्द्र कुँवरको समूहले ९ नम्बर वडाका शंकरबाबु श्रेष्ठलाई निर्घात कुटेको बताइएको छ ।
यो घटना अस्तिको हो । शुक्रबार दिउँसो गोरखा बजारस्थित आफ्नो पसलअगाडि कुँवरका सहयोगी छोटुले गाडी रोक्दा ट्राफिक जाम भएपछि श्रेष्ठले हटाउन आग्रह गरेका थिए । तर, गाडी हटाउनुको साटो छोटु उनैमाथि जाइलागे ।
स्थानीयका अनुसार त्यसक्रममा छोटुसहितको समूहले श्रेष्ठमाथि हातपात गरेका थिए । कुटपिटबाट घाइते भएका उनी हिजो उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भएका छन् ।
छोटुलाई कारबाही गर्न माग गर्दै श्रेष्ठले शुक्रबार राति नै प्रहरीमा निवेदन दिएका थिए । तर, प्रहरीले निवेदन दर्ता नगरेको आरोप छ । कांग्रेस कार्यकर्ता भएकै कारण प्रहरीले छोटुलाई जोगाएको स्थानीयको गुनासो छ ।
यस सम्बन्धमा गोरखा प्रहरीका प्रवक्ता सरोज कार्कीसँग बुझ्दा उनले छोटुको खोजी भइरहेको बताए । निवेदन दर्ता नगरेको आरोप झुठो भएको उनको दाबी छ ।
प्रवक्ता कार्कीले भने, ‘उहाँले शुक्रबार राति ठाडो निवेदन दिनुभएको हो । हामीले निवेदन दर्ता गरेर हिजो दुवै पक्षलाई बोलाएका थियौं । तर, छोटुजी आउनुभएन । अहिले उहाँको खोजी भइरहेको छ ।’
ठाडो निवेदन परेकाले अदालतमा मुद्दा लैजान नमिल्ने हुँदा जाहेरी दरखास्त लिएर आउन सुझाएको पनि उनले बताए ।
‘जाहेरी दरखास्त दिएपछि सिधैं अदालतमा मुद्दा लैजान मिल्छ । तर, ठाडो निवेदनको हकमा हामीले शुरुमा दुवै पक्षलाई बोलाउँछौं, वार्ता गराउँछौं अनि नमिलेपछि पीडितको मागबमोजिम अदालतमा मुद्दा लग्छौं । त्यसैले, हामीले मुद्दा लैजान पीडित श्रेष्ठलाई जाहेरी दरखास्त लिएर आउन आग्रह पनि गरेका छौं,’ प्रहरी प्रवक्ता कार्कीले भने ।
तर, स्थानीयले भने राजनीतिक पहुँचकै आधारमा आरोपितलाई उम्क्याउन खोजेको आशंका गरेका छन् । सुरेन्द्रको समूहले विगतमा पनि राजनीतिक प्रभाव देखाएर अनेक उपद्रव गर्दा प्रहरीले अनदेखा गरेको गोरखा बजारका एक स्थानीयले जनआस्थालाई बताए ।
'छोटु भन्ने मान्छे सुरेन्द्र कुँवरको कम्पनीमा काम गर्ने मान्छे हो । ऊ अहिले बजारतिरै छ तर, प्रहरीले समातेको छैन', उनले भने, 'पहिला पनि प्रशासनको संरक्षणमा उनीहरूलाई अपराधबाट जोगाउने गरिएको थियो ।'
टिप्पणीहरू